Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

जनता माविको एकाएक परिवर्तन, शैक्षिक गुणस्तरमा ध्यान

उद्घोष सम्वाददाता
१२ वैशाख २०८१, बुधवार

विराटनगर । कुनै पनि संस्थाको भविष्य त्यसको नेतृत्व र त्यहाँ काम गर्ने व्यक्तिको दक्षताले निर्धारण गर्छ । यसको ज्वलन्त उदाहरण बनेको छ, विराटनगर–२ शंकरपुरमा रहेको ऐतिहासिक जनता नमुना माध्यमिक विद्यालय । विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगिसकेको यो विद्यालय अहिले अभिभावकका लागि आकर्षकको केन्द्र बन्दै गएको देख्न सकिन्छ ।

विगतमा पूर्वाञ्चल क्षेत्रकै उत्कृष्ट विद्यालयको ख्याति कमाएको ऐतिहासिक यो विद्यालय गत शैक्षिक सत्रसम्म आइपुग्दा विद्यार्थी अभावको समस्या झेलिरहेको थियो । देशलाई आवश्यक पर्ने विभिन्न दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको यस विद्यालयमा दुई दशक अघिसम्म जो कसैले सजिलैसँग भर्ना पाउन सम्भव थिएन । तर, पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घटेर जम्मा १२५ मा सीमित हुन पुग्यो । 

पूर्वमन्त्रीहरू अशोककुमार राई, डा मिनेन्द्र रिजाल, पूर्वमुख्यसचिव डा. विमल कोइराला, तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव नारायण कोइरालालगायत अन्य उच्च ओहोदामा रहेका विभिन्न व्यक्तित्वहरूले अध्ययन गरेको यो विद्यालयमा विद्यार्थीको संख्या दयालाग्दो अवस्थामा पुग्नु  दुःखदायी थियो ।

यसैबीच, विद्यालय नेतृत्वको परिवर्तन भएपछि विद्यालयले विस्तारै काँचुली फेरेको विद्यालयका पूर्वविद्यार्थी तथा व्यवस्थापन समितिका अध्यक्ष मनोजविक्रम शाह दावी गर्छन् । 

विद्यालयको गुमेको प्रतिष्ठालाई पुनःस्थापना गर्ने संकल्पका साथ गत वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएर विद्यालय प्रवेश गरेका शाहको प्रयासमा विद्यालयमा उल्लेखनीय सुधार भएको देखिन्छ । 

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएपछि उनले विद्यालयको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्दै सबै शिक्षकलाई एकताबद्ध गर्दै एकै ठाउँमा उभिने वातावरणको निर्माण गरे ।

उनले विद्यालयभित्र रहेका विकृति र विसंगतिलाई तोड्न उनले विशेष भूमिका खेले । शिक्षकको योग्यता र क्षमताका आधारमा जिम्मेवारी बााडफाँड गरे ।

दोस्रो चरणमा अभिभावकसँग भेटघाट र अन्तरक्रिया बढाएर अभिभावकको सहभागितामा विद्यालय क्यालेन्डर निर्माण गर्ने कार्य गरे । 

तेस्रो चरणमा विद्यार्थी संख्या बढाउन शिक्षक कर्मचारीको समूह निर्माण गरी अभिभावकको घरदैलोमा गएर बालबालिका भर्नाका लागि अनुरोध गर्ने काम गरे । यसका लागि शिक्षकहरूले दिनरात नभनी निरन्तर सक्रिय भूमिका निर्वाह गरेको शाह बताउँछन् । 

‘विद्यालयप्रति अभिभावकमा विश्वास जगाउने काम गरियो । विद्यालयको व्यवस्थापनमा व्यापक सुधार गरियो । फलस्वरूप, एक वर्षमा १२५ जना विद्यार्थीबाट नयाँ विद्यार्थी भर्ना गरी ५०० विद्यार्थी बनाउन विद्यालय सफल भयो’ शाह भन्छन् ।  

अभिभावकको मागअनुसार अभिभावककै विशेष सहयोगमा थप चार जना शिक्षक नियुक्ति गरी कक्षा ६ देखि ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठनको पनि सुरुवात गरेको, र अहिले विद्यालयमा नर्सरीदेखि ११ कक्षासम्म ५ सय ४६ विद्यार्थी अध्ययनरत रहेको व्यवस्थापन समितिका अध्यक्ष शाह उल्लेख गर्छन् । 

बालबालिकालाई सिर्जनशील बनाउन विषयगत अध्ययन, अध्यापनका अतिरिक्त खेलकुद, हाजिरीजवाफ, वक्तृत्वकला, नृत्यलगायत अन्य विविध प्रकारका क्रियाकलापहरू अहिले नियमित रूपमा विद्यालयमा सञ्चालन हुन थालेको छ । बालबालिकामा देखिने विषयगत कमजोरीलाई हटाएर शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक रणनीति तयार गर्न अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिबीच निरन्तर अन्तरक्रिया र छलफल गर्ने गरेको शाह बताउँछन् । 

आर्थिक अभावको बाबजुद पनि शैक्षिक सुधारका साथै प्रयाप्त मात्रमा भौतिक पूर्वाधार विकासका कामहरू गरिएको उनी उल्लेख गर्छन् । जसअन्तर्गत कार्यालय कक्षको निर्माण, विद्यालय परिसरको केही भागमा ब्लग बिछ्याउने कार्य सम्पन्न भइसकेको छ । 

विद्यालयको कमजोर आर्थिक अवस्था सुधार गर्न खर्चमा मितव्ययिता अपनाउने र आर्थिक चुहावट रोक्ने कार्यमा विशेष सतर्कता अपानाइएको शाहले बताए ।

आधारभूत तहलाई विद्यालय शिक्षा सुधारको प्रस्थान बिन्दु बनाएर बालकक्षालाई आधुनिकीकरण गर्ने विशेष योजना पनि बनिसकेको उनी बताउँछन् । जसका लागि रोटरी क्लब अफ विराटनगरले काम गर्नेगरी आवश्यक रकमसमेत विनियोजन तथा स्वीकृत भइसकेको छ । 

विशेषगरी यो रकम बालकक्षाको सुधार, कक्षाकोठा मर्मत, शौचालय, फर्निचर, क्यान्टिन निर्माण र शुद्ध खानेपानीको क्षेक्रमा खर्च गरिने बताइएको छ । 

रोटरी क्लबको अतिरित्त पूर्वविद्यार्थी मञ्चलगायत विभिन्न संघसंस्थाले विद्यालयको स्तरोन्नतिका लागि निरन्तर सहयोग प्रदान गर्दै आइरहेका छन् । 

अंग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा सञ्चालन हुँदै आइरहेको यस विद्यालयमा आगामी शैक्षिक सत्र २०८१ मा थप २५० विद्यार्थी भर्ना गरी कुल ८०० विद्यार्थी पुर्याउने लक्ष्यका साथ योजनाबद्ध ढंगले काम अघि बढिरहेको व्यवस्थापन समितिका अध्यक्ष शाह बताउँछन् ।

View : 315

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved