विराटनगर । गृहमन्त्री सुधन गुरुङले शनिबार कोशी प्रदेश राजधानी विराटनगर केन्द्रित आकस्मिक र दौडधुपपूर्ण भ्रमण सकेर बेलुका सुनसरी पुगे । उनी सुनसरीमा पनि विराटनगरकै दौडधुप कायम राखे ।
सकेसम्म कसैलाई थाहा नदिई एक्लै अनुगमनमा निस्किइदै आएका गृहमन्त्री गुरुङले विराटनगर त्यसैगरी आउने तयारी गरेका थिए ।
तर सुरक्षा स्रोतको उच्च सतर्कताका कारण उनको यो योजना भने पहिल्यै बाहिरिंदा सुरक्षाकर्मी बाक्लो उपस्थितिमा उनले मोरङका प्रशासनिक कार्यालय र सीमा क्षेत्रको अनुगमन गरे ।
शनिबार १२ बजे विराटनगर विमानस्थलमा ओर्लिएका गृहमन्त्री गुरुङ सुरक्षा निकायका प्रमुखसहित सवैभन्दा पहिले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी ध्वस्त बनेको जिल्ला प्रशासन कार्यालय मोरङको अनुगमन गरी निर्माणाधिन भवनको अवस्थाबारे जानकारी लिए ।
त्यहाँबाट उनले कोशी प्रदेश प्रहरी कार्यालय रानीमा अनुगमन गरी नेपाल–भारत सीमा नाका रानी भन्सार क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।
रानीबाट फर्किएर उनले जिल्ला प्रहरी मोरङको भ्रमण गरी दौडादौडमा गरेर सुनसरी पुगेका हुन् ।
गृहमन्त्री गुरुङको सुटुक्क भ्रमण असफल भएपछि सुरक्षा निकायका प्रमुखहरूले खादा लगाएर विमानस्थलमा स्वागत गरेका थिए । उनले विमानस्थलमा प्रहरीका तालिमप्राप्त कुकुर सुम्सुम्याउनेदेखि हिंड्दै अन्य जानकारी लिने काम गरे ।
सञ्चारकर्मीहरूले गरेका प्रश्नहरूमा छोटा प्रतिक्रियात्मक जवाफ दिएका गृहमन्त्री गुरुङले देशभरका प्रहरी कार्यालयका धेरै भवन जीर्ण अवस्थामा रहेको बताए । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रहरीको पूर्वाधार निर्माण र अनुसन्धान क्षमता विस्तारका थप क्षेत्रमा लगानी गर्ने तयारी गरिरहेको बताए ।
सीमा नाकामा खटिएका सुरक्षालाई बस्ने ठाउँको अभाव भएको र त्यो काम गर्न प्रदेश र स्थानीय सरकारबाट पर्याप्त सहयोग नपाएको उनले गुनासो पोखे । सीमावर्ती क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई आवश्यक सहयोग र अन्य प्रकारका समस्या समाधानका लागि गृह मन्त्रालय गम्भीर रहेको बताए ।
सुरक्षा निकायका अनुसार गृहमन्त्री गुरुङले भ्रमणका क्रममा सीमा सुरक्षा, तस्करी नियन्त्रण, प्रहरी परिचालन तथा प्रशासनिक संयन्त्रको कार्यसम्पादनको वास्तविक अवस्था बुझेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्लाको प्रशासनिक र शान्ति सुरक्षाको अवस्था, सार्वजनिक सेवा प्रवाहको प्रभावकारिताबारे जानकारी गराएका थिए । छलफलमा सरकारसँग पर्याप्त सरकारी जग्गा उपलब्ध रहेकाले एउटै परिसरबाट एकीकृत सेवा सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणबारे कुरा भएको बताए ।
प्रशासन कार्यालयको निरीक्षणपछि उनले कार्यालय परिसरबाहिर रहेको हनुमान मन्दिरमा समेत पूजाअर्चना गरेका थिए ।
प्रदेश प्रहरी कार्यालयमा भने गुरुङले सुरक्षा निकायका प्रदेश तहका अधिकारीहरूसँग सुरक्षा ‘ब्रिफिङ’ लिएका थिए । छलफलमा सीमा सुरक्षा, अपराध नियन्त्रण, प्रहरी परिचालन, लागुऔषध नियन्त्रण, चोरी–तस्करी रोकथाम तथा समसामयिक सुरक्षा चुनौतीका विषयमा कुराकानी भएको प्रहरी स्रोतले जनाएको छ । त्यस छलफलमा गृहमन्त्री गुरुङले सुरक्षा निकायबीच समन्वय बढाएर सीमावर्ती क्षेत्रमा प्रभावकारी निगरानी कायम गर्न निर्देशन दिएको जनाइएको छ ।
रानी–जोगवनी नाकामा भने उनले मानिसहरूको आवतजावत, सुरक्षा निगरानी, जाँच प्रक्रिया र सम्भावित चोरी–तस्करी नियन्त्रणबारे अवलोकन गर्दै खटिएका सुरक्षाकर्मीसँग पनि भलाकुसारी गरेका थिए ।
सीमा निरीक्षणपछि गृहमन्त्री गुरुङ रानी नाकाबाट विराटनगर भन्सार कार्यालय अन्तर्गतको एकीकृत जाँच चौकी (आईसीपी) पुगे । त्यहाँ उनले भन्सार सुरक्षा, राजस्व संकलन, मालवस्तुको आवतजावत तथा अवैध कारोबार नियन्त्रणको अवस्थाबारे जानकारी लिएका थिए ।
सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रहरी, सशस्त्र प्रहरी, भन्सार र प्रशासनबीच अझ प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए ।
फर्किएर उनले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालसँग जिल्लाको सुरक्षाबारे जानकारी लिएर हिरासत कक्ष, प्रहरी ब्यारेक, कार्यालय भवन तथा अन्य भौतिक संरचनाको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले धेरै प्रहरी भवन अझै जीर्ण अवस्थामा रहनु दुःखद् पक्ष भएको बताएका थिए ।
गृहमन्त्री गुरुङ शनिबारै विराटनगरबाट इटहरी पुगेका छन् । उनले सशस्त्र प्रहरीको पूर्वी पृतना हेडक्वाटर पकलीको अनुगमन गरी जिल्लास्थित सुरक्षा निकायसँग छलफल गरेका छन् । गृहमन्त्री गुरुङ धरानसमेत पुगेका छन् ।
View : 340
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved