Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस संसदीय दल

विशेष महाधिवेशन स्वीकार्ने शर्तमा आङ्देम्बे नेता चयन

उद्‌घोष संवाददाता
१५ वैशाख २०८३, मङ्गलवार

विराटनगर । नेपाली कांग्रेसभित्र लामो समयदेखि शेरबहादुर देउवाका खास मान्छेको चिनारी बनाएका पाँचथरका नेता भीष्मराज आङ्देम्बे अन्ततः सर्वसम्मत रुपमा पार्टीको संसदीय दलको नेता चुनिएका छन् । 

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको स्पिरिटअनुसार अघि बढ्ने प्रतिबद्धता प्रकट गरेपछि सभापति थापा उनलाई दलको नेता बनाउन राजी भएका हुन् । 

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपाले पूर्वका राई–लिम्बू समुदायबाट कसैलाई पनि समानुपातिक सूचीमा नराखेको भनेर आलोचना भइरहँदा कांग्रेसले भने लिम्बू समुदायका पुराना नेता भीष्मराजलाई दलको नेता बनाएको छ । 

देउवा समूहका भए पनि उनी पछिल्लो समय उक्त समूहबाट टाढिएका नेता हुन् । उनले प्रतिनिधिसभाको पहिलो बैठकमै कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापामा नेतृत्व आइपुगेको भन्दै कांग्रेस परिवर्तनतिर उन्मुख भएको भनाइ राखेका थिए । 

सभापति थापा मोहन आचार्यलाई दल नेता बनाउने तयारीमा थिए  भने उपसभापति विश्वप्रकाश शर्मा भीष्मराजलाई बनाउन चाहन्थे । यी दुई नेताबीचको यो धारणाबीच अर्जुननरसिंह केसी पनि आकांक्षी थिए । 

नाताले गगनका ससुरा उनलाई बनाउँदा गलत सन्देश जाने भन्दै थापा र शर्मा यसमा तयार नरहेको कांग्रेस नेताहरू बताउँछन् । 

‘विशेष महाधिवेशनको म्यान्डेटअनुसार अघि बढ्ने उहाँको प्रतिबद्धताले दल नेता बनाउन हामी तयार भएका हौं,’ कांग्रेसका एक नेताले भने ।

सोमबार सिंहदरबारमा आयोजित संसदीय दलको बैठकले आङ्देम्बेलाई दल नेता बनाउने निर्णय गरेको थियो । उक्त बैठकमा पार्टी सभापति गगन थापाले उनलाई औपचारिक प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका आङ्देम्बे नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री हुन् ।  उनी ६१ वर्षका छन् र लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेका छन् ।

२०७८ मंसिरमा काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री पद जितेका उनी विद्यार्थी तथा युवा संगठन हुँदै पार्टीको केन्द्रीय नेतृत्वसम्म पुगेका नेता हुन् । आङ्देम्बेको राजनीतिक पृष्ठभूमि निकै लामो छ । 

उनी पाँचथर जिल्लाको राजनीतिक परिवारमा जन्मिएका र हुर्केका हुन् । परिवारको आरामदायी जीवनशैली छाडेर बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय राजनीति गरेको इतिहास उनको छ । 

पाँचथर कांग्रेसका जिल्ला सभापति रूपनारायण जवेगुका अनुसार आङ्देम्बे परिवार पूर्वी नेपालमा खासगरी पाँचथर क्षेत्रमा प्रभावशाली मानिन्छ । यो परिवारबाट धेरै अगुवा राजनीतिक व्यक्तित्वहरू निस्किएका छन् । 

उनका माहिला बुबा प्रेमराज आङ्देम्बे नेपाली कांग्रेसका सुरुवातकालकै नेता थिए र बीपी कोइरालाका घनिष्ठ सहयोगी पनि । 

२०१६ सालमा बीपी नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उनी पहिले ग्रामीण विकास मन्त्री र पछि खाद्य तथा कृषि राज्यमन्त्री बनेका थिए । 

भीष्मराजका जेठा बुबा देउमान आङ्देम्बे २०१२ सालमा टंकप्रसाद आचार्यको सरकारमा नेपालकै पहिलो लिम्बू समुदायका मन्त्री बन्न सफल भएका थिए । उनका बुबा घनेन्द्रराज आङ्देम्बे स्थानीय तहमा प्रभावशाली नेता थिए । 

उनी तत्कालीन नवमी डाँडा गाविस अध्यक्ष र अम्लाबुङ गाउँ पञ्चायतका प्रधानपञ्च भएका थिए । उनी गत चैतमा ८४ वर्षको उमेरमा बितेका थिए । 

घनेन्द्रराजका दुई छोराहरू भीष्मराज र रामराज दुवै राजनीतिमा सक्रिय छन् । रामराज हाल पाँचथर जिल्ला समन्वय समितिका प्रमुख छन् ।

परिवारको यो राजनीतिक विरासतलाई भीष्मराजले नेपाली कांग्रेसमार्फत निरन्तरता दिइरहेका छन् । 

भीष्मराज पाँचथरबाट २०५६, २०७०, २०७४ र २०७९ मा प्रत्यक्ष निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मात्र जित हासिल गर्न सफल भएका उनी यस पटक समानुपातिक सूचीबाट संसद् प्रवेश गरेका हुन् ।

View : 134

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved