Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मुक्तिक्षेत्रमा भारी हिमपात

उद्‌घोष संवाददाता
६ चैत २०८२, शुक्रवार

मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ । आज अपराह्न ४ः०० बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो ।

मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको छ । वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ क्षेत्रका निरन्तर रूपमा भारी मात्रामा हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए ।

हिमपातसँगै मुक्तिनाथ मन्दिर क्षेत्र आसपासका डाँडाकाँडा हिउँले सेताम्मे भइसकेको व्यवस्थापक भुसालले बताए ।

मुक्तिनाथ मन्दिरमा बिहानपख बढी मात्रामा दर्शनार्थी हुने गरेको र हिमपात केहीबेर अघिमात्रै सुरु भएकाले दर्शनार्थीलाई खासै समस्या नपरेको व्यवस्थापक भुसालको भनाइ छ ।

हिमपातका कारण चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवन प्रभावित भएको व्यवस्थापक भुसालको भनाइ छ ।

त्यसैगरी, मुक्तिनाथ क्षेत्रको मुक्तिनाथ, रानीपौवा, झारकोट, खिङ्गा, छेङ्गुर, पुडाक र झोङलगायतका स्थानमा बाँक्लो हिमपात भइरहेको जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए ।

'मुक्तिक्षेत्रमा दिउँसोदेखि हिउँ पर्न थालेको छ, हिउँले मुक्ति क्षेत्र पूरै सेताम्मे भइसकेको छ', अध्यक्ष ठकुरीले भने, 'रातभरि हिउँ परेमा दुई फिट बढी हिउँ जम्ने देखिन्छ, हिउँले सडकसमेत अवरुद्ध हुनसक्ने सम्भावना छ ।'

त्यसैगरी, माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि दिउँसोदेखि हिमपात भइरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए ।

हिमपात नरोकिएमा माथिल्लो मुस्ताङका सबै भाग हिउँले ढाकिने बताए ।

हिमपातसँगै माथिल्लो मुस्ताङमा चिसो बढेका कारण स्थानीयको दैनिकीमा प्रतिकूल असर पुर्याएको एक्याप प्रमुख पौडेलको भनाइ छ ।

त्यस्तै, मुस्ताङका तल्लो क्षेत्र थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिका क्षेत्रका उच्चलेकमा आंशिक हिमपात भइरहेको र बस्ती क्षेत्रमा दिउँसोदेखि निरन्तर वर्षा भइरहेको जनाइएको छ । रासस

View : 129

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved