विराटनगर । नयाँ सदस्यता बितरणमा समस्या भएपछि निर्माण व्यवसायी संघ विराटनगरको साधारणसभा प्रशासनको निर्देशनले अनिश्चित भएको छ ।
आवेदन दिएका सबैले सदस्यता पाउनुपर्ने माग गर्दै केही निर्माण व्यवसायीले सभा रोक्न निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा साधारणसभा रोकिएको हो । जसका कारण साधारणसभा लम्बिएको मिति एक वर्ष पर पुगेको छ ।
एक सय ६० जना नयाँले सदस्यताको माग गर्दै संघमा आवेदन दिएकोमा प्रमाण पुरा भएका ४५ जनाले मात्रै सदस्यता पाए ।
बाँकी एक सय १५ जनाले सदस्यता नपाएको जनाउँदै प्रशासनमा निवेदन दिएका हुन् ।
व्यवसायी गणेशबहादुर कार्की, रामकुमार श्रेष्ठलगायतले प्रशासनमा साधारणसभा रोक्न माग गरेका थिए ।
संघले यही असोज १७ र १८ गते साधारणसभा गर्ने मिति सार्वजनिक गरेको थियो । प्रशासनको पत्रपछि सम्पूर्ण जानकारीसहित जिल्ला प्रशासनलाई जानकारी गराइएको संघका सचिव राधेश्याम कट्टेलले बताए ।
कट्टेलले संघ विधानअनुसार चलेको र केही नयाँ सदस्यले विधान मिचेर गरेका माग पूरा गर्न नसक्दा साधारणसभा अनिश्चित भएको बताए ।
‘विधानअनुसार सबै विवरणसहितका कागजात पेश गरेकालाई सदस्यता दिइएको हो, प्रमाण नपुगेकालाई पुनः कागजात मागिएको छ’ उनले भने । संघको कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई भेटेर विधानअनुसार सदस्यता रोकिएको जानकारी दिएको छ ।
सदस्यता पाएकाहरूको प्रमाण पनि समितिले प्रशासनमा पेश गरेको छ ।यसअघि केन्द्रीय साधारणसभाका लागि एक जना प्रतिनिधिमा नाम हाल्न माग गर्दै व्यवसायीले उच्च अदालत विराटनगरमा मुद्दा हालेकाले गत चैतमा हुने भनिएको साधारणसभा पनि रोकिएको थियो । व्यवसायी पदम श्रेष्ठलगायतले मुद्दा दिए पनि पछि संघसँग सहमति भएको थियो ।
विराटनगरबाट छानिएका १७ प्रतिनिधि मध्ये कृष्णगोपाल दाहाल अमेरिका गएपछि उनको स्थानमा अर्को नाम समावेश गर्न श्रेष्ठलगायतले माग गरेका थिए ।
विधानमा प्रतिनिधि बन्न सदस्यता पाएको १५ वर्ष वा एक कार्यकाल कार्यसमितिमा रहेको हुनुपर्ने व्यवस्था छ । सो अनुसार नाम नआएकाले संघले अस्वीकार गर्दा मुद्दा परेको थियो ।
View : 35
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved