Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

अब खुल्ने भए सामुदायिक विद्यालय

उद्‌घोष सम्वाददाता
१७ वैशाख २०८२, बुधवार

विराटनगर ।  देशभरका  सम्पूर्ण सामुदायिक विद्यालय ठप्प पार्ने गरी चलेको शिक्षकहरूको काठमाडौ केन्द्रित आन्दोलनलाई अन्ततः सरकारले २९ औं दिनमा सम्बोधन गरेको छ । सरकार र शिक्षकहरूबीच भएको सहमतिलाई बुधबार साँझको मन्त्रिपरिषद बैठकले  अनुमोदन गरेपछि अब देशभरीका सामुदायिक स्कुलहरू सुचारू हुने भएका छन् ।

 
शिक्षक आन्दोलनका कारण देशभरका स्कुल बन्द हुँदा भर्ना अभियान, परीक्षालगायतका शैक्षिक कार्यक्रम प्रभावित बनेका थिए । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शिक्षकका नौ बुँदे मागलाई अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी दिए ।

बुधबार नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सहमतिमा टुङ्गिएको थियो । त्यसलगत्तै मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकले सो सहमति अनुमोदन गरेको हो  । 

 

मन्त्रिपरिषदले आन्दोलनरत शिक्षकसँग गरेको ९ बुँदे सहमति यस प्रकार छ :-

१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा; काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने 

२. अस्थायी प्रकृतिका शिक्षक; राहत, अस्थायी (करार ) साविक उमावि, सिकाई अनुदान,  प्राविधिकधार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सन्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रुपमा प्रदान गर्ने 

 

३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने 

४. आगामी आव २०८२/०८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सेवा ग्रेड संख्या र रकम कायम गर्ने 

५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार, साविक उमावि,  प्राविधिक) सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने 

 

६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षण तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने 

७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने 

 

८. नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने 

 

९. निम्न माध्यमिक तह प्राथमिक श्रेणीको प्राथमिक श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।

 

 

View : 88

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved