विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० स्थानमा विभिन्न सामाजिक कार्य गरी ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको छ ।
लघुवित्तको मातृ संस्था जीवन विकास समाजको स्थापना दिवसको अवसरमा सोमबार ‘जीवन विकासको आह्वान, देश विकासमा श्रमदान’ भन्ने मूल नाराका साथ स्वयंसेवक दिवस मनाइएको हो ।
कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमै पुगेर वित्तीय सेवा प्रदान गर्दै आएको जीवन विकासका १६० वटा शाखा कार्यालय छन् । सबै शाखाले आ–आफ्नो कार्यक्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम आयोजना गरेको लघुवित्तका प्रवक्ता सुदीपकुमार मण्डलले जानकारी दिए ।
स्वयंसेवक दिवसका अवसरमा लघुवित्तले श्रमदानमार्फत १६ अतिविपन्न परिवारका घर पुनर्निर्माण गरेको छ । घर बनाउन नसक्ने अवस्थामा रहेका अतिविपन्न नागरिकका घर शाखा कार्यालयको अग्रसरतामा पुनर्निर्माण गरिएको हो ।
त्यस्तै, ३६ शाखाले विद्यालय सरसफाइ तथा खेलकुद कार्यक्रम, २६ शाखाले मन्दिर सरसफाइ, डस्टबिन वितरण तथा वृक्षारोपण, २३ शाखाले विद्यालय सरसफाइ तथा वृक्षारोपण र १२ शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् ।
यसैगरी १९ स्थानमा मन्दिर सरसफाइ तथा डस्टबिन वितरण, पाँच शाखाबाट बजार सरसफाइ तथा डस्टबिन वितरण र पाँच शाखाबाट बजार सरसफाइ तथा वृक्षारोपण गरिएको छ ।
चार शाखाले आफ्नो कार्यक्षेत्रका चार अतिविपन्न परिवारलाई सहयोग गरेका छन् भने दुई स्थानमा चौतारी निर्माण गरिएको छ ।
शाखा कार्यालयहरूले सार्वजनिक भवन तथा खेलमैदान सरसफाइ, वृक्षारोपण, वृद्धाश्रमलाई खाद्यान्न सहयोग, इको भिलेजमा वृक्षारोपण तथा एक स्थानमा प्रहरी कार्यालय सरसफाइजस्ता कार्यक्रमसमेत सञ्चालन गरेका छन् ।
जीवन विकासले आयोजना गरेका सामाजिक कार्यक्रममा जनप्रतिनिधि, थ्री जिरो क्लब, नवविहानी समूह, लघुवित्तका कर्मचारी, स्थानीय नागरिक समाजका अगुवा तथा लघुवित्तका सदस्यहरूको सहभागिता रहेको थियो ।
जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलका अनुसार २०७२ सालमा आयोजित सदस्य सम्मेलनबाट श्रमदानमार्फत स्वयंसेवक दिवस मनाउने घोषणा गरिएको थियो । त्यसयता समुदायमा श्रमदानको भावना विकास गर्ने उद्देश्यले २०७३ सालदेखि निरन्तर रूपमा स्वयंसेवक दिवस मनाउँदै आइएको छ ।
View : 74
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved