विराटनगर । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशन गर्न जिल्ला संयोजक तोकेको छ । कोशीका पूर्व मुख्यमन्त्रीसमेत रहेका कांग्रेस नेता केदार कार्की मोरङका लागि केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।
डा. शेखर कोइराला निकट मानिने पूर्व मुख्यमन्त्री कार्कीले कांग्रेसको महाधिवेशनका लागि मोरङको जिम्मेवारी लिएको बताएका छन् । शेखरले भने कांग्रेस संस्थापन र देउवा पक्ष दुवैले गर्ने महाधिवेशनमा सहभागी नहुने बताउँदै आएका छन् ।
पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको १५ औं महाधिवेशन तयारी समितिले समानान्तर अधिवेशन गर्न जिल्ला संयोजकहरू तोकेको हो । मोरङको संयोजकको जिम्मेवारी सुन्दरहरंैंचाका सुभाष पौडेलले पाएका छन् ।
असोज १५ गते वडा अधिवेशन गरी विभिन्न तहगत अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्ने तयारीमा देउवा पक्ष छ ।
कोशीका केही जिल्लाबाहेकमा देउवा पक्षले संयोजक तोकेको छ । जसअनुसार पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, खोटाङमा रोजन राई, ओखलढुंगामा वालगोविन्द राजभण्डारी र उदयपुरमा बसन्त बस्नेत संयोजक तोकिएका छन् ।
ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा भने संयोजक तोक्न बाँकी छ ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved