Biratnagar, Morang, Nepal
१५ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेस अधिवेशन : सहमति प्रयास विफल, तीनवटा क्षेत्रमा आज चुनाव

मोरङ ५ मा क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि निर्विरोध चयन हुँदा एउटा प्रदेशसभा समिति छानिन बाँकी छ ।
उद्‌घोष संवाददाता
१४ असोज २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङका ६ वटा क्षेत्रमध्ये दुई क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । बाँकी तीन  वटा क्षेत्रमा बुधबार निर्वाचन हुने भएको छ । 

सहमतिको प्रयास विफल भएपछि अब बाँकी क्षेत्रमा निर्वाचन हुने निश्चित भएको कांग्रेस नेताहरुले जानकारी दिएका छन् । 

मोरङका छ वटा  निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ५ मा क्षेत्रीय सभापतिसहितको समिति सर्वसम्मत चयन भइसकेको छ ।  मंगलबार महाधिवेशन प्रतिनिधिहरु पनि निर्विरोध छानिएका छन् । अब प्रदेशसभा १ को क्षेत्रीय समिति बुधबार चयन हुनेछ । 

मोरङ ५ बाट अमृत अर्यालसहितका नेताहरु महाधिवेशन प्रतिनिधि निर्विरोध छानिएका छन् । 

अर्याल, फुलकुमार लालबानी, राजेश गुप्ता, अशोक साह, जवाहर मण्डल, जितेन्द्रप्रसाद साह, हरिलाल सिंह, सुकदेव मण्डल, बीरेन्द्र साह, हिरालाल मण्डल, रामनाथ मण्डल लगायतका नेताहरु महाधिवेशन प्रतिनिधि छानिएका छन् । 

क्षेत्र नम्बर २ मा निर्वाचन सम्पन्न भएको छ भने क्षेत्र नम्बर ४ मा राति अबेरसम्म मतगणना जारी छ । 

यसबाहेक क्षेत्र नम्बर १, ३ र ६ मा बुधबार निर्वाचन हुँदैछ । क्षेत्रीय नेतृत्व चयनकै क्रममा क्षेत्र नम्बर १ मा भने जिल्ला सभापति डिगबहादुर लिम्बू र क्षेत्रीय सभापतिका उम्मेदवार देवराज चाम्लिङ राईबीच मञ्चमै विवाद भएको छ । 

दुई नेताबीच भनाभन र धकेलाधकेल भएको भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । मंगलबार क्षेत्रीय अधिवेशनबाट भएको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा विवाद भएको थियो । 

क्षेत्रीय सभापतिका आकांक्षीमध्ये चाम्लिङ र अर्जुनकुमार तुम्रुक मात्रै मैदानमा बाँकी थिए । पाँच जना आकांक्षीमध्ये तीन जना पछि हटेपछि उनीहरू दुई जनाबीच प्रतिस्पर्धा तय भएको छ । 

सहमतिमार्फत तुम्रुकलाई सभापति बनाउने प्रयास भइरहेको थियो । त्यसक्रममा चाम्लिङ र तुम्रुकबीच सहमति भएको र चाम्लिङले समेत सहमतिपत्रमा हस्ताक्षर गरेको जिल्ला सभापति लिम्बूको दाबी छ ।

सहमति भइसकेपछि चाम्लिङले भने त्यसलाई स्वीकार नगरेको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिएका थिए । त्यसपछि सहमतिबारे प्रतिनिधिहरूलाई जानकारी गराउन मंगलबार भेला बोलाइएको थियो । 

भेलामा लेटाङ नगरपालिकाका पूर्वमेयर शंकर राईले कार्यक्रम सञ्चालन गरिरहेका थिए । चाम्लिङ बोल्नका लागि मञ्चमा पुगेपछि लिम्बूसँग विवाद भएको हो । 

‘बोल्न पाउँछु नि है’ भन्दै चाम्लिङले बोल्न थालेपछि मञ्चमा रहेका लिम्बूले उनलाई धकेलेको र त्यसपछि दुवैबीच भनाभन भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । मञ्च र दर्शकदीर्घामा रहेका नेताहरूले दुवैलाई छुट्याएपछि केही समय कार्यक्रम रोकिएको थियो । जिल्ला सभापति लिम्बूले भने आफूले चाम्लिङलाई मञ्च कब्जा गर्न खोजेपछि रोक्न खोजेको बताएका छन् ।

‘हामीले निर्वाचन समितिको अनुमतिमा भ्रमहरूबारे प्रतिनिधिहरूलाई जानकारी गराउन मञ्च तयार गरेका थियौँ,’ लिम्बूले भने, ‘तर समय र अनुमति नलिई जबरजस्ती मञ्च कब्जा गरेर अनुशासनहीन काम गर्न खोजिएपछि त्यसलाई रोकिएको हो ।’ उनका अनुसार पालिका सभापति र क्षेत्रीय नेताहरूबीच पटकपटक छलफल भएपछि तुम्रुकलाई सर्वसम्मत क्षेत्रीय सभापति बनाउने सहमति भएको थियो । 

‘देवराज र तुम्रुकबीचको विवाद मिलाएर सहमतिपत्रमा हस्ताक्षरसमेत भइसकेको थियो । हिजै बधाई पनि दिइसकेका थियौँ,’ लिम्बूले भने । सहमति भइसकेपछि पनि ‘कोठामा बन्धक बनाएर निर्णय गराइएको’ भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको उनको आरोप छ । 

चाम्लिङले भने आफूले सहमतिमा हस्ताक्षर गरे पनि त्यसलाई स्वीकार नगर्ने अवस्था किन आयो भन्नेबारे सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै आएका छन् । 

अब क्षेत्र नम्बर १ मा चाम्लिङ र तुम्रुकबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । चाम्लिङ महासमिति सदस्य हुन् भने तुम्रुक प्रदेश सदस्य तथा महासमिति सदस्य हुन् । 

यस क्षेत्रबाट प्रदेशका वर्तमान सहमहामन्त्री खड्ग फागो र वर्तमान जिल्ला सभापति लिम्बू प्रदेश सभापतिका दाबेदारका रूपमा अघि बढिरहेका छन् । 

त्यसैले क्षेत्रीय नेतृत्व चयनलाई प्रदेश नेतृत्वको समीकरणसँग समेत जोडेर हेरिएको कांग्रेस नेताहरू बताउँछन् । 

क्षेत्र नम्बर २ मा देवेन्द्रबहादुर बस्नेत, यज्ञ कार्की र महेश्वरप्रसाद राजवंशीबीच प्रतिस्पर्धा भएको छ । 

बस्नेत प्रदेशसभा ‘ख’ का वर्तमान सभापति हुन् । कार्की यसअघि क्षेत्रीय सभापतिको निर्वाचनमा नागेश्वरप्रसाद सिंहसँग पराजित भएका थिए । 

राजवंशी सुनवर्षी नगर सभापतिको निर्वाचनमा पराजित भएका थिए । मंगलबार क्षेत्र नम्बर २ मा निर्वाचन सम्पन्न भएको छ । 

क्षेत्र नम्बर ३ मा वर्तमान क्षेत्रीय सचिव राजेन्द्र अधिकारी र यसअघि क्षेत्रीय सभापति निर्वाचनमा गणेश खड्कासँग थोरै मतान्तरले पराजित भएका राजेन्द्र ढकालबीच प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नम्बर ३ मा पनि बुधबार निर्वाचन हुँदैछ । 

क्षेत्र नम्बर ४ मा मंगलबार मतदान भएको छ । वर्तमान क्षेत्रीय सभापति विनोद बस्नेत र विद्यानन्द माझीबीच प्रतिस्पर्धा छ । क्षेत्र नम्बर ६ मा बुधबार निर्वाचन हुँदैछ । 
चुमनारायण तबदार र बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर क्षेत्रीय सभापतिका उम्मेद्वार छन् । 

मोरङ क्षेत्र नम्बर ५ मा भने क्षेत्रीय नेतृत्व र महाधिवेशन प्रतिनिधि चयन सर्वसम्मत भएको छ । 

धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदार क्षेत्रीय सभापतिमा निर्विरोध चयन भएका छन् । 

क्षेत्रीय समितिका अन्य पदाधिकारी तथा सदस्य र महाधिवेशन प्रतिनिधि पनि सहमतिमै चयन भएका छन् ।

सुनसरीमा पनि प्रतिस्पर्धा र विवाद

मोरङसँगै सुनसरीमा पनि क्षेत्रीय अधिवेशनअन्तर्गत प्रतिस्पर्धा र विवाद देखिएको छ । 

सुनसरी क्षेत्र नम्बर १ मा धरानका पूर्वमेयर तिलक राई क्षेत्रीय सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । 

उनले विनोद आलेलाई पराजित गरेका हुन् । क्षेत्र नम्बर २ मा बुधबार निर्वाचन हुँदैछ । सभापतिका लागि राजन मेहता र सुदीप अधिकारी प्रतिस्पर्धामा छन् ।क्षेत्र नम्बर ३ मा दीपक ढकाल निर्वाचित भएका छन् । उनले कुमार थापालाई पराजित गरेका हुन् । 

क्षेत्र नम्बर ४ मा भने यो समाचार तयार पार्दासम्म निर्वाचन प्रक्रिया जारी छ । 

त्यहाँ पनि निर्वाचनका क्रममा विवाद भएको छ । 

View : 56

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved