विराटनगर । नेपाल क्रिकेट एसोसिएशन (क्यान) को केन्द्रीय साधारणसभा विराटनगरमा सुरु भएको छ । साधारण सभाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका छन् ।
दुई दिनसम्म चल्ने सभाले नेपाली क्रिकेटको भविष्यलाई निर्देशित गर्ने महत्वपूर्ण निर्णयहरू गर्ने जनाइएको छ ।
सभामा क्यानका पदाधिकारी, प्रदेश तथा जिल्ला संघका प्रतिनिधि, खेलाडी प्रतिनिधि र क्रिकेट सम्बद्ध विभिन्न व्यक्तित्वहरू उपस्थित छन् ।
बैठकमा २०२६ को वार्षिक क्यालेन्डरको समीक्षा, आर्थिक प्रतिवेदन, आगामी योजनाहरू, खेलाडी विकास कार्यक्रम, पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारी जस्ता विषयमा छलफल हुने बताइएको छ । क्यानले यसअघि जनवरीमा २०२६ को व्यस्त क्यालेन्डर सार्वजनिक गरेको थियो ।
जसमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण, विभिन्न उमेर समूहका राष्ट्रिय प्रतियोगिताहरू, अन्तर्राष्ट्रिय द्विपक्षीय सिरिज र आईसीसी÷एसीसी इभेन्ट्सहरू समावेश छन् ।
सभाले यी योजनाहरूलाई थप प्रभावकारी बनाउने र प्रदेशस्तरीय क्रिकेटलाई मजबुत पार्ने रणनीति तय गर्ने जनाइएको छ । साथै, विराटनगरलाई क्रिकेट हब बनाउने लक्ष्यअनुसार स्थानीय पूर्वाधार विकासमा जोड दिइने अपेक्षा गरिएको छ ।
साधारणसभाले क्यानको नेतृत्व, नीति तथा कार्यक्रम पारित गर्नुका साथै आगामी एक वर्षको कार्ययोजना पारित गर्ने र नेपाली क्रिकेटलाई व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउन मद्दत पुग्ने सहभागीहरूले बताए ।
View : 92
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved