विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक आयोजित ‘अनिल–मीन’ एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ ।
विराटनगरको मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा आइतबार भएको खेलमा मोरङलाई ७४ रनले पराजित गर्दै तीन खेलको सिरिज २–१ को नतिजाका साथ सुनसरीले जितेको हो ।
खराव मौसमका ४० ओभरमा छोट्याइएको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको सुनसरीले १४६ रन बनाएको थियो । पूरै ओभर खेलेको सुनसरीका कप्तान रविन मण्डलले ८१ रन बनाउँदा रोशन घिमिरेले १० रनको योगदान दिए ।
मोरङका कृष शर्माले ३ विकेट लिंदा कृतिक कामतले २ विकेट तथा प्रतिक पोखरेल, यथार्थ बचन यादव र अमर यादवले १–१ विकेट लिएका थिए ।
१४७ रनको लक्ष्य पाएको मोरङ २७ दशमलव ४ बलमा ७२ रनमा अलआउट भयो । मोरङका लागि प्रतीक पोखरेलले १९ रन जोडे ।
कृष शर्माले १२ रन बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् । सुनसरीका कविराज खत्रीले ७ ओभरमा २ मेडन राख्दै १६ रन दिएर ५ विकेट लिएर मोरङलाई दबाबमा राखे । रविन मण्डलले समेत ३ विकेट लिए ।
प्लेयर अफ सिरिज सुनसरीका कविराज खत्री घोषित भए । उत्कृष्ट ब्याटर सुनसरीकै रविन मण्डल, उत्कृष्ट बलर मोरङका कृष शर्मा घोषित भए । त्यस्तै उदयमान खेलाडी सुनसरीका अब्दुल रफा भए ।
विजयी टिम र खेलाडीहरूलाई पूर्व क्रिकेट खेलाडीद्वय अनिल श्रेष्ठ र मीन दाहालसहित कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ क्रिकेट संघका अध्यक्ष मो.साद बाबु, सुनसरी क्रिकेट संघका अध्यक्ष सीपी पौडेल, नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ लगायतले पुरस्कार र ट्रफी हस्तान्तरण गरे ।
यो प्रतियोगिता मोरङका पूर्व क्रिकेटर अनिल श्रेष्ठ र सुनसरीका मीन दाहालको सम्मानका लागि आयोजना गरिएको थियो ।
सिरिजको पहिलो खेलमा भने मोरङले सुनसरीलाई ५९ रनले पराजित गरेको थियो ।
दोस्रो खेलमा सुनसरीले २१ रनले मोरङ पराजित गरेपछि दुवै टोलीले आइतबार संघर्षपूर्ण फाइनल खेलेका थिए ।
View : 127
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved