विराटनगर । विराटनगरको एकीकृत जाँच चौकी (आइसीपी) लिंक रोडमा मंगलबार साँझ भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलमा सवार बाबु-छोरीको मृत्यु भएको छ।
तीव्र गतिमा रहेको सवारी साधनको ठक्करबाट विराटनगर–१४ का एकै परिवारका दुई सदस्यले ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट आइसीपीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको भारतीय ग्यास बुलेटले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा विराटनगर–१४ जतुवा निवासी अन्दाजी ४२ वर्षीय शिवचरण ठाकुर (केही स्रोतमा गिरिजानन्द) र उनकी १४ वर्षीया छोरी गरिमा ठाकुर गम्भीर घाइते भएका थिए।
दुर्घटना लगतै आक्रोशित स्थानीय बासिन्दाले ठक्कर दिने ग्यास बुलेटमा तोडफोडको प्रयास गर्दै आईसीपी मोडमा केहीबेर चक्काजाम र प्रदर्शन गरेका थिए।
प्रदर्शनका कारण सो क्षेत्रको यातायात केही समय प्रभावित बनेको थियो।
स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ठक्कर दिने भारतीय बुलेट र त्यसका चालक रामलाल सहनीलाई नियन्त्रणमा लिएको छ।
हाल चालक र सवारी साधन दुवैलाई प्रहरी हिरासतमा राखी घटनाबारे थप कानुनी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
विराटनगरको औद्योगिक र सीमावर्ती क्षेत्र जोड्ने यस सडकखण्डमा मालवाहक सवारी साधनहरूको अनियन्त्रित गतिका कारण पछिल्लो समय दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीयले गम्भीर चिन्ता र आक्रोश व्यक्त गरेका छन् ।
View : 142
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved