घर निर्माण प्रदर्शनी २०८२
उद्योग संगठन मोरङको आयोजनामा आज बिहीबारदेखि विराटनगरमा पहिलो पटक ‘घर निर्माण प्रदर्शनी २०८२’ सुरु हुँदैछ । घर निर्माणसँग सम्बन्धित विविध क्षेत्रका उद्योग, उद्योगी तथा उत्पादनलाई एकै थलोमा प्रस्तुत गर्दै आम नागरिकलाई घर निर्माण तथा मर्मतसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमार्फत घर निर्माणका नवीन प्रविधि, सामग्री, डिजाइन तथा सेवाबारे सर्वसाधरणले प्रत्यक्ष रूपमा जानकारी लिन सक्ने बताइएको छ । आयोजक उद्योग संगठन मोरङले आफ्ना सदस्य उद्योगहरूबीचको सम्बन्ध अझ सुदृढ बनाउने अवसरका रूपमा पनि यस प्रदर्शनीलाई लिएको छ । संगठनका अध्यक्ष नन्दकिशोर राठी यस्तो कार्यक्रमले उद्योगीहरूबीच सहकार्य र समन्वय बढाउन मद्दत पुग्ने बताउँछन् । उनी यो प्रदर्शनी घर हुने र नहुने सबैका लागि भएको बताउँछन् । यसै सन्दर्भमा अध्यक्ष राठीसँग गरिएको कुराकानी :
हामीले प्रदर्शनीको तयारी उद्देश्यअनुरुप नै गरिरहेका छौं । तयारीका हिसाबले हामी एक प्रकारले सफल भएका छौं । यसका लागि कार्यकारिणी समितिका पदाधिकारीहरू, सदस्यहरू, सचिवालयका कर्मचारीहरूले बढो मेहनत गर्नुभएको छ । हुन त कुनै कुरा पूर्ण हुँदैन । केही न केही अपुग भइहाल्छ । जे जति काम भइरहेको छ, त्यसमा भने हामी सन्तुष्ट छौं ।
सबै स्टलहरू बुकिङकर्ता उद्योगी व्यवसायीलाई हस्तान्तरण भई स्टल तयार गर्ने काम सकिएको छ । उहाँहरूले आफ्नो स्टल सजाउने तथा सामग्री व्यवस्थापन गर्ने काम उत्साहका साथ गर्नुभएको छ । सानोतिनो काम बाहेक प्रदर्शनी स्थल अवलोकनकर्ताका लागि पूर्ण रुपमा तयार भएको छ । बिहीबार दिउँसो २ बजे प्रदर्शनीको औपचारिक उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट हुनेछ ।
हो नि, हामीले केही ‘थिमेटिक सेसनहरू’ मा नयाँ सेसनहरू थपेका छौं । सुरुमा केही सेसनका लागि आवश्यक विज्ञहरूको अभाव थियो । जसका कारण ती सेसनहरू अधुरा जस्ता थिए । तर अहिले हामीले सम्बन्धित क्षेत्रका विशेषज्ञहरूलाई ल्याएर ती सेसनहरूलाई पूर्णता दिने प्रयास गरेका छौं । अब सबै कार्यक्रमहरू तय गरिएको तालिकाअनुसार सञ्चालन हुने छन् ।
यी सेसनहरू प्राविधिक र सैद्धान्तिक विषयमा केन्द्रित हुन्छन् । हामीले विशेषगरी अनुभवी र राम्रोसँग विषयवस्तुलाई प्रस्तुत गर्न सक्ने व्यक्तिहरू छनोट गरेका छौं । किनभने एउटै विषयलाई कसरी सरल र प्रभावकारी ढंगले बुझाउने भन्ने कुरा वक्ताको अनुभवमा निर्भर हुन्छ । त्यसैले हामीले विभिन्न विकल्पमध्ये उत्कृष्ट व्यक्तिहरूलाई चयन गरेका छौं । जसले सहभागीलाई सहज रूपमा ज्ञान दिन सकून् भन्ने लागेको छ ।
सहभागिता विभिन्न क्षेत्रबाट हुनुपर्छ । हरेक विषयसँग सम्बन्धित व्यक्तिहरूको आफ्नै चासो हुन्छ नै । जस्तैः कसैलाई वास्तुशास्त्रमा चासो हुन्छ भने कसैलाई इन्जिनियरिङ वा आर्किटेक्चरमा । हामीले इन्जिनियरिङ कलेजहरूलाई पनि आग्रह गरेका छौं । त्यहाँ आफ्ना विद्यार्थीहरूलाई सम्बन्धित सेसनमा सहभागी गराएर उनीहरूले नयाँ ज्ञान र क्षमता विकास गर्ने छन् । विद्यार्थीहरूलाई एकदमै राम्रो सिक्ने अवसर मिल्नेछ । जसलाई जुन विषयमा रुचि छ, त्यहीअनुसार सहभागिता रहनेछ ।
प्रदर्शनीस्थलमै प्रत्यक्ष बिक्री त हुँदैन । तर यहाँ घर निर्माणसँग सम्बन्धित सबै प्रकारका सामग्रीहरू, जस्तैः इलेक्ट्रिकल, स्यानिटरी, निर्माण उपकरण आदि अनेकौं कुरा एकै ठाउँमा अवलोकन गर्न पाइने छ । अवलोकनकर्ताहरूले सामग्रीको विवरण, गुणस्तर र मूल्यबारे जानकारी लिन सक्ने छन् । साथै, सम्बन्धित कम्पनीसँग सम्पर्क गरेर अर्डर दिन सक्ने छन् । डेलिभरी पछि उनीहरूको आफ्नै आउटलेटबाट हुने व्यवस्था गर्न सक्ने छन् । यो प्रदर्शनी एक प्रकारको ‘सोकेस’ हो जहाँ जानकारी आदान–प्रदान र उत्पादन र उपभोक्ताबीच सम्पर्क विस्तारमा जोड दिइएको छ ।
यो ‘बीटुबी’ र ‘बीटुसी’ दुवै प्रकारको प्लेटफर्म हो । एउटा उद्योगको उत्पादन अर्को उद्योगका लागि आवश्यक पर्ने सामग्री हुन सक्छ । केबल वा तार उत्पादन गर्ने उद्योगलाई अन्य उद्योगसँग सहकार्य आवश्यक हुन्छ । यसले गर्दा यस प्रकारको प्रदर्शनीले उद्योग–उद्योगबीच सम्बन्ध विस्तार हुन्छ । साथै, उपभोक्ताले पनि प्रत्यक्ष रूपमा जानकारी लिन र सम्पर्क गर्न पाउँछन्, जसले बीटु–सी पक्षलाई निकै बलियो बनाउ“छ ।
अवश्य पनि सक्ने रहेछ भन्ने विश्वास लागेको छ । यो हाम्रो लागि एउटा परीक्षण जस्तै मात्रै होइन, यो राम्रो सुरुवात भएको महसुस गरेका छौं । यो प्रदर्शनीको सफलताले हामी भविष्यमा अन्य क्षेत्रगत प्रदर्शनीहरू जस्तैः खाद्यान्न, जुत्ता–चप्पल, प्लास्टिक लगायतको अलग–अलग प्रदर्शनी आयोजना गर्ने स्थानमा पुग्नेछौं ।
सबैभन्दा राम्रो पक्ष भन्नुपर्दा अहिलेको अवस्थामा सबै स्टल भरिएका छन् । दर्शकको चासो पनि बढिरहेको महसुस गरेका छौं । त्यसैले हामी यसको आगामी सफलताप्रति समेत आशावादी छौं ।
यसले उद्योगी–व्यवसायीहरूबीचको सम्बन्धलाई थप मजबुत बनाएको महसुस गरेका छौं । उद्योगहरू एक–अर्कासँग अन्तरसम्बन्धित हुन्छन् । जसलाई हामी ‘इण्डिष्ट्रियल इकोसिस्टम’ भन्न सक्छौं । यस्तो अवसरले उद्योगीहरूबीच बलियो सहकार्य, नेटवर्किङ र व्यापारिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।
सबैभन्दा ठूलो चुनौती भनेको यो आर्थिक तथा औद्योगिक क्षेत्रमा स्थायी प्रदर्शनी स्थलको नहुनु हो । जुन कुराका लागि हामीले २० औं वर्षदेखि कराइरहेकै छौं । बोलिरहेका छौं ।
विराटनगरजस्तो औद्योगिक शहरमा अन्तर्राष्ट्रिय स्तरको स्थायी प्रदर्शनी स्थल हुनुपर्ने हो । तर अहिले हामीले हरेक वर्ष भाडामा स्थान लिएर अस्थायी संरचना बनाएर कार्यक्रम गर्नुपरेको छ । जसले हाम्रो लागत अर्कैतिर बढाइरहेको छ । हामीले लामो समयदेखि सरकारका विभिन्न तहलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएका छौं, तर अझै ठोस पहल भएको छैन ।
यो पूर्ण रूपमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी हो । मुख्य कुरा घर निर्माणसँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाउँमा पाइने भएकाले उपभोक्ता र व्यवसायी दुवैका लागि यो उपयोगी हुनुपर्छ । यहाँ कुनै मनोरञ्जनात्मक कार्यक्रम चाहिँ राखिएको छैन । प्रवेश निःशुल्क गरिएको छ । त्यसैले सबैलाई सहभागी भई लाभ लिन आग्रह गर्दछौं ।
View : 208
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved