विराटनगर । कालिकोटकी समीक्षाकुमारी बमलाई ‘प्लस टु’ पछि कानुन विषय लिएर पढ्न मन लाग्यो । तर कहाँ पढ्ने उनी निश्चित थिइनन् ।
पछि उनले विराटनगरको ब्राईट भिजन ल कलेजबाट आफ्नो कानुनको अध्ययनलाई अघि बढाउने निधोमा पुगिन् ।
अहिले वीएएलएलवीको पाँचौं सेमेष्टरमा अध्ययनरत बमले कानुन पढेपछि आफूमा आत्मविश्वास बढेको बताइन् । उनले भनिन्, ‘आफूमा आत्मविश्वास बढाउन, आफ्नो सुरक्षाका लागि पनि कानुनको अध्ययन आवश्यक छ ।’
जुम्लाकी कृति बस्नेतलाई पनि कक्षा १२ पछि कानुन विषय लिएर पढ्न मन लाग्यो ।
काठमाडौंमा बस्दै आएकी उनले विराटनगरको ब्राईट भिजन कलेजबाट वीएएलएलवीको अध्ययन अगाडि बढाइन् ।
कानुन विषयमा राम्रो पठनपाठन हुने कलेजका रुपमा आफ्नै साथीले सुझाएपछि उनले विराटनगर आएर पढिरहेको बताइन् ।
अहिले तेस्रो सेमेष्टरमा अध्ययन गरिरहेकी उनले कलेजको पठनपाठन राम्रो रहेको अनुभव सुनाइन् । भविष्यमा सरकारी सेवामा प्रवेश गर्ने दृढ इच्छा रहेको उनले बताइन् ।
ब्राईट भिजन ल कलेजले १६ वर्षअघि काठमाडौं बाहिर पहिलो पटक कानुन विषयको पठनपाठन शुरु गरेको हो । त्यसअघिसम्म कानुन विषयमा पढ्न चाहने पूर्व क्षेत्रका विद्यार्थीले काठमाडौं नै पुग्नुपर्ने बाध्यता थियो ।
कलेजका क्याम्पस प्रमुख बरिष्ठ अधिवक्ता चुडामणि आचार्यले राजधानी बाहिर कतै पनि कानुन विषयमा पठनपाठन नभएको अवस्थामा कलेज स्थापना गरिएको बताए ।
कलेजले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानलाई पनि सँगै लैजाने गरेको उनले बताए ।
‘संविधानमा संघ, प्रदेश र स्थानीय सरकारको अधिकारबारे प्रष्ट व्यवस्था छ, तर प्रदेश र स्थानीय निरीह देखिन्छन्’ उनले भने, ‘प्रदेश र स्थानीयलाई कानुनी रुपमा दह्रो बनाउने काम हाम्रो जनशक्तिले गर्दै आएको छ ।’
आचार्यले कलेजले गत वर्ष कोशी प्रदेशमै पहिलो पटक मुटकोर्ट (अभ्यास अदालत) आयोजना सफलतापूर्वक आयोजना गरिएको बताए । मुटकोर्टले विद्यार्थीमा व्यवहारिक कानुनी ज्ञान, आत्मविश्वास, तर्कशक्ति र अनुसन्धान क्षमता विकास गर्ने क्याम्पस प्रमुख आचार्यले बताए ।
२०६७ सालमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा ब्राईट भिजन कलेजले कानुन संकायमा पठन पाठन शुरु गरेको हो ।
पाँच वर्षे बीएएलएलवी र दुई वर्षे एलएलमको पठनपाठन शुरु गरेपछि कलेजमा देशभरका विद्यार्थीको आकर्षण देखिएको हो ।
अहिले कालिकोटकी समीक्षा र जुम्लाकी कृतिजस्तै सातै प्रदेशका विद्यार्थीहरू ब्राइट भिजनमा अध्ययनरत रहेको आचार्यले बताए ।
ब्राईट भिजनबाट अध्ययन पूरा गरेका अधिकांश विद्यार्थी कोही सरकारी सेवामा प्रवेश गरिसकेको, कसैले ल कलेज नै शुरु गरेको, कोही वकालत पेशामा संलग्न रहेको जनाइएको छ ।
२०८० मा ब्राईट भिजनबाटै वीएएलएलवी पूरा गरेका प्यारे अनवर अहिले उच्च सरकारी वकिलको कार्यालय राजविराजमा सहायक न्यायाधिवक्ता पदमा कार्यरत रहेका छन् ।
अनुभवी शिक्षक र राम्रो पठनपाठनका कारण वीएएलएलवीको अध्ययन पूरा गरेलगत्तै लोकसेवामा प्रतिष्पर्धा गरेकै वर्ष उनले नाम निकाल्न सफल भएका थिए ।
उदयपुरकी शिक्षा राईले पनि एकै पटकमा लोकसेवामा नाम निकाल्न सफल भइन् । २०८० मा ब्राइट भिजनबाट बीएएलएलबीको अध्ययन पूरा गरेपछि उनले २०८२ मा लोकसेवामा प्रतिष्पर्धा गरिन् र सोही वर्ष नाम निकालेकी थिइन् ।
हाल जिल्ला सरकारी वकिलको कार्यालय उदयपुरमा सहायक जिल्ला न्यायाधिवक्ता पदमा कार्यरत रहेकी शिक्षाले पनि अनुभवी शिक्षक र व्यवहारिक शिक्षाको क्षेत्रमा कलेजको पठनपाठन उत्कृष्ट रहेको बताइन् ।
कलेजमा भर्ना भएका विद्यार्थीहरूमध्ये १० प्रतिशत विद्यार्थीले छात्रबृत्ति पाउँदै आएको क्याम्पस प्रमुख आचार्यले जानकारी दिए ।
उक्त छात्रबृत्तिका लागि विद्यार्थीको छनोट विश्वविद्यालयले नै गर्दै आएको छ ।
गरिव तथा जेहेन्दार विद्यार्थीलाई भने कलेजले छात्रबृत्ति दिंदै आएको जनाइएको छ ।
View : 209
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved