Biratnagar, Morang, Nepal
२३ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

त्रिवि दीक्षान्त समारोह महेन्द्र मोरङमा गर्ने तयारी

उद्‌घोष संवाददाता
२२ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो वार्षिक दीक्षान्त समारोहलाई काठमाडौँ उपत्यकाबाहिर विस्तार गर्दै सातै प्रदेशमा आयोजना गर्ने योजनाअन्तर्गत कोशी प्रदेशको समारोह विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।

विद्यार्थी तथा अभिभावकलाई राजधानीसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्न अघि सारिएको यस योजनाको सम्भाव्यता अध्ययन गर्न त्रिवि उपकुलपति प्राडा भोला थापाले क्याम्पसको  स्थलगत अवलोकन गरेका छन् ।

शनिबार आयोजित अवलोकन भ्रमणपछि क्याम्पसको समग्र अवस्था, शैक्षिक गुणस्तर, प्रशासनिक व्यवस्थापन तथा दीक्षान्त समारोह आयोजनाको सम्भाव्यताबारे उच्चस्तरीय छलफल भएको छ ।

क्याम्पस प्रमुख डा. रामावतार शरणको अध्यक्षतामा बसेको सो बैठकमा क्याम्पसको भौतिक पूर्वाधार, खुला परिसर, पार्किङ क्षमता, सुरक्षा संवेदनशीलता तथा यातायातको सहज पहुँचबारे विस्तृत समीक्षा गरियो ।

कोशी प्रदेशभरिका हजारौँ स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई समेट्न सक्ने पर्याप्त क्षमता महेन्द्र मोरङ क्याम्पसमा रहेकाले यहाँ समारोह आयोजना गर्ने विषयमा त्रिवि नेतृत्व सकारात्मक देखिएको छ ।

लामो समयदेखि काठमाडौँकेन्द्रित रहँदै आएको दीक्षान्त समारोहलाई प्रदेशमै झार्दा विद्यार्थी र अभिभावकलाई आर्थिक तथा भौतिक रूपमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

थप प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययनपश्चात् यसबारे छिट्टै अन्तिम निर्णय लिइने जनाइएको छ ।

बैठकमा त्रिवि उपकुलपति प्राडा भोला थापा, परीक्षा नियन्त्रक प्राडा लक्ष्मण पौडेल तथा सह–परीक्षा नियन्त्रक प्राडा गोविन्दप्रसाद गुरागाईँले क्याम्पसका गतिविधिबारे जानकारी लिँदै आवश्यक निर्देशन एवं सुझाव दिएका थिए ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुखत्रय डा. सुशील अधिकारी, शिवनारायण चौधरी र डा. रमेशकुमार गोहिभार, उपकुलपतिको कार्यालयका शाखा अधिकृत राजमान महर्जन, डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगर तथा सहायक क्याम्पस प्रमुख रुद्रप्रसाद पोखरेलको आफ्नो धारणा राखेका थिए ।

त्यस्तै रसायनशास्त्र विभागीय प्रमुख प्राडा अजय भट्टराई, विद्यार्थी कल्याण प्रमुख राजेशकुमार यादव, बीसीए निर्देशक अच्युतराज कट्टेल, डा शशित यादव, भौतिकशास्त्री  रामचन्द्र ठाकुर, उप–प्राध्यापकहरू डा. शिवनारायण यादव, डा जनकनाथ सापकोटा, सञ्जयकुमार ठाकुर, उमेशप्रसाद यादव, राजन बराल, डा. सत्यनारायण साह, बद्री बानियाँ लगायत विभिन्न विभागका विभागीय प्रमुख तथा प्राध्यापकहरूको सक्रिय सहभागिता थियो ।

View : 182

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved