Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

स्वास्थ्य शिविरबाट एक सय ७० लाभान्वित

उद्‌घोष सम्वाददाता
२ मंसिर २०८१, आइतवार

तुलसीपुर, २ मङ्सिर । जिल्लाको विकट क्षेत्र मानिएको बबई गाउँपालिका–७ मा वडा कार्यालयको सहकार्यमा सञ्चालित एकदिने स्वास्थ्य शिविर उपचारबाट बञ्चित भएकाले सेवा लिएका छन् । 

बबई–७ को सहकार्य, तुलसीपुर उपमहानगरपालिकाको समन्वय, राप्ती आँखा अस्पताल (रक्षाचौर), तुलसीपुरस्थित मेट्रो सिटी पोलिक्लिनिक, तुलसीपुर सिटी अस्पताल, मनकामना डेण्टल प्रालि, रौनियार पोलिक्लिनिक प्रालिको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट एक सय ७० बढीले सेवा लिएका हुन् । स्त्रीरोग विशेषज्ञ, फिजिसिएन, आँखा रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित स्थानीयस्तरमा सेवा पाएपछि यहाँका नागरिक उत्साहित भएका छन् ।

बबई–७ निवासी बमबहादुर बुढा एक हातमा लठ्ठी र अर्को हातमा औषधि लिएर खुसी हुँदै घर फर्किँदै थिए । आँखा कम देख्ने, दुःख्ने समस्याले सजिलै अस्पताल जान सक्ने अवस्थामा नभएका उनी शनिबार गाउँमा स्वास्थ्य शिविरमार्फत उपचार पाएपछि खुसी देखिन्थिए । 

सोही ठाउँका टोपबहादुर बस्नेत पनि काम छोडेर उपचार गर्न कुरेर बसेका थिए । पेटको समस्याले सताएका उनी गाउँमै उपचार पाउँदा निकै खुसी थिए ।  

लामोदेखि महिनावारीसम्बन्धी समस्याले पीडित दिला घर्तीले गाउँमा विशेषज्ञ चिकित्सकले निःशुल्क उपचार दिएपछि अब रोग निको हुन्छ भन्ने विश्वास पलाएको बताए । उनीहरूजस्तै दाङको कर्णाली भनेर चिनिने बबई–७ का नागरिकले गाउँघरमा उपचार सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।

अस्पताल जान खोज्दा पनि भौगोलिक विकटता, आर्थिक अवस्थालगायत कारणले बञ्चित भएका यहाँका नागरिकका लागि सञ्चालित स्वास्थ्य शिविर बरदान सावित भएको छ । “हामी चाहेको बेला अस्पताल जान सक्दैनौँं, गाउँमा एउटा स्वास्थ्य संस्था छ, त्यसमा भनेजति औषधि पनि पाइदैँन”, बुढाले भने, “स्वस्थ्य शिविर आएपछि हामीले गाउँमै सेवा लिन पायौंँ । यहाँ अहिलेसम्म पनि विशेषज्ञ चिकित्सकले पाइला टेकेका थिएनन् ।”

लामो समयदेखि स्वास्थ्य सुविधा नपाउँदा रोग पालेर बसेको अवस्थामा अधिकांश स्थानीय भेटिएका शिविरमा सहभागी डा निशा खनालले बताइन् । “उपचारमा आएकामध्ये अधिकांशको दाँत हेरेँ, सबैको दाँतमा समस्या देखियो”, उनले भनिन् ।

तुलसीपुर नगरजेसिजले विभिन्न कार्यालय तथा सङ्घसंस्थाको सहयोगमा सञ्चालन गरेको शिविरमा स्वास्थ्यसम्बन्धी सम्पूर्या सेवा एकैठाउँबाट प्रदान गरिएको थियो । करिब दुईसय परिवार रहेको वडा नं ७ मा लामो समयदेखि रोग पालेर बसेका पाइएकाले उपचारमा सहजीकरण गर्न शिविरको आयोजना गरिएको क्लबका अध्यक्ष पूर्णबहादुर डाँगीले बताए ।

“सुगममा धेरै स्वास्थ्य शिविरहरू सञ्चालित हुन्छन्, विकट क्षेत्रमा यस्ता शिविर नहुँदा धेरैले रोग पालेर बसेका हुनसक्छन् भन्ने लाग्यो”, उनले भने, “त्यसैलाई मध्यनजर गरी शिविरमार्फत सेवा दिएका हौँ ।” यहाँको देउती माविमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो । 

शिविरमा जनरल फिजिसियन डा सन्दीप खड्का, अर्थोपेडिक डा रुपेशमान शेरचन, गाइनोकोलोजिष्ट डा शिशिर कुँवर, अर्थोपेडिक डा निश्चल शर्मा, राप्ती आँखा अस्पतालका डा ओमप्रकाश यादव, मनकामना डेन्टलका डा निशा खनालसहितको टिमले सेवा प्रदान गरेको कार्यक्रम संयोजक वसन्त योगीले जानकारी दिए ।

शिविरको सहजीकरण तथा अन्य व्यवस्थापन गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले गरेका थिए । रासस

View : 122

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved