Biratnagar, Morang, Nepal
२५ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

बालेन सरकारको १०० दिन : विराटनगरका जेनजीको मूल्याङ्कन कस्तो ?

सुशांक दाहाल
२५ असार २०८३, बिहिवार

Advertisement

विराटनगर । पार्टी खोलेको थोरै समयमै अभूतपूर्व जनमत पाउन सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई तिहँई नजिकैको सरकार गठन भएको सय दिन पूरा भैसकेको छ । प्रतिपक्षी दल, आम नागरिक, नागरिक समाज, राजनीतिक विश्लेषकलगायतले आफ्नो प्रतिक्रिया दिएर सरकारको कामको मूल्याङ्कन पनि गरिसकेका छन् ।

संसद विघटन गरी अर्को निर्वाचन सम्पन्न गरेपछि बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने भन्ने पक्षमा युवा उमेर समूहकै बढी थिए । आम निर्वाचनमा त्यही आकँंक्षाले बालेन शाहसहितको राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो जनमत पाउन सफल भएको हो ।

यो सरकारलाई कसैले बालेनको बलमा अप्रत्यासित जनमत पाएको भन्ने प्रक्रिया दिएका छन् त कसैले पुरानाबाट थाकेरै रवि लामिछाने सभापति रहेको पार्टी रास्वपालाई चुनेको भन्ने बुझेका छन् ।

विराटनगरका युवा पुस्ताहरुले भने सरकारलाई मिश्रित ढंगले मूल्याङ्कन गरेको पाइएको छ । आफूहरुले गरे जति आशा पूरा नभएको र राम्रो कामसमेत सरकारले गरेको हुनाले उनीहरुले मिश्रित ढंगले मूल्यांकन गरेको बताएका हुन् । सेवाप्रवाहमा ढिलाइ कायमै, सडक निर्र्माण, सुकुमवासी व्यवस्थामा समस्यासँगै सडकको गुणस्तरप्रति उनीहरुले चित्त नबुझेको बताएका छन् ।

जेनजी आन्दोलनको जगमा पाएको बहुमतबाट गठित सरकारले जेनजीको माग र अपेक्षा पूरा गर्न सकेको छ कि छैन ? जेनजीहरुले सरकारको कार्यशैलीलाई कत्तिको राम्रो मानेका छन् ? यसैबीच विराटनगरका युवा पुस्ता अर्थात् जेनजी समूहले सरकारको कसरी मूल्यांकन गरेका छन् भन्ने बारे लिइएको प्रतिक्रियामा के छ त ?

शिक्षादीप कलेजका विद्यार्थी सबिन कार्कीले पहिलेको सरकारको भन्दा अहिलेको सरकारको काम राम्रो लागेको बताएका छन् । एकैचोटी भन्दा पनि आगामी दिनका कामहरु हेरेर मूल्याङ्कन सही हुन्छ जस्तो लाग्ने उनले बताएका छन् ।

‘रास्वपाको सरकार आएको १०० दिन पुग्दा परिवर्तनहरु अहिलेदेखि नै सुरु भैसकेको अनुभूति भएको छ । बालेन्द्रले गर्दै हुनुहुन्छ’ उनले भने, ‘पहिलेका सरकारभन्दा राम्रो गर्दै हुनुहुन्छ । नराम्रो केही गर्नुभएको छैन जस्तो लाग्छ । एकै पटक केही हुँदैन, स्टेप बाइ स्टेप हुन्छ । त्यसैले अहिले नै इभ्यालुएसन गरेर यस्तो छ भनिहाल्न मिल्दैन ।’

त्यस्तै महेन्द्र मोरङ आदर्श बहुमुदी क्याम्पसका विद्यार्थी आलोक शाहले सरकारको कामलाई मिश्रित मूल्यांकन गरेका छन् । उनी भन्छन्, ‘यो सरकारको १०० दिनको कामलाई मूल्याङ्कन गर्दा राम्रै पाएको छु । तर, सरकारका केही खराब पक्षहरुसमेत छन् । मन्त्रालयको संख्या २५ बाट घटाएर १७ मा झार्नु राम्रो मानेको छु ।’

‘१५ सय भन्दा बढी राजनीतिक नियुक्तिहरु खारेज गरी खुला प्रतिस्पर्धामार्फत पदपूर्ति प्रक्रिया सुरु गर्नु आफैंमा राम्रो कुरा भयो । सम्पत्ति र सार्वजनिक जग्गा छानविन गर्नु, सार्वजनिक सेवा प्रवाहमा पनि सुधार गर्ने प्रयास गर्नु भएको छ’ उनले भने 

उनले बजार अनुगमन र उपभोक्ताको हितबारे सोचेको यो सरकारको राम्रो पक्ष भएको बताएका छन् । उनले भने, ‘तर, वर्तमान अवस्थामा शेयर बजारमा आएको गिरावटबारे केही सम्बोधन नगर्नु, बजेटमा किसानलाई विशेष तरिकाले नहेर्नुलाई नराम्रो पक्षमा राखेको छु ।’

‘मधेशकै छोरो भएर मधेशलाई बेवास्ता गर्न खोज्नु उहाँको ठूलो कमजोरी हो भन्ने मलाई लाग्छ’ उनले  भने ।

त्यस्तै अरनिको कलेजका विद्यार्थी सुजल यादव सरकारको कामले देशमा विस्तारै विस्तारै परिवर्तन आउने बताउँछन् । यी सय दिनमा परिवर्तनको महसुस भएको भए तापनि सेवाप्रवाहमा भने समस्या कायमै रहेको उनले बताएका छन् ।

‘यो सरकार विस्तारै परिवर्तन अँइरहेको छ । विराटनगरको पनि ट्राफिक नियम कडा हुँदै गएको महसुस भैरहेको छ । तर, सडक व्यवस्थापनमा समस्या देखिएको छ । डस्टबिन नहुँदा खाएर कहाँ फाल्ने भन्ने समस्या हुन्छ । सडक राम्रो बनाउनु पर्यो । चाँडै भत्किरहेको छ,’ उनले भने ।

उनले नयाँ सरकार गठन भए पनि सरकारी सेवामा भने कुनै फरकपन नपाएको बताए । उनले भने, ‘अस्ति म जिल्ला प्रशासन कार्यालय जाँदा एकदिनमा मैले परिचयपत्र बनाउन सकिन ।

परिचयपत्र बनाउन भीड भएर दुई दिन लाग्यो । काममा ढिलो भएको मलाई लागिरहेको छ । सरकारसँग राखेको अपेक्षा विस्तारै पूरा भैरहेको छ । विस्तारै सबैकुरा राम्रो हुन्छ भन्ने आशा छ ।’

सवारी चालक मनिष रम्तेल भने पहिलेको भन्दा अहिलेको सरकारले झन् खराब महसुस गराएको बताउँछन् । ‘सरकार गठन भएको सय दिनमा मैले पहिलेको भन्दा पनि नराम्रो महसुस गरेको छु । पहिला जस्तो थियो, अहिले त्यस्तै छ । मैले भोट हाल्दा अर्कै अपेक्षा गरेको थिएँ, हुँदैछ अर्कै ।’

उनले स्वास्थ्य बीमा सेवाबारे कटौतिले नराम्रो असर पारेको बताउदै भने्, ‘अहिलेको सरकार आएपछि बीमा सेवा बन्द भएको छ । सरकारी अस्पतालमा जाँदा पालो नै आउँदैन । सो नियमले हजुरबुवा, हजुरआमाको उपचारका लागि निकै पैसा खर्च गरिरहनु परेको छ ।’ उनी थप्छन्, ‘जनताका लागि सुरु भएको सो सेवाले हामीहरु नै लाभान्वित हुन पाएका छैनौं ।’

उनी सडक विस्तार र ममर्तमा बर्तमान सरकार चुकेको बताउँछन् । उनी भन्छन् ‘म चालक भएको हुँदा बाटो नबन्नुमा ठूलो समस्या देखेको छु । चाँडै बाटो बन्नुपर्यो अरु त त्यस्तै हो ।’ एमाले वा अन्य पार्टीको सरकार हुँदा बीमा सेवा पनि सजिलो भएको धारणा उनको छ । उनी सरकारका केही निर्णय गरिबका लागि नराम्रो भएको बताउँछन् ।

उनी भन्छन्, ‘काठमाडौंका सुकुमवासीहरुलाई अहिले सरकारले घरको न घाटको बनाइदिएको छ । अब तिनीहरुको जीविकोपार्जन कसरी हुने हो । त्यसबारे सरकारले केही सोचेको छैन जस्तो मलाई लाग्छ । अब अगाडिका दिनहरुमा केही राम्रो भैहाल्छ कि भन्ने आशामा छु । अब हेर्दै जाऔं के हुन्छ । भर्खर त सय दिन भएको छ ।’

View : 68

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved