Biratnagar, Morang, Nepal
२६ जेठ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

नवनियुक्त गृहमन्त्री गुरुङद्वारा पदभार ग्रहण

उद्‌घोष संवाददाता
२६ जेठ २०८३, मङ्गलवार

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । 

मंगलबार सिंहदरस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भने, “अबदेखि कुनै पनि नेपाली नागरिकको अपमान गर्न, चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा संवेदनशील भएर लाग्ने छु, मन्त्रालय गम्भीर भएर लाग्ने छ ।”

मन्त्री गुरुङले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका मुद्दा फिर्ता गर्न सकिने/नसकिने सम्बन्धमा छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेस गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेका छन् । 

त्यस्तै उनले विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्या काण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् । 

गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सुष्म निगरानी गरी कारबाही गरी सुरक्षा निकायमा सेन्सेटिभ इन्फरमेसन भिजेलिन्स टिम (एसआइभीटी) गठन गर्ने उनले बताए ।

उनले नेपाल प्रहरीअन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने र हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइललाई शीघ्र टुङ्गामा पुर्‍याउन निर्देशन दिने, ब्यूरोमा रहेका जघन्य आर्थिक, सङ्गठित अपराधलगायत गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टिकृत समूह गठन गर्ने निर्णय गरेका छन् ।

विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण

यसैबीच, नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले मंगलबार सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । 

सो अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई दू्रत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “विज्ञान प्रविधिको काम सुस्त गतिमा हुँदैन, रातदिन काम गरेर अगाडि बढ्ने हो ।”

मन्त्री पुनले आफू मन्त्री पदमा लामो समय नबस्ने उल्लेख गरे । उनले भने, “म यो मन्त्रीको पदमा धेरै बस्दिन, सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष मात्रै बस्ने हो ।”

आफ्नो कार्यकालमा विज्ञान प्रविधिसम्बन्धी जग बसालेर नयाँ पुस्तालाई जिम्मेवारी दिने उनको भनाइ छ । मन्त्री पुनले भने, “अरु मन्त्रालयको आआफ्नो नियम छ, मन्त्रालय र मन्त्री नयाँ भएको हुनाले शून्यबाट सुरु गर्नुपर्ने छ, नयाँ नियम बनाउनुपर्नेछ ।”

View : 47

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved