विवादरहित बनेनन् रास्वपाको जिल्ला अधिवेशन
रास्वपा खोटाङको अधिवेशनमा विवादमा उत्रिंदै कार्यकर्ताहरु । तस्वीर : उद्घोष
विराटनगर । दुई तिहाई नजिकको सरकार चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै ६० जिल्लामा जिल्ला अधिवेशन गर्दा धेरै जिल्लाका अधिवेशन विवादित बनेको छ ।
अधिवेशनमा नेतृत्व चयनका क्रममा नाराबाजीदेखि गालीगलौच र हात हालाहालसम्मका दृष्य सार्वजनिक भएका छन् ।
रास्वपामा नेतृत्व चयन प्रक्रियालाई लिएर केही जिल्लामा विवाद चर्किएर मतदान समेत हुन सकेको छैन ।
नयाँ राजनीतिक संस्कार र वैकल्पिक राजनीतिक शक्तिको दाबी गर्दै आएको रास्वपामा अधिवेशनकै क्रममा देखिएको नेता कार्यकर्ताको असन्तुष्टि र टकराव सतहमा आइपुगेको छ ।
पुराना दलहरूको गुटबन्दी र आन्तरिक कलहको आलोचना गर्दै आएको शक्तिशाली सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जारी विभिन्न जिल्लाका अधिवेशनमा देखिएको चर्को विवादले पार्टीले उठाउँदै आएको राजनीतिक संस्कारको प्रश्नलाई जवाफ दिनुपर्ने ठाउँमै पु¥याइदिएको हो ।
आगामी असारको पहिलो साता चितवनमा रास्वपाले केन्द्रीय महाधिवेशन गर्दैछ । त्यसकै सम्मुखमा देशभर जिल्ला अधिवेशन चलिरहँदा धेरै जिल्लामा अधिवेशन विवादित बनेको हो ।
रास्वपाले आइतबारसम्म सवै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गर्ने घोषणा गरेको थियो । सोही अनुसार कोशी प्रदेशका १४ वटै जिल्लामा अधिवेशन चलिरहेको छ ।
विवादका बीच केही जिल्लामा अधिवेशन सकिएको छ । उदयपुर जिल्लामा आइतबारदेखि सुरु भएको नेतृत्व चयनको प्रक्रिया विवादकै कारण अवरुद्ध बनेको छ ।
सुनसरी र संखुवासभा जिल्लामा नाराबाजी र हात हालाहालको अवस्था श्रृजना भएको छ ।
जिल्ला अधिवेशनका क्रममा उम्मेदवार छनोट, प्रतिनिधि व्यवस्थापन, मतदान प्रक्रिया तथा नेतृत्व चयनका विषयमा विवाद उत्पन्न भएको हो ।
अधिवेशनमा सहभागी भएका नेता कार्यकर्ताबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएर विवादित भएपछि बल्लतल्ल नेतृत्व चयन भएको छ ।
नेतृत्वका आकांक्षी समूहबीच प्रतिस्पर्धा बढेसँगै एक–अर्कामाथि पक्षपात, प्रक्रियागत त्रुटि तथा संगठनभित्र सीमित व्यक्तिको प्रभाव बढेको आरोप लगाउने गरेको पाइएको छ । अधिवेशनस्थलमै चर्को विवाद भएपछि कतिपय स्थानमा निर्वाचन प्रक्रिया स्थगित गर्नुपर्ने अवस्था समेत आएको हो ।
छोटो समयमै देशव्यापी शक्ति आर्जन गरेको रास्वपाभित्र आन्तरिक लोकतन्त्रको अभ्यास र नेतृत्व व्यवस्थापनमा अनुभवको कमी देखिएको टीकाटिप्पणी हुन थालेको छ । असन्तुष्ट पक्षहरूले विवादलाई समाधान गर्नेभन्दा केन्द्रीय समितिको नाममा बलजफ्ती नेतृत्व चयन भइरहेको गुनासो गरेका छन् ।
त्यसका वावजुद अधिवेशनबाट नेतृत्व चयनको प्रक्रियामा देखिएका विवादलाई रास्वपाले पनि ‘लोकतान्त्रिक अभ्यास’ कै रुपमा व्याख्या गर्न सुरु गरेको छ ।
रास्वपाले कोशी प्रदेशका १४ मध्ये १३ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ । नेतृत्व चयनको विवादका कारण हुन नसकेको उदयपुरको अधिवेशन सोमबार गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।
रास्वपा कोशी प्रदेश समितिका अध्यक्ष सरिन तामाङ र महामन्त्री लालबिक्रम थापाकै जिल्ला सुनसरीमा अधिवेशनका क्रममा दुई पक्षबीच हात हालाहालसम्मको अवस्था बन्यो ।
खोटाङमा खसेको मतभन्दा बढी मतपत्र भेटिएको भन्दै मतगणनामा नेता कार्यकर्ताबीचमै विवाद देखियो । नेतृत्व चयनको प्रक्रियामा गोपनियता नभएको र तयारीमा लापरवाही गरेको भन्दै झापामा पनि अधिवेशन विवादित बन्यो ।
कोशी प्रदेशका १३ जिल्लामा भएको अधिवेशनबाट विवादका बीच सभापतिसहित जिल्ला नेतृत्व चयन भएका छन् ।
मोरङमा निर्वाचन प्रक्रियाबाट भरत कँडेल सभापतिमा निर्वाचित भएका छन् । विवादका बीच सुनसरीमा सागर ढकाल, झापामा ओम भण्डारी सभापतिमा चयन भएका छन् ।
त्यसैगरी, ताप्लेजुङमा राजनकुमार गुरुङ, तेह्रथुममा सुमन खत्री, संखुवासभामा भक्तनारायण श्रेष्ठ, खोटाङमा मुकुन्दकृष्ण थापा, सोलुखुम्बुमा नारायणकाजी कार्की सभापति चयन भए ।
रास्वपा पाँचथरमा प्रकाश गुरुङ, धनकुटामा भुवन थापा, भोजपुरमा ख्यामबहादुर भुजेल, ओखलढुंगामा कृष्णबहादुर थापा, इलाममा दिनेश महत सभापति चयन भएका छन् ।
चुनिएका जिल्ला अध्यक्षहरू अधिकांश पार्टी सभापति रवि लामिछाने पक्षका रहेको जनाइएको छ ।
जिल्ला अधिवेशन सकेर बुधबार मोरङको सुन्दरहरैंचामा रास्वपाले प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ ।
View : 94
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved