अझै पनि ‘भाग खोजेर’ घुक्र्याउँदै देउवा–कोइराला समूह
विराटनगर । विशेष महाधिवेशनलाई अवैध भन्दै अदालतसम्म पुगेको नेपाली कांग्रेस संस्थापन इतर पक्ष सर्वोच्च अदालतको आदेशपछि पार्टीमा भागबण्डा माग्दै नेतृत्वलाई घुक्र्याउने रणनीतिमा लागेको देखिएको छ ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई स्वीकार नगर्ने भन्दै अदालत पुगेको शेरबहादुर देउवा पक्ष र निर्वाचन आयोगमा त्यसै भन्दै पुगेको शेखर कोइराला पक्ष यतिबेला भाग खोज्दै घुर्की लगाउन व्यस्त देखिएको हो ।
यसको प्रमाण बुधबार विराटनगरमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा प्रष्टतः प्रकट भएको छ ।
देउवा र कोइराला पक्षका बहुसंख्यक नेताहरू समीक्षा कार्यक्रममा उपस्थित थिए । यद्यपि दुवै पक्षका मुख्य मानिने नेताहरू थिएनन् ।
तर, देउवा र कोइराला पक्षबाट उपस्थित सबैजसो नेताहरूले बारम्बार ‘सबै पक्षलाई समेटेर लैजानुपर्ने’ माग अघि सारेका थिए ।
आफ्नो पक्षले पार्टीमा के कस्तो ‘स्पेस’ पाउने हो भन्ने अन्योल कायमै रहेको भन्दै शेखर कोइराला कार्यक्रममै गएनन् ।
केही दिनदेखि विराटनगरमै रहेका डा कोइराला बुधबार विराटनगरमै आयोजित पार्टीको कार्यक्रममा अनुपस्थित बन्दा धेरैले त्यसबारे टिप्पणी गरेका थिए ।
केन्द्रीय समितिले आयोजना गरेको निर्वाचन समीक्षा कार्यक्रममा सभापति गगन थापासहितका पदाधिकारी तथा केन्द्रीय नेताहरू उपस्थित थिए । यद्यपि आफ्नै गृहनगर विराटनगरमै भएको कार्यक्रममा शेखर गयल थिए ।
‘उहाँहरूलाई अब पार्टीमा भाग चाहिएको हो, पहिले ६०–४० को अभ्यासको लत गएको छैन,’ कार्यक्रममा सहभागी एक केन्द्रीय सदस्यले भने ‘हामीले के पाउँछौं भन्ने कुरा टुंगो नलागेरै केही नेताहरू नआउनुभएको हो । यो कुरा प्रष्ट छ ।’
कांग्रेस कोशी प्रदेशका पदाधिकारीहरूले दिएको जानकारी अनुसार डा शेखरलाई प्रदेश र केन्द्रीय समिति दुवैले कार्यक्रममा सहभागिताका लागि निम्ता गरेका थिए ।
सभापति गगन थापा आफैले फोन गरेर कार्यक्रममा आउन आग्रह गरेका थिए ।
केही दिनअघि कोइराला पक्षका नेताहरूले राजधानीमा भेला गरेर गगनलाई सभापति स्वीकार गरेर जाने बताएका थिए । यसका वावजुद कोइराला कार्यक्रममा गएनन् ।
शेखर निकट नेताहरूले दिएको जानकारी अनुसार बुधबार बिहान विराटनगरस्थित कोइराला निवासमा उनलाई भेट्न पुगेका नेताहरू डा मीनेन्द्र रिजाल, रामहरि खतिवडा लगायतलाई आफू कार्यक्रममा नआउने जानकारी दिएका थिए ।
‘निम्ता आएको छ, सभापति गगनजीले फोन गरेर कार्यक्रममा आउनुस् भन्नुभएको छ तर अब कसरी अघि बढ्ने, हामीलाई कसरी समेट्ने भन्ने कुरा प्रष्ट नभएसम्म मैले कार्यक्रममा आउदिन भनेको छु,’ डँ शेखरले बुधबार बिहान निवासमा नेताहरूसँग भनेका थिए ।
कोइराला निकट मानिने डा. मीनेन्द्र रिजालदेखि सरिता प्रसाईंसम्मका नेताहरू भने कार्यक्रममा उपस्थित थिए । बोल्ने क्रममा उनीहरूले ‘सबैलाई समेट्न’ भन्दै अप्रत्यक्ष रूपमा गुटगत भागवण्डाकै पैरवी गरेका थिए ।
कोइराला मात्रै होइन, पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको मुख्य चिन्ता पनि ‘सबैलाई समेट्ने’ विषयमै केन्द्रित थियो ।
अबको कांग्रेस कस्तो कांग्रेस बनाउने भन्ने विचार माग गरेको केन्द्रीय समितिको अपेक्षा विपरित नेताहरू भने आफ्नो टिमको सुरक्षालाई लिएर बढ्ता चिन्तित देखिन्थे ।
प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू, जिल्ला, क्षेत्रका सभापतिहरूलाई निम्त्याइएको कार्यक्रममा देउवा पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडालगायत पनि सहभागी थिए ।
कार्यक्रममा बोल्ने क्रममा देउवा समूहका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अबको नेता ‘गगनजीहरू नै भएको’ बताउदै ‘सबैलाई समेटेर लैजान’ आग्रह गरेका थिए ।
देउवा समूहमै रहेर आफ्नो अलग समूह अझै चलाइरहेका नेता कृष्णप्रसाद सिटौला पनि कार्यक्रममा अनुपस्थित रहे ।
सिटौला निकट मानिने उम्मेदवारहरू, प्रदेश समितिका सबै पदाधिकारीहरू भने उपस्थित थिए । सिटौला पक्षका नेताहरूले पनि बोल्ने क्रममा अब सबैलाई समेटेर अघि बढ्न सभापति थापालाई आग्रह गरेका थिए ।
विशेष महाधिवेशनलाई अस्वीकार गरेर अहिले पार्टी केन्द्रमा पर्नबाटै छुटेका नेताहरूले ‘सबैलाई समेट्न’ आग्रह गरिरहदा उनीहरूलाई भने आफ्नै उम्मेद्वारलाई सहयोग नगरेको आरोप लागेको छ ।
कृष्णप्रसाद सिटौलाले चुनाव लड्दै आएको क्षेत्र झापा ३ बाट यसपटक चुनाव लडेका राजेन्द्र घिमिरेले आफू चुनाव लड्दै गर्दा सिटौला एकैपटक पनि देखा नपरेको भन्दै आक्रोश पोखेका थिए ।
‘म पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको क्षेत्रमा उठेको थिए, उहा“ कुन दिन कुन मञ्चमा देखिनुभयो,’ घिमिरेले सोधे ‘हिजो राष्ट्रियसभामा हार्ने चुनाव लडाइयो ।
राष्ट्रियसभामा जित्ने अवस्था आउँदा, हिजो हारेको मलाई कसैले खोजेन । बरू कृष्ण दाइ र गोपाल बस्नेतहरू अघि बढ्नुभयो ।’
घिमिरे यसअघिका चुनावमा सिटौला जिताउन खटिनेमध्येका एक कार्यकर्ता थिए । आफू उठ्दा चाहिं सिटौला देखा नै नपरेको उनको गुनासो थियो ।
ओखलढुंगामा रास्वपाका उम्मेदवारसँग ५ मतको फरकले पराजित कुमार लुइटेलले आफूलाई आफ्नैले हराएको भन्दै गुनासो पोखेका थिए ।
लुइँटेलले आफ्नो हारको मुख्य कारण बाह्य नभई आफ्नै पार्टीभित्रको घेराबन्दी र अन्तरघात भएको आरोप लगाएका थिए । लुइटेलले आफ्नै नेताको असहयोग र षड्यन्त्रका कारण आफूले पराजय भोग्नुपरेको बताए ।
View : 154
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved