विराटनगर । पूर्वी नेपालको अग्रणी स्वास्थ्य संस्था न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी अस्पताल विराटनगरले आफ्नो स्थापनाको २६ औं वर्ष प्रवेशको अवसरमा समुदाय केन्द्रित स्वास्थ्य अभियान अन्तर्गत उदयपुरको गाईघाटमा बृहत् ‘मिनी म्याराथन’ तथा ‘निःशुल्क बहुविशेषज्ञ स्वास्थ्य शिविर’ आयोजना गर्ने भएको छ ।
आइतबार अस्पताल प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहका बीच अस्पताल प्रशासनले गाईघाटमा स्वास्थ्य सचेतना जगाउने उद्देश्यसहित शनिबार सो कार्यक्रम गर्ने घोषणा गरेको हो ।
विराटनगरस्थित अस्पताल प्राङ्गणमा आयोजित विशेष समारोहमा संस्थाका अपरेसनल डाइरेक्टर राजेश भट्टराई, शैक्षिक निर्देशक एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. नवीनकुमार कर्ण, मेडिकल निर्देशक एवं वरिष्ठ फिजिसियन डा. विवेक कट्टेल तथा अस्पताल निर्देशक डा. ऋतिक विष्टसहित वरिष्ठ कन्सल्टेन्ट, विभाग प्रमुख र कर्मचारीहरूको उपस्थिति थियो ।
समारोहमा उपस्थित चिकित्सक तथा पदाधिकारीहरूले संयुक्त रूपमा २६ वर्षको गौरवशाली यात्राको खुसीयाली साटासाट गरेका थिए ।
अस्पतालले आफ्नो २६ वर्षे यात्राको उत्सवलाई प्राङ्गणमा मात्र सीमित नराखी नागरिकलाई प्रत्यक्ष रूपमा स्वास्थ्य लाभ पुर्याउन उदयपुरको गाईघाटमा यो विशेष अभियान लैजान लागेको जनाएको छ ।
भदौ १३ गते गाईघाटमा हुने कार्यक्रममा मिनी म्याराथनका साथै न्यूरोसर्जरी, मुटुरोग तथा नाक, कान र घाँटी सम्बन्धी विशेषज्ञ परामर्श, रक्तचाप तथा मधुमेह परीक्षण र निःशुल्क औषधि वितरण गरिनेछ ।
विगत अढाई दशकदेखि अस्पतालप्रति निरन्तर भरोसा राख्ने सेवाग्राही, शुभचिन्तक तथा अहोरात्र खटिने सम्पूर्ण कर्मचारी वर्गप्रति आभार प्रकट गर्दै सञ्चालक समिति तथा चिकित्सकहरूले आगामी दिनहरूमा सेवालाई अझ परिष्कृत र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन् ।
साथै, अस्पताल प्रशासनले गाईघाटमा हुने मिनी म्याराथनमा सहभागी हुन र विशेषज्ञ स्वास्थ्य शिविरबाट अधिकतम लाभ लिन उदयपुर तथा आसपासका सम्पूर्ण सर्वसाधारणमा हार्दिक अपिल समेत गरेको छ ।
View : 40
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved