विराटनगर । पूर्णबहादुर खड्का सभापति गगन थापासँग नजिकिदै गएपछि असहज अवस्थामा पुगेको नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष कोशीमा झनै कमजोर अवस्थामा देखिएको छ ।
आइतबार मात्रै पार्टी सभापति गगन थापा नेतृत्वमा बसेको कार्यसम्पादन समिति बैठकले यसअघिका केन्द्रीय सदस्य सबैलाई महाधिवेशन आयोजक समितिमा समेट्ने निर्णय लिएपछि कोशीमा देउवा पक्ष नै तितरवितर हुने अवस्थामा पुगेको छ ।
यसअघि संस्थापन इतर पक्ष मानिने डा. शेखर कोइराला समूह यसअघि नै धेरै तितरवितर भइसकेको छ ।
देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गर्दै कोशीका जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइरहेका बेला कांग्रेसले अघिल्लो केन्द्रीय समितिका नेताहरूलाई फेरि मूलधारमा समेट्ने निर्णय गरेपछि कोशीमा इतर पक्ष नै तितरवितर हुने अवस्था बनेको एक नेताले जानकारी दिए ।
‘मलाई पनि संस्थापनइतर पक्षले केन्द्रीय प्रतिनिधि तोकेको छ’, कोशीको एक जिल्लामा खटाइएका देउवा पक्षका एक नेताले भने ‘तर, हामीलाई पनि पार्टी केन्द्रले समेट्ने भनेपछि के गर्ने दोधार भएको छ ।
साथीहरुसँग सल्लाह गरेर निर्णयमा पुग्छु ।’ अहिले नै नाम उल्लेख गर्न नचाहेका ती नेताले थपे ‘अहिलेको अवस्थामा पार्टी फुट्न हुन्न भन्नेमै छु । हेरौं, अवस्था कस्तो बन्छ ।’
विशेष महाधिवेशनपछि केन्द्रीय समितिबाट बाहिरिएका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो समितिका पदाधिकारी तथा सदस्यलाई इच्छानुसार पुनः केन्द्रीय समितिमा आउने बाटो खोल्ने निर्णय आइतबार कार्यसम्पादन समितिले गरेपछि देउवा पक्षको समानान्तर महाधिवेशन अभियानमा गएका कतिपय नेता पुनः संस्थापनको प्रक्रियामा फर्किने मनस्थितिमा देखिएको ती नेताले जानकारी दिएका छन् ।
त्यसो त यो निर्णयभन्दा अघि नै कोशीमा यसको संकेत तेह्रथुमबाटै देखिएको थियो ।
देउवा पक्षले १५ औं महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि बनाएर पठाएकी पूर्वमन्त्री सीता गुरुङले आफू सो पक्षको प्रतिनिधिका रूपमा नरहेको स्पष्ट पारेकी छन् ।
उनले आफू कांग्रेसको चुनाव चिन्ह रुख र चारतारे झण्डासँगै रहेको भन्दै देउवा पक्षको समानान्तर महाधिवेशन प्रक्रियामा सहभागी नहुने सन्देश दिएकी हुन् ।
गुरुङलाई देउवा पक्षले तेह्रथुमको जिम्मेवारी दिए पनि उनले त्यसलाई अस्वीकार गर्नु कोशी कांग्रेसमा इतर पक्षको अभियानका लागि पहिलो राजनीतिक झट्काका रूपमा देखिएको छ ।
त्यसमाथि देउवा पक्षले कोशीकै अर्को जिल्लामा केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका एक नेताले पनि आइतबारको निर्णयपछि आफूहरूलाई मूल पार्टीमै समेट्ने वातावरण बनेकाले अब उतै रहने सम्भावना रहेको बताएका छन् ।
‘अब केन्द्रले हामीलाई पनि समेट्ने भनेपछि मूल कांग्रेसतिरै बसिन्छ होला । यसबारे छलफल गर्छौं,’ ती नेताले भने ।
यसले देउवा पक्षले जिल्लामा प्रतिनिधि पठाएर समानान्तर महाधिवेशनका लागि बनाउँदै गरेको संरचनामा समेत अन्योल थपिएको छ । देउवा पक्षले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको अघिल्लो केन्द्रीय समितिको निरन्तरतालाई आधार बनाएर समानान्तर महाधिवेशनको तयारी गरिरहेको थियो ।
त्यसका लागि देशभर जिल्ला प्रतिनिधि परिचालन गरिएको छ । कोशीमा पनि पाँचथरदेखि उदयपुरसम्म प्रतिनिधि खटाएर वडा तहसम्म संगठन परिचालन गर्ने तयारी गरिएको छ ।
यद्यपि कोशीका ताप्लेजुङ र इलाममा भने देउवा पक्षले प्रतिनिधि खटाएको छैन । कांग्रेस नेताहरुका अनुसार ती दुई जिल्लामा देउवा पक्षले मान्छे नै नपाएको दाबी गरिरहेका छन् ।
देउवा पक्षले कोशीका विभिन्न जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ ।
उपलब्ध विवरणअनुसार पाँचथरमा सूर्यकुमार दाहाल, झापामा महीन्द्राकुमारी लिम्बू, संखुवासभामा दीपक खड्का, तेह्रथुममा सीता गुरुङ, भोजपुरमा उत्तम चापागाईं, धनकुटामा कमोट फागू, मोरङमा भीम पराजुली, सुनसरीमा लक्ष्मी खतिवडा, सोलुखुम्बुमा सुभराम बस्नेत, खोटाङमा सरस्वती बजिमय, ओखलढुंगामा गोमा केसी र उदयपुरमा नारायणबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ । यीमध्ये तेह्रथुममा गुरुङले जिम्मेवारी अस्वीकार गरेकी छन् ।
कांग्रेसको पछिल्लो निर्णयको अर्को महत्वपूर्ण पाटो पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षसँग जोडिएको छ ।
खड्का पक्षले अघिल्लो केन्द्रीय समितिमा रहेका तर विशेष महाधिवेशनपछि बाहिरिएका नेताहरूको समायोजनलगायत विषय उठाउँदै आएको थियो ।
सभापति थापा नेतृत्वले ती माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै आएपछि खड्का पक्षका नेताहरू महाधिवेशन प्रक्रियामा सहभागी हुने वातावरण बनेको थियो । आइतबारको निर्णयपछि त्यो प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।
खड्का पक्षका नेताहरू संस्थापनको संस्थापनतिर फर्किन थालेपछि देउवा पक्षको समानान्तर अभियानको आधार अझ कमजोर देखिएको छ ।
देउवा पक्षले असोज १५ गते वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ ।
संस्थापन पक्षले भने असोज ३ र ४ गते वडा अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । यसअघि दुवै पक्षको आ–आफ्नै कार्यतालिका देखिँदा कांग्रेसका जिल्लामा समेत दुईथरी अधिवेशन हुने सम्भावना देखिएको थियो । कोशीमा समीकरण बदल्ने अर्को महत्वपूर्ण शक्ति शेखर कोइराला पक्ष हो ।
कोइराला पक्षले अहिलेसम्म देउवा पक्षको समानान्तर महाधिवेशनलाई साथ दिने वा थापा नेतृत्वको प्रक्रियामा सहभागी हुने भन्नेबारे अन्तिम निर्णय गरिसकेको छैन । यदि शेखर पक्ष पनि संस्थापनको महाधिवेशन प्रक्रियामा सहभागी हुने अवस्था बन्यो भने कोशीमा देउवा पक्षको समानान्तर अभियान अझ कमजोर हुने सम्भावना छ ।
View : 386
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved