विराटनगर । विराटनगरमा झण्डै १ लाखभन्दा बढी दर्शकलाई लक्षित गर्दै ‘बिराट ट्रेड फेयर २०८३’ आयोजना हुने भएको छ ।
विराट व्यापार संघको आयोजनामा आगामी असोज २२ देखि ३० गतेसम्म विराटनगर–९ स्थित जैन भवनमा व्यापार मेला अर्थात ट्रेड फेयर हुन लागेको हो ।
विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलका अनुसार मेलामा १०० भन्दा बढी स्टल हुने छन् ।
मेलामार्फत स्थानीय उत्पादनको प्रवद्र्धन, व्यापारिक गतिविधिको विस्तार, उद्यमशीलता र नयाँ व्यावसायिक सम्भावनाको खोजी गर्ने उद्देश्य राखिएको अध्यक्ष जिन्दलले बताए ।
उपभोक्ताहरूको सीमापारिको बजार जाने प्रवृत्ति देखिएकाले विभिन्न अफरसहितको व्यापार मेला दशैंतिहारलाई लक्षित गरी आयोजना गरिएको उनले स्पष्ट पारे । यसबाट स्थानीय बजार थप चलायामान हुने उनले अपेक्षा गरेका छन् ।
अध्यक्ष जिन्दलका अनुसार, मेलाको उद्घाटन असोज २२ गते भई समापन असोज ३० गते हुनेछ । मेलामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका व्यवसायी तथा प्रदर्शकहरूको सहभागिता रहने उनले जनाए ।
मेला उद्योगी, व्यवसायी, उपभोक्ता, लगानीकर्ता र उद्यमीबीच भेटघाट तथा सहकार्यको माध्यम बन्ने उनले बताएका छन् । मेलाले स्थानीय उद्यमलाई सुदृढ गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
आगन्तुकको सुरक्षाका लागि मेला परिसरमा सीसीटीभी निगरानीको व्यवस्था गरिनेछ । त्यस्तै स्थानीय तथा अन्तर्राष्ट्रिय परिकारका लागि फुड कोर्ट, सेल्फी जोन तथा विभिन्न अन्तरक्रियात्मक गतिविधि पनि मेलाका आकर्षणका रूपमा रहनेछन् ।
आधुनिक प्रविधिमा आधारित प्रदर्शनी स्टल निर्माण गरिने र सबै स्टलमा डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराउने आयोजकको तयारी छ ।
मेला दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वको पूर्वसन्ध्यामा आयोजना हुने भएकाले व्यवसायीलाई बिक्री प्रवद्र्धन र उपभोक्तालाई प्रतिस्पर्धी मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउनसमेत सहयोग पुग्ने आयोजक विराट व्यापार संघले दावी गरेको छ ।
विराट व्यापार संघ २०५७ साल असार १२ गते स्थापना भएको संस्था हो ।
संघमा विभिन्न क्षेत्रका ४ हजार ५०० भन्दा बढी सदस्य आबद्ध छन् । संघले व्यवसायीको हित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रको सुदृढीकरणका लागि काम गर्दै आएको जनाएको छ ।
View : 123
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved