Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विपक्षीको धर्म एक्लै निर्वाह गर्दै हर्क साम्पाङ

सुकुम्बासी प्रकरणमा मात्रै होइन, संसदको सर्वोच्चता कायम गर्ने कुरामा पनि हर्कले अग्रसरता लिएका थिए । निर्वाचनपछि चैत १३ मा प्रधानमन्त्री बालेन शाहले शपथ लिएका थिए ।
उद्‌घोष संवाददाता
१५ वैशाख २०८३, मङ्गलवार

विराटनगर । हर्क साम्पाङले नेतृत्वको श्रम संस्कृति पार्टी प्रतिनिधिसभामा अहिले पाँचौं ठूलो दल मात्रै हो । यद्यपि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका मनलाग्दी निर्णयको विरोधमा हर्क र उनको दल मात्रै एक्लो विपक्षी बनेर लगातार सक्रिय बनिरहेको छ ।

धरानको मेयर हुँदाहुँदै त्यहींबाट पार्टी गठन गरेर फागुन २१ को चुनावमा होमिएका साम्पाङ आफैले सुनसरी १ बाट चुनाव जितेका थिए ।

लगत्तै उनले आफ्नो दल सबैभन्दा सशक्त विपक्षी बन्ने अभिव्यक्ति दिएका थिए ।

आफूलाई वचनको पक्का बताउने हर्कले सोही अनुसार सुकुम्बासी बस्तीमा डोजर लगाउने प्रधानमन्त्रीको एकल निर्णयविरुद्ध आफूलाई दृढतापूर्वक उभ्याइरहेका छन् ।

केही दिनयता सुकुम्बासी बस्तीहरूमा डोजर अभियान सुरु भएपछि उनी निरन्तर सरकारको आलोचना गर्दै खबरदारी गरिरहेका छन् । 

सोमबार र आइतबारका सामाजिक सञ्जाल पोस्टहरूमा साम्पाङले सुकुम्बासीहरूको अधिकार र उनीहरूको बसोबासबारे गम्भीर प्रश्न उठाएका छन् । 

ललितपुरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले भनेका थिए, ‘सरकारी जग्गा भनिन्छ, जग्गा सरकारी हो भने जनता चाहि कसका हुन् त ?’ प्रधानमन्त्री बालेन शाहले सुकुम्बासी समस्या समाधानका लागि पहिले नै तोकिएका कानुनी तथा नीतिगत प्रक्रियाहरू बेवास्ता गर्दै डोजर पठाएको भन्दै हर्क साम्पाङ सबैभन्दा तीखो स्वरमा विरोधमा उत्रिएका छन् । 

संसद अधिवेशन आह्वान भएर फेरि स्थगित भएको अवस्थामा पनि उनी सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट विपक्षी आवाज उठाइरहेका छन् ।

हर्कले सामाजिक सञ्जालमा निरन्तर रुपमा सुकुम्बासीलाई क्षतिपूर्ति र वैकल्पिक बसोबासको व्यवस्था नगरी डोजर चलाउन पाइदैन भन्दै आएका छन् । 

उनीहरूलाई बेघर बनाउन नहुने उनको मत छ । विकासको नाममा मात्र विस्थापन गर्ने नीतिप्रति उनले बारम्बार प्रश्न उठाएका छन् । 

राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईंले सुकुम्बासी बस्तीमा डोजर चलाएको घटनामा हर्क साम्पाङलाई मुलुककै मुख्य विपक्षी जस्तो देखिएको टिप्पणी गरेका छन् । 

मुख्य विपक्षी नेपाली कांग्रेसको मौनताले आश्चर्यचकित बनाएको प्रसाईंको भनाइ छ । 

प्रसाईं भन्छन्, ‘विधि र पद्धतिको कुरा सबैभन्दा बढी गर्ने गगन थापा नेतृत्वको कांग्रेसले संवैधानिक व्यवस्था, सर्वोच्च अदालतको आदेश र स्थानीय सरकारको अधिकार मिचिदा पनि मौन बस्नुले आफ्नो भूमिका निर्वाह गर्न सकेन ।’

उनले कांग्रेसको मौनतालाई ‘निरीह रमिते’ को संज्ञा दिएका छन् । कांग्रेसले संसदीय दल नेता चयनमा नै लामो समय खर्च गरेको र अहिले यो मुद्दामा चुप लागेको देख्दा केही आशंका पनि उब्जिएको प्रसाईंले बताए ।

‘आफैं गर्न नसकेको काम बालेन सरकारले गरेकोमा कांग्रेस खुसी र असजिलो दुवै अवस्थामा छ ?’ उनले सोधेका छन् । कांग्रेसको मौनताका बेला हर्क साम्पाङले प्रतिपक्षको खाँचो पूरा गरेको प्रसाईंको टिप्पणी छ । 

त्यसो त कांग्रेसभित्रै पनि दलको मौनताप्रति असन्तुष्टि बढेको छ । विशेष महाधिवेशनमा सहभागी कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की लगायतका नेताहरूले सार्वजनिक रूपमा पार्टीको विपक्षी भूमिका निर्वाह गर्न नसकेको गुनासो गरेका छन् ।  

सामाजिक सञ्जालमा यस्ता असन्तुष्टि पोख्ने कांग्रेस कार्यकर्ताहरू पनि धेरै छन् । 

एमालेले यो मामिलामा एउटा औपचारिक विज्ञप्तिमात्र जारी गरेर मौन बसेको छ भने चौथो ठूलो दल नेकपा पनि यो मुद्दामा खासै सक्रिय देखिएको छैन । यस्तो अवस्थामा श्रम संस्कृति पार्टीको सक्रियताले विपक्षी आवाजको नेतृत्व गरिरहेको धेरैको बुझाइ छ । 

शनिबार बिहान थापाथलीबाट सुरु भएको डोजर अभियानले हजारौं सर्वसाधारणको थातबास तत्काल प्रभावित बनाएको छ । 

पूर्व निर्धारित लगत संकलन, क्षतिपूर्ति र बसोबास व्यवस्थापन जस्ता प्रक्रिया मिचेर बस्ती हटाइदा सरकार समर्थकहरूले सामाजिक सञ्जालमा समर्थन जनाइरहेका छन् । 

विरोध गर्नेहरूमाथि भने ‘साइबर आक्रमण’ बढेको छ । यस्तो त्रासका बाबजुद हर्क साम्पाङ र उनको दलका सांसदहरूले निरन्तर आवाज उठाइरहेका छन् । 

खोटाङका  सांसद आरेन राई शुक्रबारदेखि नै सुकुम्बासी बस्तीहरूमा पुगेर पीडितहरूसँग संवाद गरिरहेका छन् । सोमबार पनि मनोहरा क्षेत्रमा उनी स्थानीयसँग छलफलमा थिए । 

‘हामी सबै नेपालीको पक्षमा बोल्छौं, तर सबैभन्दा बढी गरिब, निमुखा र राज्यबाट पछाडि पारिएकाको आवाज उठाउँछौं’ राईले भने । 

सरकारको मुख्य दायित्व जमिन जोगाउने मात्र होइन, आफ्ना नागरिकलाई पनि जोगाउने हो भन्दै उनले जनताको सेवक सरकारले मालिक जस्तो व्यवहार गरेको उल्लेख गरे । 

फागुन २१ को निर्वाचनमा रास्वपाले ठूलो सफलता हासिल गर्दा कांग्रेस, एमाले, नेकपा जस्ता दलहरू थोरै सिटमा खुम्चिएका थिए । 

त्यही बेला धरानबाट उदाएको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ चार सिट जितेको थियो । 

धेरैले सदनमा विपक्षी आवाजको मुख्य नेतृत्व हर्क साम्पाङले गर्ने अनुमान गरेका थिए ।

रास्वपाको समर्थनमा उपसभामुख पद पाएपछि पार्टीको विपक्षी भूमिका कमजोर हुने आशंका थियो । तर, त्यो आशंकालाई अहिलेसम्म हर्कले वास्तविकतामा परिणत हुन दिएका छैनन् । 

‘हामी कुनै पदका लागि होइन, जनताको पीडा र उनीहरूको आवाज बोक्न आएका हौं’, पार्टीका महासचिवसमेत रहेका आरेन राईले भने ‘कुनै सर्तमा पनि हाम्रो दायित्वबाट विचलित हुने छैनौं ।’

सुकुम्बासी प्रकरणमा मात्रै होइन, संसदको सर्वोच्चता कायम गर्ने कुरामा पनि हर्कले अग्रसरता लिएका थिए । निर्वाचनपछि चैत १३ मा प्रधानमन्त्री बालेन शाहले शपथ लिएका थिए । 

त्यसपछि नै हर्क साम्पाङले संसद बैठक बोलाउन माग गरेका थिए । प्रधानमन्त्रीले कोठे बैठकमा छलफल गर्न बोलाउदा उनले ‘संसदमै भेटौंला’ भन्दै अस्वीकार गरेका थिए ।

श्रम संस्कृति पार्टीले सरकारलाई २७ बुँदे मागपत्र बुझाएको थियो र अहिले पनि संसद अधिवेशन तत्काल बोलाउन निरन्तर दबाब दिइरहेको छ । 

‘हर्कले साच्चैको विपक्षी चरित्र निर्वाह गरिरहेका छन्,’ विश्लेषक प्रसाईंले भने ‘अन्य ठूला दलहरु सामाजिक सञ्जालमा गाली खाइने डरले त्रस्त भएका बेला उनले गरिरहेको हिम्मत हाम्रो लोकतन्त्रका लागि राम्रो संकेत हो ।’

View : 222

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved