सुन्दरहरैंचा । लेखक तथा अनुसन्धाता केशु विरहीद्वारा अग्रजहरूका विषयमा तयार पारिएको कृति ‘जीवनकथा अग्रजका’ प्रकाशित भएको छ ।
कोशी साहित्य–कला परिषद् नेपालको आयोजनामा हालै सुकुना बहुमुखी क्याम्पसको सभाहलमा एक समारोहमा सो कृतिको सार्वजनिक गरिएको हो ।
कृतिमा बेलबारी र सुन्दरहरैंचाका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको विषयमा अध्ययन गरिएको छ ।
सांसद प्रेमलाल चौधरीको प्रमुख आतिथ्यतमा भएकोे कार्यक्रममा कृतिको समीक्षा प्रा.डा. भीम खतिवडा र लीला अनमोलले गरेका थिए ।
समीक्षक खतिवडाले खोजअनुसन्धान गरेर अग्रजहरूका बारेमा पुस्तक लेखिनु भनेको इतिहासलाई जीवन्त राख्ने काम भएको बताए ।
नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्षसमेत रहेका खतिवडाले सो कृतिले पुराना र नयाँ पुस्ताबीचको खाडललाई पुर्ने आशा गरे ।
उद्योगपति भोलेश्वर दुलालले इतिहासको रक्षा गर्नु सबैको कर्तव्य रहेको बताउँदै ऐतिहासिक व्यक्तिहरूको अध्ययन गरेर पुस्तक प्रकाशन गरेकामा कृतिकार विरहीलाई बधाई दिए ।
साथै उनले बेलबारी र सुन्दरहरैंचाको सामाजिक धरातल बुझ्न यो कृति सन्दर्भ सामग्री बन्ने धारणा राखे ।
कृतिकार विरहीले अनुसन्धान तथा प्रकाशन कार्यसम्म आइपुग्दा आइपरेका समस्या र चुनौतीका बारेमा बताउँदै अग्रजलाई सम्मान तथा अग्रजका अनुभवलाई नवपुस्तामा हस्तान्तरण गर्ने अभियानका क्रममा यो पुस्तक लेखेको बताए ।
दुई वर्ष लगाएर लेखिएको कृतिमार्फत आफूले राखेका तीनवटामध्ये पहिलो उद्देश्य ‘अग्रजका अनुभवलाई बाहिर ल्याउने काम’ पूरा गरे पनि ‘समाजमा उनीहरूका बारेमा चर्चा चलाउने’ र ‘अनुसन्धान अक्षयकोष वृद्धि गर्ने’ उद्देश्य पूरा गर्ने अभियानमा सबैको साथ खोजेको बताए ।
View : 151
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved