विराटनगर । भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूको पहिचान सहज बनाउन ११ जिल्लाबाट ४७ जना आफन्तले डीएनए परीक्षणका लागि रक्त नमुना उपलब्ध गराएका छन् ।
भदौ १० गतेको बाढीपछि आफ्नो परिवारका सदस्यहरूको अवस्था यकिन नभएको र ठुलो संख्यामा शव फेला परेका कारण चिन्तामा डुबेका आफन्तजनले शव पहिचानका लागि डीएनए परीक्षण होस् भनेर रक्त नमूना उपलब्ध गराएका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भदौ १७ गतेदेखि २७ गतेसम्म ४० जना पुरुष र ७ जना महिलाको नमूना संकलन गरिएको हो । जसमध्ये ४३ जना नेपाली नागरिकका आफन्त रहेका छन् भने बाँकी ४ जना भारतीय नागरिकका आफन्त हुन् ।
भारतीय नागरिकका आफन्तमध्ये झापाका ३ जना र मोरङका १ जनाले जिल्ला प्रहरी कार्यालयमार्फत नमूना उपलब्ध गराएका हुन् ।
सवैभन्दा धेरै सोलुखुम्बुमा १० र झापामा ९ जनाको नमूना संकलन गरिएको छ । त्यस्तै उदयपुरमा ४, मोरङमा ६, सुनसरीमा ६, खोटाङमा २ र संखुवासभामा २ जनाको नमूना संकलन गरिएको हो ।
ताप्लेजुङ, तेह्रथुम, धनकुटा र ओखलढुंगामा पनि १–१ जनाको नमुना संकलन गरिएको जनाइएको छ ।
४७ नमुना संकलन भएका मध्ये ३६ जनाको परीक्षणका लागि नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार पठाइएको प्रहरीले जनाएको छ ।
झापाका २, उदयपुरका ४ र ओखलढुंगाका एकजनाको नमुना पनि प्रयोगशाला पठाउने तयारी भइरहेको जनाइएको छ ।
भोटेकोशी बाढीपछि कोशी प्रदेश प्रहरी कार्यालयले तथ्यांक संकलन गर्ने क्रममा कोशी प्रदेश ठेगाना भएका हालसम्म १६५ जना व्यक्तिहरू बेपत्ता छन् ।
View : 44
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved