Biratnagar, Morang, Nepal
३ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

त्रिविमा आंशिक प्राध्यापकको आक्रोश

‘सहमति कार्यान्वयन नगरे आंशिक प्राध्यापक आन्दोलनमा उत्रने’

उद्‌घोष संवाददाता
२५ जेठ २०८२, आइतवार

Advertisement

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का  आंशिक प्राध्यापकहरूले विश्वविद्यालय प्रशासनविरुद्ध गम्भीर आरोप लगाउँदै तत्काल माग पूरा नगरे आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले उपकुलपतिलाई बुझाएको ज्ञापनपत्रमा विश्वविद्यालयले ‘बौद्धिक श्रम शोषण, विभेद र अन्याय’ गरिरहेको भन्दै तत्काल आफूसँग गरेको सहमति कार्यान्वयन गर्ने सहित पाँच बुँदे माग गरेको छ  ।

त्रिविले ११ महिनादेखि आंशिक प्राध्यापकसँग गरेको सहमति  ढिला भएकाले  तत्काल कार्यान्वयन गर्न माग गरेको छ । २०८१ साउन २३ मा विश्वविद्यालय कार्यकारी परिषद्ले आंशिक प्राध्यापकलाई रिक्त पदमा करार दिने निर्णय गरेको तथ्यलाई अबसम्म लागू नगरेको आरोप उनीहरुको छ । फास्ट ट्रयाकबाट हुने विज्ञापन खारेजी गर्न माग गरेको छ । विश्वविद्यालयले १०० जना ‘नातागोता’ लाई लिखित परीक्षा बिना उपप्राध्यापक बनाउने ‘षड्यन्त्र’ गरेको भन्दै सीमित पदको विज्ञापन तत्काल रोक्न माग गरेको छ ।

सबै रिक्त पद (५,२३० दरवन्दी ) खुल्ला विज्ञापनबाट गर्नुपर्ने जनाइएको छ । सम्पूर्ण रिक्त दरबन्दी एकैपटक विज्ञापन गर्नुपर्ने र यसबिना कुनै पनि प्राध्यापक भर्ना प्रक्रिया नचलाउन माग गरिएको छ ।विश्वविद्यालयले ‘राजनीतिक चलखेल’ गरी नातेदारलाई जागिर खुवाउने प्रयास गरेको आरोप लगाइएको छ । साथै २० वर्षदेखि कुल कक्षाभारको ७० प्रतिशत योगदान गर्ने आंशिक प्राध्यापकलाई जानीजानी ‘विस्थापित’ गर्ने षड्यन्त्र गरेको आरोप लगाइएको छ ।

आफ्नो माग ७ दिनभित्र सुनुवाई नभएमा कडा आन्दोलन सुरु गरिने चेतावनी पनि त्रिवि आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले चेतावनी पनि दिएको छ ।  समितिले विश्वविद्यालयका समस्त प्राध्यापक, कर्मचारी र संघहरूलाई आन्दोलनलाई ‘समर्थन गर्न’ आह्वान गरेको छ । आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका केन्द्रीय अध्यक्ष गोकुल लेछवा लिम्बू, सहअध्यक्ष राजेन्द्र आचार्य, र महासचिव बैकुण्ठ थापाद्वारा हस्ताक्षरित ज्ञापनपत्रको प्रतिलिपि सेवा आयोग, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई पनि पठाइएको छ ।

प्रगतिशील प्राध्यापकद्वारा विज्ञापन सच्याउन माग

प्रगतिशील प्राध्यापक संगठनबाट केन्द्रीय समितिद्वारा पनि प्राध्यापकका लागि खुलेको विज्ञापन नियमसंगत नभएको भन्दै एक विज्ञप्ति जारी गर्दै सच्याउन माग गरेको छ ।

केन्द्रीय अध्यक्ष डा पद्मप्रसाद खतिवडा र महासचिव डा सुमन खरेलद्वारा हस्ताक्षरित सात बुँदे विज्ञप्तिमा भनिएको छ– ‘हाम्रो संगठन प्राध्यापकका हकहितको संरक्षण  तथा समस्या समाधानका लागि सधै सकारात्मक रहेको र यसका लागि साझा धारणा निर्माण गरी अघि बढ्नुपर्ने आवश्यकप्रति पनि सचेत रहेको  जानकारी गराउँदै छलफल, संवाद र साझाधारणा निर्माणका लागि सम्वद्ध सबै पक्षसँग अनुरोध गर्दछ ।’

जनप्रशासन क्याम्पस प्रमुख नियुक्तिको आपत्ती

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जनप्रशासन क्याम्पसका स्ववियु अध्यक्ष अनिकेत तिवारी र  पूर्व अध्यक्ष एवम् पूर्व त्रिवि सभा सदस्य पंकजकुमार क्षेत्रीद्वारा एक विज्ञप्ति जारी गरी जनप्रशासन क्याम्पस प्रमुखको नियुक्ति योग्यता र क्षमताको  आधारमा नभई सच्याउन माग गरेको छ । पहिले परीक्षामा कार्वाही परेको व्यक्तिलाई प्रमुखमा नियुक्त गरेकोमा आपत्ती जनाउँदे सच्याउन त्रिविसँग माग गरेको छ ।

 

View : 893

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved