Biratnagar, Morang, Nepal
२३ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कमजोर बन्यो कोइराला विरासत : नेतृत्वको केन्द्रबाट टाढिए उत्तराधिकारी

नेपालका अनुसार पुर्खाको राजनीतिक योगदानका कारण यी परिवारका सन्ततिले राजनीतिमा प्रवेश गर्दा अवसर र कार्यकर्ताको साथ पाएका थिए । तर त्यसलाई दीर्घकालीन राजनीतिक शक्तिमा बदल्न आफ्नै संघर्ष र क्षमता आवश्यक थियो, जुन कोइराला परिवारका उत्तराधिकारीले प्रदर्शन गर्न सकेनन् ।
२२ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको इतिहासमा कोइराला परिवारको राजनीतिक प्रभाव असाधारण रूपमा लामो र ठूलो छ ।

पार्टी स्थापनादेखि लोकतान्त्रिक आन्दोलन, सरकार सञ्चालन, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनासम्म कांग्रेसको राजनीतिक यात्रामा कोइराला परिवारका सदस्यहरूको निर्णायक भूमिका रहँदै आएको छ । यद्यपि पार्टी १५ औं महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवारको राजनीतिक विरासत इतिहासमै सबैभन्दा कमजोर देखिएको छ ।

विराटनगरलाई राजनीतिक थलो बनाएर उदाएको यही परिवारका दोस्रो पुस्ताका नेताहरू अहिले कांग्रेसको मूल नेतृत्व प्रक्रियाबाट क्रमशः टाढिँदै गएका छन् । कांग्रेसको १५औँ महाधिवेशनसम्म आइपुग्दा बीपी कोइरालाका छोरा डा. शशांक कोइराला र बीपीकै भतिजा  डा. शेखर कोइराला पार्टीको मूल महाधिवेशन प्रक्रियामा सहभागी नै  छैनन् । 

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला भने मूल कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी छिन् । उनी पनि यसपटक कुनै पदमा उम्मेदवार बनेकी छैनन् । 

बीपीपुत्र शशांक भने शेरबहादुर देउवा पक्षले अघि बढाइरहेको समानान्तर महाधिवेशनको तयारीमा सक्रिय छन् । मध्यमार्गको वकालत गर्दै आएका डा शेखर दुवै पक्षबाट अलग बसेका छन् । 

कोइराला परिवारसँगै कांग्रेसका अर्का दुई प्रभावशाली राजनीतिक परिवारका दोस्रो पुस्ताका नेताहरू पनि मूल महाधिवेशन प्रक्रियाबाट बाहिर छन् ।  गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि पनि देउवा पक्षको समानान्तर महाधिवेशनको तयारीमा छन् । 

कांग्रेसको राजनीतिक इतिहासमा कोइराला परिवारको स्थान सधैं उच्च र सम्मानित रहँदै आएको थियो । कृष्णप्रसाद कोइरालाका तीन छोरा मातृका, बीपी र गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री बने । यी तीनै भाइले फरकफरक कालखण्डमा नेपाली कांग्रेस र राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेलेका थिए । कोइराला परिवारको राजनीतिक आधार विराटनगर र मोरङ थियो । 

राणा शासनविरुद्धको राजनीतिक चेतना र संगठन निर्माणदेखि प्रजातान्त्रिक आन्दोलनसम्म कोइराला परिवारको राजनीतिक सक्रियता यही भूगोलसँग जोडिएको थियो । 

बीपी कोइराला कांग्रेसका संस्थापक नेता मात्र थिएनन्, नेपालको लोकतान्त्रिक आन्दोलन, कांग्रेसको राजनीतिक विचार र पार्टीको संगठन निर्माणमा उनको भूमिका केन्द्रीय थियो । 

२००७ सालको क्रान्तिमा नेतृत्वदायी भूमिका खेलेका बीपी २०१५ सालको आमनिर्वाचनपछि बनेको नेपालको पहिलो निर्वाचित सरकारका प्रधानमन्त्री बने । 

२०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गरेपछि उनले जेल र निर्वासनको लामो समय बिताए । 

गिरिजाप्रसाद कोइरालाले पनि कांग्रेसको संगठन र राष्ट्रिय राजनीतिमा लामो समय निर्णायक प्रभाव राखे । 

२०४६ सालको जनआन्दोलनदेखि २०६२–६३ को लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन र गणतन्त्र स्थापनासम्म उनको भूमिका प्रमुख रहेको थियो । 

गिरिजाप्रसाद पाँचपटक प्रधानमन्त्री भए र लामो समय कांग्रेस सभापतिको जिम्मेवारी सम्हालेका उनी बीचमा आलोचित बने । तर, २०६२–६३ को जनान्दोलन हाँकेर देशलाई शान्ति प्रक्रियामा डोर्याउन सफल भएपछि उनको उत्तरार्ध स्मरणीय रह्यो । 

एकै परिवारका तीन दाजुभाइ प्रधानमन्त्री बनेर आफ्नो युगको नेतृत्व गरेको बलियो पारिवारिक राजनीतिक विरासतको दोस्रो पुस्तामा भने अहिले नेतृत्वको निरन्तरता कमजोर देखिएको छ । कांग्रेसको इतिहासका अध्येता, लेखक तथा पत्रकार जगत नेपालका अनुसार राजनीतिक परिवारबाट आएका नेताहरूले राजनीतिमा प्रवेश गर्दा आफ्ना पुर्खाले निर्माण गरेको सामाजिक र राजनीतिक पूँजी पाउने गरेका थिए । तर त्यो पूँजीलाई आफ्नै राजनीतिक आधारमा रूपान्तरण गर्नु उनीहरूका लागि चुनौती रह्यो । 

‘कांग्रेसको पुरानो पुस्ताका परिवारबाट आएका नेताहरूले राजनीतिमा प्रवेश गर्दा उनीहरूका अभिभावकको नामसँगै आएको सामाजिक र राजनीतिक पूँजी पनि उनीहरूको साथमा थियो,’ नेपालले भने, ‘कांग्रेसको जारी १५औँ महाधिवेशनसम्म आइपुग्दा नेपाली राजनीतिमा लामो समयसम्म प्रभाव जमाएका कोइराला र गणेशमान परिवारजस्ता शक्तिशाली राजनीतिक घरानाका सन्ततिहरू पार्टीको मुख्य नेतृत्वबाट पछि हट्दै गएका छन् ।’

नेपालका अनुसार पुर्खाको राजनीतिक योगदानका कारण यी परिवारका सन्ततिले राजनीतिमा प्रवेश गर्दा अवसर र कार्यकर्ताको साथ पाएका थिए । तर त्यसलाई दीर्घकालीन राजनीतिक शक्तिमा बदल्न आफ्नै संघर्ष र क्षमता आवश्यक थियो, जुन कोइराला परिवारका उत्तराधिकारीले प्रदर्शन गर्न सकेनन् ।

नेपालका अनुसार परिवारको राजनीतिक प्रभाव कमजोर हुनुमा पुस्तान्तरण मात्रै कारण होइन । बदलिएको राजनीतिक परिवेश र समयको आवश्यकता बुझेर आफूलाई परिवर्तन गर्न सक्ने क्षमता पनि त्यससँग जोडिएको छ । 

‘नेपालमा मात्रै होइन, समयसँगै संसारभरि परिवारवाद वा लिगेसी पोलिटिक्सप्रतिको आकर्षण कमजोर बन्दै गयो र उनीहरूले पार्टीभित्रको आफ्नो पकड तथा कार्यकर्ताको ठूलो पंक्ति गुमाउन पुगे,’ उनले भने ।

बीपी कोइरालाका छोरा डा. शशांक कोइराला राजनीतिमा आउनुअघि चिकित्सकीय पेसामा थिए । कांग्रेस राजनीतिमा सक्रिय भएपछि उनी पार्टीको केन्द्रीय नेतृत्वमा पुगे । १३ औँ महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित भएपछि शशांक कांग्रेसको नेतृत्वको महत्वपूर्ण तहमा पुगेका थिए । त्यसपछि उनलाई बीपीको राजनीतिक उत्तराधिकारीका रूपमा समेत हेरिन थाल्यो । तर, उनले नेतृत्व तहमा आफ्नो राजनीतिक औचित्य स्थापित गर्न सकेनन् । 

१४औँ महाधिवेशनमा शशांक सभापतिका सम्भावित उम्मेदवारका रूपमा चर्चामा थिए । तर उनी सभापतिको दौडमा अघि बढेनन् । त्यही महाधिवेशनमा कोइराला परिवारकै अर्का सदस्य डा. शेखर कोइराला सभापतिको उम्मेदवार बनेका थिए । 

शेखरले सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कुनै उम्मेदवारले आवश्यक बहुमत नल्याएपछि भएको दोस्रो चरणको निर्वाचनमा देउवा विजयी भए । 

त्यसपछि शेखर देउवाप्रति निरन्तर आलोचनात्मक रहँदै आएका थिए । कांग्रेसमा विशेष महाधिवेशनको बहस सुरु हुँदा त्यसलाई अघि बढाउने नेतामध्ये शेखर पनि थिए । विशेष महाधिवेशनको प्रक्रियामा उनी आफैं सहभागी भएनन् । 

‘हामीलाई विशेष महाधिवेशनका लागि अघि बढौं भन्ने शेखर दाइ नै हुनुहुन्थ्यो,’ कांग्रेस महामन्त्री तथा अहिले पनि महामन्त्रीका उम्मेदवार रहेका मोरङका नेता गुरुराज घिमिरेले केही समयअघि भनेका थिए, ‘तर उहाँ भने विशेषमा आउनुभएन ।’

विशेष महाधिवेशनपछि शेखर केही समयअघि आफूले निरन्तर आलोचना गर्दै आएका देउवासँगै उभिए । अहिले देउवा पक्ष समानान्तर महाधिवेशनको तयारीमा रहे पनि शेखर भने त्यसबाट पनि अलग छन् । 

शशांक भने देउवा पक्षसँगै छन् र समानान्तर महाधिवेशनको तयारीमा सक्रिय छन् । यसरी बीपी कोइरालाका राजनीतिक उत्तराधिकारीका रूपमा कांग्रेसको नेतृत्वमा पुगेका परिवारका दुवै प्रमुख सदस्य अहिले मूल महाधिवेशन प्रक्रियाबाट बाहिर छन् ।

कोइराला परिवारको दोस्रो पुस्तामा अहिले मूल कांग्रेसको महाधिवेशन प्रक्रियामा देखिने प्रमुख अनुहार सुजाता कोइराला हुन् । गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता लामो समयदेखि कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय छिन् । उनी पटक–पटक केन्द्रीय सदस्य भइन् । पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको नेतृत्व गरिन् । 

सरकारमा परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालिन् । २०६६ सालमा उनी नेपालको दोस्रो महिला उपप्रधानमन्त्री बनेकी थिइन् । पछिल्लो समय सुजाताको राजनीतिक दिशा परिवारका अन्य सदस्यभन्दा फरक देखिएको छ ।

गत पुसमा भएको विशेष महाधिवेशनमा उनी सहभागी भएकी थिइनन् । विशेष महाधिवेशनपछि भने उनले गगन थापाको नेतृत्व स्वीकार गरेर कांग्रेस अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरिन् । 

बीपी परिवारका शशांक र शेखर गगन नेतृत्वको कांग्रेसबाट अलग रहँदा सुजाता भने उनको पक्षमा खुलेकी थिइन् । 

कांग्रेसको १५औँ महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवारबाट नयाँ पुस्ताको राजनीतिक उपस्थिति देखिए पनि बीपी र गिरिजाप्रसादको पुस्ताले बनाएको राजनीतिक प्रभावको निरन्तरता भने पहिलेको जस्तो बलियो छैन ।

कांग्रेसका संस्थापक पुस्तासँग जोडिएका परिवारका दोस्रो पुस्ताका नेताहरू कुनै समय पार्टीको नेतृत्वमा निर्णायक अवस्थामा थिए । अहिले तीमध्ये अधिकांश मूल नेतृत्व प्रक्रियाबाट बाहिर छन् । 

कांग्रेसको इतिहासबारे पुस्तकका लेखक जगत नेपालका अनुसार त्यसको एउटा कारण राजनीतिक विरासतबाट प्राप्त सुरुआती पूँजीलाई आफ्नै राजनीतिक क्षमता र निरन्तर संघर्षबाट बलियो बनाउन नसक्नु नै हो । 

‘पुर्खाहरूको विरासतको मात्र भर पर्दा र समयसापेक्ष आफैँले कडा परिश्रम र सैद्धान्तिक पकड नबनाउँदा कांग्रेसभित्रको पारिवारिक राजनीतिक वर्चस्व क्रमशः समाप्त हुँदै गएको देखिन्छ,’ उनले भने ।

View : 76

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved