विराटनगर । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदन अध्ययनका क्रममा जग्गा खरिदमा गम्भीर अनियमितता भएको खुलेपछि संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२०७३ भदौ २२ गते प्रकाशित सूचनाबमोजिम रेडक्रस सोसाइटीका लागि गोदाम घर सञ्चालन गर्न भक्तपुर नगरपालिका–४ अन्तर्गत कित्ता नम्बर ८६३, ४९६, ४९७ र २५८१ को गरी ५–१३–३–० क्षेत्रफलको जग्गा खरिद गरिएको थियो ।
उक्त जग्गाका लागि रेडक्रसले ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो ।
तर, बोलपत्रमा उल्लेखित सर्तविपरीत मध्यस्थकर्ता (बिचौलिया) मार्फत जग्गा खरिद गरिएको र भुक्तानी गरिएको रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ मध्यस्थकर्ताले लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै, नापी कार्यालय भक्तपुरबाट जग्गाको क्षेत्रफल यकिन गराउँदा कागजातमा उल्लेख भएको क्षेत्रफलभन्दा कम अर्थात् ५–६–२–१ मात्र क्षेत्रफल फिल्डमा रहेको पाइएको छ ।
रेडक्रसको ‘म सेवा गर्छु’ भन्ने मूल भावनाविपरीत संस्थालाई आर्थिक हानिनोक्सानी पु¥याई ठगी गरेको आरोपमा भक्तपुर जिल्ला अदालतबाट पक्राउ गरी अनुसन्धान गर्न अनुमति लिएर पाँच जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ निकोसेरा निवासी ५२ वर्षीय राजेश देशमरु, नुवाकोट समुन्द्रटार–६ स्थायी घर भई काठमाडौं महानगरपालिका–२६ मा बस्दै आएका ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायण नगरपालिका–५ निवासी ५८ वर्षीय मदनकृष्ण फोजू, उदयपुर कटारी–३ स्थायी घर भई हाल मध्यपुर थिमी–१ बस्ने ७० वर्षीय संजिब थापा र काठमाडौं महानगरपालिका–१६ बालाजु निवासी ६७ वर्षीय इन्द्रबहादुर केसी छन् ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान भइरहेको बताइएको छ ।
View : 180
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved