नेताचोक । राजधानी काठमाडौंका विभिन्न बस्तीमा चलेको डोजर आतंकले देशभरिका सुकुम्वासीलाई जस्तै मोरङ ग्रामथानका भूमिहीन नागरिकमा पनि त्रास फैलिएको छ ।
अझ स्थानीय प्रशासनले सुकुम्वासीको लगत खोज्ने, अतिक्रमण हटाउने भन्दै तारन्तार खोजी गरिरहेको खबर लगातार सुनिरहेका ग्रामथानका सुकुम्वासीलाई त्रसित बनाएको छ ।
सरकारले सरकारी, सार्वजनिक, ऐलानी, पर्ती तथा गुठीका जग्गामा बसोबास गर्दै आएका सुकुम्वासीलाई हटाउने क्रम थालिसकेको छ ।
राजधानीबाट सुरु भएको सो अभियानको तरङ्गले अन्यत्र जस्तै मोरङका ग्रामीण क्षेत्रमा पनि छोएको छ ।
स्थानीयबासीका अनुसार ग्रामथान गाउँपालिकाका विभिन्न क्षेत्रमा वि सं २०२५–३० सालदेखि बसोबास गरिरहेका यस्ता धेरै सर्वसाधारण छन्, जोसँग आफै बसेको घडेरीको लालपूर्जा ।
कोही आफै जंगल फाँडेर बसेका र कोही पहिलै अरूले फाँडेको जग्गा किनेर बसेका यस्ता सर्वसाधारणसँग जग्गाधनी हुनुको कुनै आधिकारिक प्रमाण छैन । यद्यपि उनीहरू दशकौंदेखि त्यहाँ बसिरहेका छन् ।
‘हामी हजुरबुबाको पालादेखि यहाँ बस्दै आएका हौं,’ ग्रामथान–५ तेतरियाका नेमनारायण चौधरीले भने ‘अरूतिर डोजर चल्दा हामीलाई पनि डर लागेको छ । तर, के यसरी व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर लगाउँदा दीर्घकालीन समाधान होला ?’
आफूहरूले नयाँ पार्टीले ‘देश बनाउँछ’ भनेर चुनेको तर सरकार आफ्नै भत्काउन आउला कि भन्ने डरले सताएको चौधरीको भनाइ छ ।
उनी पेशाले डकर्मी हुन् । वर्षौ लगाएर टिनको छाप्रासहितको चारकोठे इँटाको गारो हालेर ठड्याएका घर पूरा बनिसकेको समेत छैन ।
पाँच जनाको परिवार सरकारी जग्गामा बसोबास गर्दै आएका उनी प्रश्न गर्छन्, ‘यो बर्खा मासमा सरकारले डोजर चलाएर बेघर बनाए म परिवार लिएर कहाँ जाने ?’
स्थानीय या संघीय जुनसुकै चुनावमा पनि उम्मेदवारहरूले जग्गाको कागजपत्र दिने भनी वाचा गर्दै आएको भए पनि उनीहरू कागजपत्रविहीन जग्गामा बसोबास गर्दै आएका छन् । पुस्तौंपुस्तादेखि बसोबास गर्दै आएका स्थानीय वासिन्दा अहिले सरकारको नयाँ कदमले थर्कमान भएका छन् ।
सरकारले प्रत्येक पालिकमा अतिक्रमण भएको जग्गाको विवरण र सुकुम्वासीहरूको विवरणको माग गरेपछि यहाँका वासिन्दा उठिबास हुनु पर्ने भन्ने डरले चिन्तित छन् ।
अर्की स्थानीयवासी अमृता चौधरीले सरकारले सो निर्णय लिन ढिलाइ गरेको बताइन् । भर्खरै पर्खाल लगाएर प्लास्टर गर्न ठिक्क पारेको घर देखाउँदै उनले भनिन्, ‘यो घर हामीले वर्षौंदेखि जोडेर बनाएका हौं । खाइनखाइ पैसा जम्मा गरेर बनाउँदै गरेको घर हो । पहिला थाहा थिएन कि यस्तो हुन्छ भनेर । अब बनाइ हाल्यौं के गर्नु ?’
उनले थपिन्, ‘देश बनाउँछ भनेर नयाँ सरकार चुनेको, अब भत्काउँछ भने के गर्न खोजेको हो भत्काओस् ।’
आफ्नोे अन्यत्र घर जग्गा नभएको र वर्षौंदेखि कमाएको पैसा पनि सोही घर निर्माणका लागि खर्च गरेको बताइन् ।
विवाह गरेर पनि सोही घरमा भित्रिएकी उनी, बिहे भएको २० वर्ष भैसकेको बताउँछिन् । देशभर यस्तो खबर र अवस्था भने यसपालि मात्रै सुनेको र देखेको उनी बताउँछिन् ।
पालिकाका अध्यक्ष नमोनारायण माझीले भने अहिलेसम्म सुकुम्वासीको लगत संकलनको काम अघि नबढेको बताए । उनले ठ्याक्कै कति सुकुम्वासीको संख्या रहेको छ भन्नेबारे जानकार नभएको बताएका हुन् ।
ग्रामथान गाउँपालिका अन्तर्गत पर्ने सिमरिया, नेताचोक, झोराहाट, मोतीपुर, धनीबनीगाउँलगायतका क्षेत्रमा सुकुम्वासी बस्ती रहेको र त्यसको यकिन तथ्यांक नभएको अध्यक्ष माझीको भनाइ छ ।
View : 175
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved