Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
खेलकुद

राष्ट्रिय महिला लिग छनोटमा कोशी प्रदेशको लगातार दोस्रो जित

उद्घोष सम्वाददाता
११ वैशाख २०८१, मङ्गलवार

सुनसरी । राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सोमबार बिहान भएको पहिलो खेलमा कोशीले सुदूरपश्चिम प्रदेश विरुद्ध २–१ को जित निकालेको हो । कोशीलाई जित दिलाउन दुबै गोल समीक्षा मगरले गरिन् । सुदूरपश्चिमका लागि यशोदा चिरालले एक गोल फर्काइन् ।

खेलको नवौं मिनेटमा उदयपुर मैनामैनीकी समीक्षाको गोल मार्फत कोशीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा समीक्षाले नै टोलीको अग्रता दोब्बर बनाएर जित निश्चित गरिन् ।

यशोदाले ४९ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । दुई साताअघि पनि चितवनको भरतपुरमा सुदुरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै कोशीले स्वर्ण पदक जितेको  थियो ।

उक्त टिममा तीन खेलाडी परिवर्तन गर्दै कोशी टिम सुर्खेत पुगेको हो । लगातार दोस्रो जित निकालेको कोशीले दुई खेलमा ६ अंक जोडेको छ ।

पराजित सुदूरपश्चिमको दुई खेलबाट तीन अंक छ । पहिलो खेलमा कोशीले कर्णालीलाई ३–० तथा सुदूरपश्चिमले गण्डकीलाई ५–१ ले पराजित गरेका थिए ।

विभागीय टिम बाहेक ७ प्रदेश टिमले सहभागिता जनाएको राष्ट्रिय लिग छनोटमा कोशी प्रदेशले अब बैशाख १४ मा लुम्बिनी, बैशाख १६ गते मधेश र १९ गते बागमती प्रदेशसँग प्रतिष्पर्धा गर्नेछ । सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा कूल २१ खेल हुने छन् ।

बैशाख २० गतेसम्म चल्ने छनोट खेलबाट शीर्ष तीन स्थानमा रहने टोली राष्ट्रिय महिला लिगमा छनोट हुने छन् । यसरी छनोटबाट आएका शीर्ष ३ प्रदेश र ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी ६ टोलीले राष्टिय लिगमा प्रतिस्पर्धा गर्ने छन् ।

View : 59

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved