Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

इलाम–२ उपनिर्वाचन

२०७९ को निर्वाचनभन्दा पाँच प्रतिशत बढि खस्यो मत

उद्घोष सम्वाददाता
१५ वैशाख २०८१, शनिवार

विराटनगर । इलाम–२ को उपनिर्वाचनको मतदान सम्पन्न हुँदा झण्डै ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले दाबी गरेको छ । शनिबार बेलुका ५ बजे मतदान सम्पन्न भएको हो ।

इलाम–२ मा यो उपनिर्वाचनमा १ लाख १५ हजार ८८९ मतदाता कायम भएकोमा ६९ हजार २८७ मत खसेको जनाइएको छ । सदरमुकाममा अहिले मत पेटिका संकलन भइरहेको निर्वाचन अधिकृतले बताए । 

२०७८ मंसिरमा सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ५३ दशमलव ९८ प्रतिशत मत खसेको थियो । त्यतिबेला १ लाख ९ हजार ५३५ मतदाता रहेका थिए । 

यस पटक ५९ दशमलव ७८ प्रतिशत मत खसेको जनाइएको छ । जुन मत अघिल्लो निर्वाचनको तुलनामा ५ प्रतिशतले बढी हो ।

नयाँ मतदाता समेत थपिएका कारण अघिल्लो निर्वाचनभन्दा १० हजार १५१ मत बढि खसेको प्रारम्भिक जानकारी आएको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान सम्पन्न भएको जानकारी दिए । 

इलाम–२ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । गत निर्वाचनमा भने यस क्षेत्रमा दल र स्वतन्त्र गरी १४ जनामात्रै प्रतिष्पर्धामा उत्रिएका थिए ।

इलाम–२ मा यसपटक एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । 

अघिल्लो निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका संविधान सभा अध्यक्ष सुवाशचन्द्र नेम्बाङले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए । 
नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । निर्वाचित नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

View : 67

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved