Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

महिला उद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँग जोड्ने योजना

उद्‌घोष संवाददाता
१३ जेठ २०८३, बुधवार

Advertisement

विराटनगर । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाल सहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले ‘अरोरा भेन्चर्स’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ ।

महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ ।

यो घोषणा चिलीको स्यान्टियागोमा सम्पन्न अरोरा टेक अवार्ड २०२६  को समापनसँगै गरिएको हो । 

यस वर्षको अवार्डमा उदीयमान बजारबाट ३ हजार ४ सय आवेदन परेको थियो, जसमध्ये उत्कृष्ट १० महिला संस्थापक छनोट भएका छन् । सन् २०२१ मा भने उक्त अवार्डमा केवल ११६ आवेदन परेको थियो ।

सन् २०२६ को अरोरा टेक अवार्ड अन्तर्गत उत्कृष्ट १० महिला संस्थापकहरूमा नाइजेरियाकी अडेओला आयोओला–फामासी, पनामाकी एड्रियाना गोन्जालेज–टिजो, कोलम्बियाकी एन्जेला अकोस्टा–मोराडो, क्याटालिना इसाजा–इनमेटेक, एस्टेफानिया अबेलो–मुटा, चिलीकी मारिया कावास–डोमेस्टिकको, ब्राजिलकी मारियाना जुलियानी–ओन्कोएआई, कोलम्बियाकी मर्सिडिज बिडार्ट–क्विपु, मेक्सिकोकी प्याट्रिसिया फ्लोरेन्सिया–पिलौ तथा केन्याकी पेनी मुसेंगी–पेसिरा टेक्नोलोजिज रहेका छन् ।

कम्पनीका अनुसार ‘अरोरा भेन्चर्स’ प्रारम्भिक चरणका महिला नेतृत्व भएका स्टार्टअपहरूलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको लगानी कार्यक्रम हो । 

अरोरा टेक अवार्ड मार्फत पछिल्लो पाँच वर्षमा संकलन गरिएको तथ्यांक तथा अनुसन्धानका आधारमा कार्यक्रम तयार गरिएको जनाएको छ ।

सन् २०२१ यता आवेदन संख्या करिब ३० गुणाले बढेपछि अरोराले मध्यपूर्व तथा उत्तर अफ्रिका, अफ्रिका, ल्याटिन अमेरिका तथा उदीयमान एशियाली बजारहरूमा महिला नेतृत्व भएका धेरै व्यवसायहरूले अझै पनि पारम्परिक भेन्चर क्यापिटलबाट पर्याप्त अवसर नपाइरहेको निष्कर्ष निकालेको जनाएको छ ।

अरोराले गरेको पछिल्लो अध्ययनमा १२७ देशका ९ सयभन्दा बढी महिला संस्थापक सहभागी थिए । 

अध्ययनले महिला उद्यमीहरूले लगानी जुटाउने क्रममा अझ धेरै प्रमाण र उपलब्धि प्रस्तुत गर्नुपर्ने अवस्था रहेको तथा उनीहरूको क्षमतामाथि शंका गर्ने प्रवृत्ति अझै कायम रहेको देखाएको छ ।

अरोरा भेन्चर्सले प्रि–सिड तथा सिड चरणका व्यवसायहरूमा १ लाख ८० हजारदेखि २ लाख ५० हजार अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य राखेको जनाएको छ । 

कम्पनीका अनुसार अरोरा टेक अवार्डको नेटवर्कमार्फत उच्च सम्भावना भएका स्टार्टअपहरूलाई प्रारम्भिक चरणमै पहिचान गरी लगानी गरिने कम्पनीले जनाएको छ ।

View : 166

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved