Biratnagar, Morang, Nepal
७ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

सुशासनको एजेन्डामा रास्वपासँग सधैं सहकार्य रहन्छ : वर्षमान पुन

उद्‌घोष संवाददाता
७ असार २०८३, आइतवार

Advertisement

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग विगतदेखि नै सहकार्य रहेको र आगामी दिनमा पनि रहने बताएका छन्।

आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार र बेथिति अन्त्य तथा सुशासनको एजेन्डामा सँगै रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गरे । 

उनले रास्वपाको महाधिवेशनलाई देशले चासोका साथ हेरिरहेको उल्लेख गर्दै महाधिवेशनबाट चयन हुने नेतृत्व, विचार, रणनीति र कार्यदिशाले राष्ट्रिय राजनीतिलाई समेत प्रभाव पार्ने बताए ।

रास्वपा पहिलोपटक देशव्यापी संगठनात्मक संरचनासहित अघि बढ्न लागेको उल्लेख गर्दै यो महाधिवेशन पार्टीका लागि ऐतिहासिक र निर्णायक रहेको उनको भनाइ थियो । 

पुनले माओवादी केन्द्र र रास्वपाबीच धेरै विषयमा समानता रहेको दाबी गरे। पृष्ठभूमि र संघर्षका शैली फरक भए पनि परिवर्तन, समाज रूपान्तरण र सुशासनका मुद्दामा दुई दलबीच निकटता रहेको उनको भनाइ थियो। 

कठिन परिस्थितिमा लोकतान्त्रिक मूल्य, न्याय र सुशासनको पक्षमा दुवै दलले सहकार्य गरेको स्मरण गर्दै उनले थिति बसाउने प्रयासहरू संविधान र कानुनको दायराभित्र हुनुपर्ने सुझाव पनि दिए ।

यद्यपि, केही नीतिगत, व्यवहारगत र शैलीगत भिन्नता रहेको स्वीकार गर्दै पुनले सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रति रास्वपाबाट अझ स्पष्ट प्रतिबद्धता आउनुपर्ने अपेक्षा व्यक्त गरे ।

उनले प्रथम महाधिवेशनले रास्वपामाथि उठाइएका संविधान, लोकतन्त्र र स्थापित प्रणालीसम्बन्धी प्रश्न तथा आशंकाहरूलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

रास्वपाले छोटो समयमा उल्लेखनीय जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै उनले नयाँ पुस्ताको सहभागिता र नयाँ राजनीतिक शक्तिको उदयले नेपाली जनतामा आशा जगाएको बताए ।

लोकतन्त्रमा शक्ति जनताले दिने र आवश्यक परे फिर्ता पनि लिन सक्ने भन्दै उनले बहुमतले विनम्रता र अल्पमतले धैर्यता सिक्नुपर्ने धारणा राखे ।

‘हिजो संख्या हामीसँग थियो, बीचमा अरूसँग भयो, आज यहाँहरूसँग छ,’ उनले भने, ‘लोकतन्त्रमा सरकार र संख्या अस्थायी हुन्छन्, तर विधि, प्रक्रिया र संस्था स्थायी हुनुपर्छ ।’

महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै पुनले सक्षम नेतृत्व चयन गरी रास्वपा अझ संगठित र स्पष्ट राजनीतिक दिशासहित अघि बढ्ने विश्वास व्यक्त गरे । नेपाल न्यूज बैंक

View : 45

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved