विराटनगर । विराटनगर देवकोटा चोकमा रहेको बनसखण्डी महादेव मन्दिर परिसरमा धार्मिक विधिपूर्वक पार्थिव शिवपुजन सम्पन्न भएको छ ।
मैथिली सेवा समिति विराटनगरको आयोजनामा भएको सो विशेष अनुष्ठानमा मुछिएको माटोबाट एक लाखभन्दा बढी शिवलिङ्ग बनाई भगवान शिवको आराधना गरिएको हो ।
माटो मुछेर लाखौँ शिवलिङ्ग बनाई पूजा गरिने भएकाले मिथिला क्षेत्रमा यसलाई ‘लखराम पूजा’ पनि भनिन्छ ।
समितिले विगत १७ वर्षदेखि सो मन्दिरमा निरन्तर सो पूजा आयोजना गर्दै आएको आयोजक समितिका महासचिव मृत्युञ्जय मिश्रले जानकारी दिए ।
भक्तजनहरूले मन्दिर परिसरमै तथा घरबाटै समेत माटोको शिवलिङ्ग बनाएर पुजनका लागि ल्याएका थिए ।
माटोको शिवलिङ्ग बनाएर पूजा गर्दा सम्पूर्ण मनोकांक्षा पूर्ण हुने जनविश्वास रहेको तथा मैथिल परम्परा अनुसार सम्पूर्ण धार्मिक विधिहरू पूरा गरिएको पूजाका मूल संयोजक डा. योगेन्द्रप्रसाद यादवले बताए ।
डा. एसएन झा यजमान रहेको सो पूजालाई १९ जना विद्वान पण्डितहरूले विधि–विधानपूर्वक सम्पन्न गराएका थिए ।
पुजनोत्सवका क्रममा रुद्राभिषेक, नवावृत्ति दुर्गा सप्तसती पाठ, कुमारी पुजन, लाखबत्ती प्रज्वलन, हवन, आरती तथा प्रसाद वितरण गरिएको मैथिली सेवा समितिका अध्यक्ष डा. झाले जानकारी दिए ।
सो अवसरमा मैथिलानी महिलाहरूले मिथिला क्षेत्रमा भगवान शिवको आराधना गर्दा गाइने परम्परागत ‘नचारी’ गीत गाएर वातावरणलाई थप भक्तिमय बनाएका थिए ।
View : 29
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved