Biratnagar, Morang, Nepal
३१ जेठ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

सीप उत्सव २०८३ आज, एक हजार विद्यार्थी सहभागी हुँदै

उद्‌घोष संवाददाता
३१ जेठ २०८३, आइतवार

Advertisement

विराटनगर । उद्योग संगठन मोरङको आयोजना तथा स्विस सरकारको आर्थिक सहयोगमा सञ्चालित इन्स्योर–हेल्भेटास परियोजनाको सहकार्यमा ‘सीप उत्सव २०८३’ को दोस्रो संस्करण आज विराटनगर–२, तीनपैनीस्थित उद्योग संगठन मोरङ परिसरमा आयोजना हुँदैछ ।

‘उद्योगका लागि सीप’ नारासहित आयोजना हुन लागेको उत्सव विद्यार्थी लक्षित कार्यक्रम हो ।

आयोजकका अनुसार उत्सवले विद्यार्थीहरूलाई सीप विकास, करियर अन्वेषण तथा उद्योगसँग प्रत्यक्ष रूपमा जोड्ने अवसर प्रदान गर्नेछ ।

नेपालमा उद्योग क्षेत्रले आवश्यकताअनुसार दक्ष जनशक्ति अभाव झेलिरहेका बेला शैक्षिक संस्थाबाट उत्पादित जनशक्ति र उद्योगको मागबीच तालमेल नदेखिएको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको हो । 

उद्योग संगठन मोरङले उद्योग र शैक्षिक क्षेत्रबीच सहकार्य विस्तार गर्दै स्थानीयस्तरमै उद्योगमैत्री जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित अप्रेन्टिसीप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस वर्षको उत्सव ‘उद्योगका लागि सीप, भविष्यका लागि करियर’ मूल विषयवस्तुमा केन्द्रित रहेको छ । 

कार्यक्रम बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म गरी दुई चरणमा सञ्चालन हुनेछ । 

प्रत्येक चरणमा ५ सय विद्यार्थी सहभागी गराइने लक्ष्य राखिएको छ । यसका लागि २५ वटा विद्यालयलाई विशेष निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।

उत्सवमा सहभागी विद्यार्थीलाई प्रवेशद्वारमै स्वागत गरी ‘सीप उत्सव–मेरो सिकाइ यात्रा’ पुस्तक प्रदान गरिनेछ । 

उक्त पुस्तकमा विद्यार्थीहरूले विभिन्न जोनमा प्राप्त सिकाइ, अनुभव र अवलोकन टिपोट गर्न सक्नेछन् । यसले उनीहरूलाई करियर सम्बन्धी ज्ञान विस्तार गर्न र भविष्यको लक्ष्य निर्धारणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

१० विशेष जोनमा विविध गतिविधि

उत्सवमा १० वटा फरक–फरक जोन रहनेछन् । पहिलो जोनमा दर्ता तथा परिचय गराइनेछ भने दोस्रो जोनमा प्रेरणादायी वक्ताहरूले सीपमुखी भविष्यका विषयमा अनुभव बाँड्ने छन् ।

तेस्रो जोनमा डिजिटल करियर परीक्षणमार्फत विद्यार्थीहरूले आफ्नो रुचि र क्षमताअनुसार सम्भावित करियर पहिचान गर्न सक्ने छन् । 

चौथो जोनमा विशेषज्ञ करियर मेन्टरहरूले समूहगत परामर्श प्रदान गर्ने छन् ।

पाचौं ‘करियर ट्री’ जोनमा विद्यार्थीहरूले भविष्यमा अपनाउन चाहेको पेशा लेखेर करियर वृक्षमा टाँस्ने छन् । 

छैटौं ‘मेरो देश, मेरै उत्पादन’ जोनमा स्थानीय उद्योगका उत्पादनहरूको प्रदर्शनी, उद्योगभित्र उपलब्ध रोजगारी तथा करियर अवसरबारे जानकारी दिइनेछ । 

साथै विद्यार्थीहरूले डिजिटल माध्यमबाट भविष्यका रोजगारी अवसरका लागि नाम दर्ता गर्न सक्ने छन् ।

सातौं जोनमा प्लम्बिङ, इलेक्ट्रिकल, हरित सीप, सीएनसी, थ्रीडी प्रिन्टिङ, औद्योगिक अटोमेसन तथा सीसीटीभी प्रविधिसम्बन्धी प्रत्यक्ष अभ्यास र प्रदर्शन गरिनेछ । 

आठौं जोनमा होटल व्यवस्थापन, सूचना प्रविधि तथा अटोमोबाइल क्षेत्रका विद्यार्थीबीच सीपमा आधारित प्रतिस्पर्धा हुनेछ ।

यसअघि विभिन्न प्राविधिक शिक्षालयहरूमा सम्पन्न विद्यालयस्तरीय प्रतियोगिताबाट छनोट भएका १८ जना प्रशिक्षार्थीबीच अन्तिम प्रतिस्पर्धा हुने र ‘स्किल आइकन २०८३’ चयन गरिने आयोजकले जनाएको छ ।

नवौं जोनमा विद्यार्थीहरूले आफ्ना स्टार्टअप तथा नवप्रवर्तनका अवधारणा प्रस्तुत गर्नेछन् भने दशौं जोनमा सहभागीहरूले कार्यक्रमबारे प्रतिक्रिया, सुझाव तथा सिकाइ अनुभव साझा गर्ने व्यवस्था मिलाइएको छ ।

आयोजकका अनुसार उत्सवले विद्यार्थीहरूलाई सीप विकासदेखि करियर निर्माणसम्मको सम्पूर्ण यात्राको अनुभव दिलाउँदै रोजगार, उद्यमशीलता तथा नवप्रवर्तनतर्फ प्रेरित गर्ने प्रभावकारी मञ्चका रूपमा काम गर्नेछ ।

View : 59

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved