सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसको २०औँ क्याम्पस सभा (सिनेट) सम्पन्न भएको छ ।
सिनेट बैठकले आर्थिक वर्ष २०८३-०८४ का लागि २५ करोड ८५ लाख ३६ हजार ३ सय ४० रुपैयाँको बजेट पारित गरेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको बैठकमा क्याम्पसको प्रगति, नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन र आगामी योजनालगायत विषयमा छलफल तथा निर्णय गरिएको थियो ।
सिनेटको पहिलो चरणमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा १३८ जना जेहेन्दार विद्यार्थीलाई ८ लाख ६१ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो ।
क्याम्पसका अनुसार अक्षय कोषको ब्याज, विभिन्न दाता, संघसंस्था, वित्तीय संस्था तथा क्याम्पस कोषबाट प्राप्त रकम छात्रवृत्तिमा खर्च गरिएको हो ।
सहायक क्याम्पस प्रमुख बलराम पोखरेलका अनुसार चालु आर्थिक वर्षमा विद्यार्थीलाई कुल ५६ लाख ९९ हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गर्ने योजना रहेको छ । विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्राडा खड्गबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको सभाको उद्घाटन सत्रमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको प्रगति प्रतिवेदन, आगामी नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं, जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख तथा पब्लिक क्याम्पस संघका निवर्तमान केन्द्रीय अध्यक्ष शिवराज सञ्जेललगायत विभिन्न क्याम्पसका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
सोही अवसरमा विश्वविद्यालय अनुदान आयोगको अनुदानमा निर्माण गरिएको सुकुना क्याम्पसको १४ कोठे भवन उद्घाटन गरिएको थियो ।
सिनेटका क्रममा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष देवेन्द्रकुमार मास्के, पूर्वउपाध्यक्ष उद्धवप्रसाद रिजाल, पूर्वक्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ, पूर्वविद्यार्थी डा. नेत्रबहादुर कार्की तथा सामुदायिक क्याम्पसमा उत्कृष्ट नतिजा हासिल गर्ने बीएड विज्ञानकी छात्रा जीविका सापकोटालाई सम्मान गरिएको थियो ।
उद्घाटन सत्रपछि भएको बन्दसत्रले क्याम्पसको प्रगति प्रतिवेदन, आन्तरिक लेखा समितिको प्रतिवेदन, नीति तथा कार्यक्रम र २५ करोड ८५ लाख ३६ हजार ३ सय ४० रुपैयाँको बजेट पारित गरेको हो ।
View : 24
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved