विराटनगर । बचतकर्ताको कम्तिमा पनि ४२ करोड बढी रकम अपचलन भएको दाबी गरिएको इटहरीको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया प्रारम्भ भएको छ ।
पहिलो चरणमा २० हजार रूपैयाँसम्म बचत जम्मा भएका २८७ जना बचतकर्तालाई करिब १ करोड ३८ लाख रूपैयाँ फिर्ता गर्ने कार्य सुरू गरिएको हो ।
कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले २० हजार रूपैयाँसम्म बचत रकम जम्मा भएका बचतकर्ताको बचत फिर्ता गर्न सबै प्रशासनिक तथा प्राविधिक तयारी पूरा गरिएको जनाएको छ ।
मन्त्रालयका सचिव डा. पशुपति ढुंगानाले पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राखिएको बताए ।
साना बचतकर्ताहरूको रकम सिधै बैंक खातामा पठाइने व्यवस्था गरिएकोले बचतकर्तालाई रकम फिर्ता लिन धाउनु पर्ने झन्झट पनि नरहेको जानकारी दिए ।
उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीकै उपस्थितिमा सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा समस्याग्रस्त सहकारीका रूपमा रहेको सो सहकारीका साना बचतकर्तालाई पहिलो चरणमा बचत फिर्ता गर्न लागिएको हो ।
बचत फिर्ताको प्रक्रिया सोमबारदेखि नै सुरू भएको मन्त्री मन्सुरीले बताए ।
उनले २० हजारसम्मको बचत फिर्ता गर्ने कार्य सकेपछि एक लाखसम्म बचत हुने बचतकर्ताको रकम फिर्ताको प्रक्रिया अघि बढाइने जानकारी दिए ।
उनले, प्रदेश सरकारको पहलमा देशमै पहिलो पटक यसरी समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिएको दाबी पनि गरे ।
सो सहकारीलाई कोशी प्रदेश सरकारले २०८१ पुस २३ मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।
सहकारीका अध्यक्ष फणिन्द्र पूर्वछाने मगरसहितका सञ्चालक समिति सदस्य र कर्मचारीहरूको मिलेमतोमा अम्बे कोशीका नौ हजार बचतकर्ताको ४२ करोड ६० लाख रूपैयाँभन्दा बढी रकम अपचलन भएको थियो ।
कोशी प्रदेश सरकारले २०८१ पुस १८ मा वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी सो समितिमार्फत सहकारीको सम्पत्ति व्यवस्थापन, ऋण असुली तथा धितो लिलामको प्रक्रिया अघि बढाएको थियो ।
समितिका सदस्य जीवन काफ्लेका अनुसार सहकारीका ऋणीबाट रकम असुली प्रक्रिया तीव्र बनाइएको बताए । सो ऋण बैंकमार्फत असुली गर्ने व्यवस्था मिलाइएको हो ।
समितिले नक्कली ऋणीका रूपमा खडा गरिएका बचतकर्तासँगको समेत हिसाब मिलान गर्ने कार्य गरेर २ करोड बढी रकम फिर्ता गरिसकिएको जनाएको छ ।
हाल असुल गरिएको रकममध्येबाट पहिलो चरणमा साना बचतकर्तालाई भुक्तानी सुरू गरिएको काफ्लेले बताए । उनले ऋणीहरूबाट थप रकम असुली गर्दै चरणबद्ध रूपमा सबै बचतकर्तालाई रकम फिर्ता गर्ने योजना समितिले बनाइरहेको जानकारी दिए ।
सहकारीका एक हजार १७३ जना बचतकर्ताले हालसम्म २४ करोड ८८ लाख रूपैयाँ बराबरको बचत फिर्ता गर्न समितिमा दाबी पेस गरिसकेको जनाइएको छ ।
बचतकर्ताको रकम अपचलन गरी ठगी आरोपमा थुनामा रहेका सहकारीका अध्यक्ष पूर्वाछाने मगर भने जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेर फरार छन् ।
समितिका अनुसार अम्बे कोशीबाट ऋण लिने ऋणीको संख्या ६४२ रहेको छ ।
उनीहरूलाई सहकारीले ४१ करोड ९३ लाख बढी ऋण लगानी गरेको छानबिनका क्रममा खुलेको छ ।
अध्यक्ष पूर्वछाने मगरले मात्रै २० करोड रूपैयाँ ऋण लिएको पाइएको छ ।
समितिले अध्यक्ष पूर्वछाने मगरसहित सहकारीका सञ्चालक, पूर्वसञ्चालक र ऋणिका नाममा रहेका विभिन्न ४२ वटा जग्गा रोक्का राखेको जनाएको छ ।
View : 164
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved