विराटनगर । केही दिनयता दैनिक रूपमा भइरहेको विद्युत ट्रिपिङ र भोल्टेज तलमाथिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोर तथा विराटनगर महानगर क्षेत्रभित्र उद्योग व्यवसाय तथा सर्वसाधारण नागरिक समेत गम्भीर समस्यामा परेका छन् ।
यस्तो समस्याका कारण औद्योगिक करिडोरमा रहेका उद्योगहरू मात्रै नभई सर्वसाधारण समेत ठूलो समस्यामा परेको भन्दै उद्योग संगठनले सरकारको ध्यानाकर्षण गराएको छ ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र विराटनगरस्थित प्राधिकरणको कोशी प्रदेश प्रादेशिक कार्यालयलाई पत्राचार गरिएको बताए ।
उनले बारम्बार भइरहेको ‘ट्रिपिङ’ र ‘फल्क्च्यूएशन’ अर्थात भोल्टेज तलमाथि भइरहने समस्याको तत्काल समाधान गर्न, आपूर्ति प्रणालीलाई भरपर्दो, नियमित र गुणस्तरीय बनाउन प्राविधिक तथा व्यवस्थापकीय सुधार गर्दै दीर्घकालीन समाधान गर्न आग्रह गरिएको जानकारी दिए ।
हाल औद्योगिक क्षेत्रमा दैनिक १० देखि १२ पटकभन्दा बढी भइरहेको विद्युत ट्रिपिङले उद्योग सञ्चालनमा प्रत्यक्ष असर अध्यक्ष राठीले दाबी गरे ।
बारम्बारको विद्युत अवरोधका कारण उद्योगका मिल तथा मेसिनरीमा क्षति पुग्ने जोखिम उच्च भएको उनले बताए । जसका कारण उत्पादन प्रक्रियामा रहेका कच्चा पदार्थ नष्ट भइरहेको र उत्पादन कार्य प्रभावित भई श्रमिकहरू निष्क्रिय बस्नुपर्ने अवस्था आएर उद्योगहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको उनले बताए ।
‘यसै अवधिमा इन्धनको मूल्यवृद्धिमा भएको ठूलो बृद्धिले जेनेरेटर सञ्चालन गरेर विद्युत प्रयोग गर्न समेत उत्पादन लागत उल्लेख्य रूपमा धेरै पर्ने अवस्था भएको छ’ अध्यक्ष राठीले भने, ‘जसका कारण स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा समेत नकारात्मक प्रभाव पर्ने अवस्था बनेको छ ।’
उनले बारम्वारको ट्रिपिङ तथा फल्क्च्यूएशनले विद्युतीय उपकरणहरूको प्रयोगमा समस्या उत्पन्न भएको, विद्यार्थी, कार्यालय तथा घरायसी कामकाज समेत प्रभावित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
View : 64
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved