Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

उपनिर्वाचन २०८१ : आज मनोनयन दर्ता हुँदै

गाउँपालिकाको केन्द्र तेतरियामा नेकपा एमालेले अपरान्ह १ बजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यसपछि २ बजे नेपाली कांग्रेस र ३ बजे माओवादी केन्द्रको तर्फबाट मनोनयन दर्ता गर्ने गरी समय मिलाइएको जनाइएको छ ।
उद्‌घोष सम्वाददाता
२ मंसिर २०८१, आइतवार

मोरङको ग्रामथान गाउँपालिकामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि निर्वाचन कार्यक्रमको कार्यतालिकाबारे जानकारी दिंदै मुख्य निर्वाचन अधिकृत मोरङ जिल्ला अदालतका जिल्ला न्यायाधीश उद्ववप्रसाद भट्टराई । तस्वीर : बाबुराम भण्डारी/उद्घोष

विराटनगर । निर्वाचन आयोगले मंसिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज (आइतबार) मनोनयन दर्ता हुँदैछ । 

निर्वाचन हुन लागेको पदका लागि सम्बन्धित व्यक्तिले आइतबार १० बजदेखि अपरान्ह ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोयन दर्ता गर्नुपर्नेछ ।

कोशी प्रदेशका एक पालिकाको प्रमुख र सातवटा वडामा उपनिर्वाचन हुन लागेको हो । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि अधिकांश दलहरूले उम्मेदवार टुंगो लगाइसकेका छन् । 

यसैबीच, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि पनि दलहरूले टिकट दिएका व्यक्तिहरूले आज मनोनयन दर्ता गर्दैछन् ।

गाउँपालिकाको केन्द्र तेतरियामा नेकपा एमालेले अपरान्ह १ बजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यसपछि २ बजे नेपाली कांग्रेस र ३ बजे माओवादी केन्द्रको तर्फबाट मनोनयन दर्ता गर्ने गरी समय मिलाइएको जनाइएको छ ।

त्यसैगरी झापाको कन्काई नगरपालिका वडा नम्बर ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नम्बर ८, सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६, ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५, उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १२, उदयपुरकै बेलका नगरपालिका वडा नम्बर ९ र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ मा उपनिर्वाचन हुन लागेको हो । यी पालिका र वडामा आकांक्षीहरूले आइतबार मनोनयन दर्ता गर्दैछन् ।

मनोनयन दर्ताको प्रक्रियासँगै आयोगले आइतबारदेखि नै निर्वाचन आचारसंहिता लागू गरेको छ । शनिबार बसेको आयोगको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । 

आयोगका अनुसार यसपटक देशभर विभिन्न कारणले रिक्त रहेका जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।

View : 196

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved