एआईबाट बनेको तस्वीर ।
विराटनगर । विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भएको भागाभागका क्रममा पक्राउ परेका एक व्यक्तिको ज्यान गएको छ । घटनामा अर्का व्यक्ति दुई तलामाथिबाट हामफाल्दा गम्भीर घाइते भएका छन् ।
तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भएको भागाभाग र त्यसक्रममा एक जनाको घाइते हुनु, पक्राउ परेका अर्का व्यक्तिको हिरासतमै मृत्यु हुनुले घटनालाई थप गम्भीर बनाएको छ । प्रहरीले भने कोइरालाको मृत्युको कारण तत्कालै निष्कर्षमा पुग्न नसकिने बताएको छ ।
सोमबार राति करिब साढे ११ बजे विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेपछि त्यहाँ भागाभाग भएको थियो । प्रहरीका अनुसार भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया दुई तलामाथिबाट हामफालेका थिए । उनको दाहिने खुट्टा भाँचिएको छ । उनको विराटनगरकै श्री अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
सोही घटनापछि प्रहरीले नियन्त्रणमा लिएका विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइरालाको भने मंगलबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरी टोली पुगेपछि भएको भागाभागका क्रममा कोइराला सामान्य घाइते भएका थिए । पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा उनको अवस्था सामान्य नै देखिएको बताए । कोइरालासहित अन्य सात जनासँगै हिरासतमा थिए ।
तर, मंगलबार बिहान करिब साढे ७ बजे कोइराला हिरासतमै अचेत भएका थिए । उनीसँगै रहेका अन्य व्यक्तिहरूले उठाउन खोज्दा नउठेपछि प्रहरीले तत्काल उपचारका लागि कोशी अस्पताल पठाएको थियो । कोशी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नोबेल शिक्षण अस्पताल लगिएको थियो ।
नोबेल शिक्षण अस्पतालमा मंगलबार बिहान करिब ११ बजे चिकित्सकले कोइरालालाई मृत घोषणा गरेका हुन् । उनको शव हाल नोबेल अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोइरालाको यसअघि टाउकाको शल्यक्रिया भएको थियो । तर, उनको मृत्युको वास्तविक कारण भने तत्काल खुलिसकेको छैन । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गस्ती टोली उक्त स्थानमा पुग्दा त्यहाँ तास खेलिरहेको जानकारी प्रहरीलाई थिएन । बाहिर प्रहरीको गाडी पुगेको जानकारी पाएपछि उनीहरुबीच भागाभाग भएको थियो ।
भाग्ने क्रममा मुखियाले घरको दुई तलामाथिबाट हामफालेका थिए । उनी एम्बुलेन्स चालक रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले कोइराला र मुखियासहित आठ जनालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, सोही स्थानका ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले ४८ हजार ३ सय ९५ रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ ।
View : 289
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved