Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

प्राध्यापकको कमीले पठनपाठनमा समस्या

उद्घोष सम्वाददाता
११ वैशाख २०८१, मङ्गलवार

प्राडा बलराम पौडेललाई सम्मान गर्दै डा प्रमोद खेरवार र प्राध्यापक महेन्द्रनारायण यादव, साथमा क्याम्पस प्रमुख डा रामावतार शरण ।  तस्वीर: उद्घोष

विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अध्यापन गराउने शिक्षक (प्राध्यापक) को कमीले गर्दा पठनपाठनमा समस्या भएको छ ।

त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ एकाईले सोमबार गरेको प्राध्यापक सम्मान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा रामावतार शरणले विगतमा एक सय ८६ बढी पूर्णकालिन प्राध्यापक रहेकोमा वर्तमानमा त्यो संख्या घटेर  एक सय १६ जना पुगेकोले पठनपाठनमा समस्या भएको बताए ।

त्रिवि सेवा आयोगको कार्य लामो समयदेखि अवरुद्ध हुँदा नयाँ नियुत्तिका लागि लामो समयदेखि परीक्षा हुन सकेको छैन ।

यस्तै प्रमुख डा शरणले कर्मचारी पनि कम भएकोले कर्मचारी र प्राध्यापकलाई करारमा नयाँ नियुक्तिका लागि प्रक्रिया मिलाउने पूर्व क्याम्पस प्रमुख (डा बाबुराम तिमल्सिना) को पहललाई आफूले पनि निरन्तरता दिएको बताए ।

महेन्द्र मोरङमा हाल विभिन्न संकायमा गरी १० हजार विद्यार्थी भर्ना भई पठनपाठन गर्दै आएको पूर्व प्रमुख डा बाबुराम तिमल्सिनाले बताए ।  

सो अवसरमा प्राध्यापक महेन्द्रनारायण यादवले क्याम्पसमा लामो समयदेखि कार्यरत आंशिक शिक्षकलाई करारमा लैजानुपर्नेमा जोड दिंदै कुनै पनि काम हिम्मत र आँटबाट मात्र गर्न सकिने सुझाव दिए । उनले आफू प्राध्यापक संघको एकाई सभापति हुँदा क्याम्पस प्रशासनलाई दवाव दिई पाँच दर्जन बढी आंशिक शिक्षकलाई करारमा लैजान सफल भएको सुनाए ।

प्राडा देवेन्द्र अधिकारीले क्याम्पस कार्यरत प्राध्यापकको अवकाश हुने संस्या उच्च रहेकोले आवश्यकतालाई पूरा गर्नमा पहल गर्नु पर्ने बताए । त्रिवि कर्मचारी संघ एकाई सभापति प्रमोद कामतले प्राध्यापक र कर्मचारीहरुको नयाँ नियुक्त नहुने भएकाको अवकाश भएको देख्दा कतै क्याम्पस सुनसान त हुने होइन भनेर दुःख लाग्ने गरेको बताए ।

आयोजक संस्थाका अध्यक्ष प्रमोद खेरवारले क्याम्पसको चौतर्फी विकास र प्राध्यापकको उन्नयनका लागि प्राध्यापक संघ लागि परेको बताए । उनले अव क्याम्पसको सबै पक्षलाई मिलाएर लग्ने कार्यमा प्राध्यापक संघले समन्वय गरिरहेको बताए । 

१३ प्राध्यापक सम्मानित

त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पसले सोमबार एक कार्यक्रम गरी तेह्र अवकाश प्राप्त प्राध्यापकलाई सम्मान गरी विदाई गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा घनश्याम श्रीवास्तव, मञ्जु सरदार, गजेन्द्र पण्डित, घमचन्द्र नेपाल, डा कामेश्वर यादव, इश्वरीप्रसाद गौतम, सरोजकुमार चौधरी, डा विनोदकुमार महासेठ, जमिल अख्तर, प्राडा राजनारायण यादव छन् । यस्तै प्राडा बलराम पौडेल, बासुदेव मेहता र  डा भोलाप्रसाद राउत पनि सम्मानित भएका छन् ।

उनीहरुलाई त्रिवि प्राध्यापक संघ क्याम्पस एकाईंका सभापति डा प्रमोद खेरवार, पूर्व सभापति प्रा महेन्द्रनारायण यादव र क्याम्पस प्रमुख डा रामावतार शरणले प्रमाणपत्र, दोसल्ला र करुवा दिएर सम्मान गरेका थिए ।

View : 145

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved