Biratnagar, Morang, Nepal
६ जेठ २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

मुख्यमन्त्री कार्कीले लिएनन् विश्वासको मत, दिएनन् राजिनामा

सरकारको बैद्यता सकिएको एमाले–माओवादीको दाबी

उद्घोष सम्वाददाता
२६ वैशाख २०८१, बुधवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट न त विश्वासको मत लिए, न त राजिनामा नै दिए । 

उनले संवैधानिक व्यवस्था अनुसार सरकारको सहयात्री दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिने समय गुजारेका छन् ।

राजिनामा पनि नदिएपछि आजदेखि सरकारको कानुनी बैद्यता समाप्त भई कामचलाउ हैसियतमा पुगेको एमाले–माओवादी गठबन्धनका नेताहरुले बताएका छन् ।

२०८० चैत २६ मा माओवादीले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा र प्रदेश प्रमुखलाई समेत गराएको थियो । 

उक्त मितिले मंगलबार नै ३० दिन पुगेको छ । विश्वासको मत लिइ सक्नुपर्ने भएपनि मुख्यमन्त्री कार्कीले समय गुजारेका हुन् ।

संविधानको व्यवस्था अनुसार विश्वासको मत लिने समय गुजारेका कारण वर्तमान सरकार आजदेखि कामचलाउ हैसियतमा पुगेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए । उनले मुख्यमन्त्री कार्कीले  विश्वासको मत नलिएका कारण प्रदेश प्रमुखले बुधबार नै नयाँ सरकार गठनका लागि आह्वान  गर्नुको कुनैपनि विकल्प नरहेको बताए ।

मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको सरकारले एक पटक विश्वासको मत पाइसकेकोले फेरि पनि विश्वासको मत लिनु नपर्ने जिकिर गर्दै विश्वासको मत पनि लिएनन् भने राजिनामा समेत दिएनन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने सरकारलाई प्रदेशसभाका बहुमत सदस्यहरुले दिएको समर्थन, विश्वासको मत फिर्ता भएको मंगलबार राति  १२ बजे ३० दिन पूरा भएको बताए ।

उनले संबैधानिक व्यवस्था, लोकतान्त्रिक मान्यता र संसदीय प्रावधानले अल्पमतको सरकारको निरन्तरताको परिकल्पना गर्नै नसकिने भन्दै निर्धारित ३० दिनको समयमा विश्वासको मत नलिएपछि आज राति १२ बजेबाट मुख्यमन्त्री र सरकारको बैधता स्वतः समाप्त भएको आङ्बोले दाबी गरे ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने अवस्थामा उनी स्पष्ट रुपमा अल्पमतमा परेका छन् । बैशाख ६ गते आह्वान भएको प्रदेश सभाको विशेष अधिवेशनबाटै उनी अल्पमतमा परेको कुरा सभामुख अम्बरबहादुर बिष्टले दर्ज गरिसकेका छन् । प्रदेश सभाका बहुमत सदस्यले उनलाई विश्वासको मत लिन वा मार्ग प्रसस्त गर्न मार्गनिर्देशनसहितको संकल्प प्रस्ताव पारित गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समय गुजारेको जानकारी प्रदेशसभा सचिवालयले गराएपछि प्रदेश प्रमुखले आज नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने बिषयमा कानुनी परामर्श गरिरहेको जनाइएको छ ।

View : 123

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved