इटहरी गोल्डकप :
सुनसरी । साबिक विजेता मछिन्द्र फुटबल क्लब १६औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
पेनाल्टीमा पनि दुबै टोलीले ५–५ गोल गरेपछि खेल सडेनडेथमा पुगेको हो। सडेनडेथमा झापाका विशाल मादीको प्रहार आकाशिएपछि मछिन्द्रको जित सुनिश्चित भएको थियो ।
मछिन्द्रका तर्फबाट देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दीपेश गुरुङ, मिलन राई, सौरभ लिम्बु, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दले प्रहार गोलमा परिणत गरेका थिए। यद्यपि, पेमा तामाङको प्रहार झापाली गोलकिपर मौषम मगरले बचाएका थिए ।
झापा ११ का प्रसान्त लिम्बु, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु सलोमन किंग, राजेश दाहाल र किरण सुमारले गोल गरेका थिए भने गोलकिपर मौषम मगरको प्रहार निर्णायक क्षणमा आकाशिएको थियो ।
यसअघि खेलको ५५औं मिनेटमा बाबा टुण्डेको गोलबाट झापाले अग्रता लिएको थियो । तर ४३औं मिनेटमा डि–एरिया भित्र योगेश गुरुङको ह्यान्ड भएपछि रेफ्री उमेश बिडारीले मछिन्द्रलाई पेनाल्टी दिएका थिए। उक्त अवसरलाई सनिस श्रेष्ठले सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए ।
बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी हुँदै सडेनडेथमा पुगेको हो। उत्कृष्ट प्रदर्शन गरेका सनिस श्रेष्ठ प्लेयर अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
अब मछिन्द्रले सेमिफाइनलमा युवा समाज मोरङसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। युवा समाज उद्घाटन खेलमै जस्टजोन एफसी नाइजेरियालाई हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।
इटहरी गोल्डकपमा दोस्रो पटक सहभागी मछिन्द्र र झापा-११ बीच अघिल्लो संस्करणमा पनि क्वाटरफाइनलमा भेट भएको थियो । जसमा मछिन्द्रले १–० को जित निकालेको थियो ।
बुधबार हुने तेस्रो क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबले सातदोबाटो युथ क्लब, ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता बैशाख ७ गतेसम्म चल्नेछ, जहाँ विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
View : 146
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved