Biratnagar, Morang, Nepal
२१ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

सचिवालयको कमजोरीले मुख्यमन्त्री कार्की आलोचित

उद्घोष सम्वाददाता
१५ पुष २०८०, आइतवार

विराटनगर, १५ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आफ्नै सचिवालयको कमजोरीका कारण आइतबार सामाजिक सञ्जालमा आलोचनाका पात्र बनेका छन् । उनको सचिवालयले आइतबार जारी गरेको तमु ल्होसारसँग सम्बन्धित शुभकामना सन्देशमा प्रदेशको नाम नभएपछि त्यसको निसानामा मुख्यमन्त्री कार्की परेका हुन् ।

सामन्यतया विभिन्न चाडपर्वमा मुख्यमन्त्रीले जारी गर्ने शुभकामना सन्देश उनले नियुक्त गरेका सचिवालयका कर्मचारीले प्रेषित गर्छन् । मुख्यमन्त्रीका नामबाट पहिलो पटक प्रेषित शुभकामना सन्देशमा प्रयोग भएको लेटरप्याडमा प्रदेशको नाम थिएन । प्रदेशको नाम कोशी उल्लेख नगर्नाले मुख्यमन्त्री कार्की कतै पहिचान पक्षधर त भएका होइनन् भन्दै धेरैले सामाजिक सञ्जालमा कमेन्ट गरेका छन् ।

पहिचानवादी पक्षधर भनिएकाले झुक्किएर भए पनि मुख्यमन्त्री कार्कीले ठिक गरेका छन् भनेर उल्लेख गरेका छन् । केहीले भने कार्कीले जानाजान प्रदेशको नाम नलेखेर विधि र संविधानको उल्लंघन गरेका छन् भनेर आलोचना गरेका छन् ।

यद्यपि मुख्यमन्त्री कार्की स्वयंले भने केही मिडियालाई स्पष्टीकरण दिदै जानी–जानी मुख्यमन्त्रीले यस्तो गल्ती नगर्ने बताएका छन् । उनले कामको सिलसिलामा भएको त्रुटिलाई गम्भीरतापूर्वक नलिन पनि आग्रह गरेका छन् ।  उनले सचिवालयबाट भूलवस प्रदेशको नाम उल्लेख गर्न छुटाइएको बताएका छन् ।

त्यस्तै मुख्यमन्त्री कार्कीले नियुत्त गरेका जनसम्पर्क सल्लाहकार लीलाबल्लभ घिमिरेले पनि सामन्य त्रुटि हुन पुगेको र कुनै ठूलो कुरा नभएको बताएका छन् । ‘मिस्टेक भएछ, हामीले तुरुन्तै सच्चाइ हाल्यौं,’ घिमिरेले भने । 

यद्यपि जनसम्पर्क सल्लाहकार घिमिरेले भनेझैं मुख्यमन्त्रीको शुभकामना तुरुन्तै सच्चिएको थिएन । जब सयौंको संख्यामा मुख्यमन्त्री कार्कीले ‘कोशी प्रदेशको नाम हटाए’ भन्ने प्रकारले सामाजिक सञ्जालमा कमेन्ट लेख्न थाले, त्यसपछि ‘कोशी प्रदेश छुट्न गएकोमा सच्याइएको’ भन्दै दोस्रो शुभकामना सन्देश जारी भएको देखिन्छ । कोशी प्रदेशमा मुख्यमन्त्रीले प्रयोग गर्ने ‘ओसीएमसीएम, कोशी प्रोभिन्स’ नामको एउटा फेसबुक पेज छ ।

तत्कालीन समयमा शेरधन राई मुख्यमन्त्री हुँदादेखि सुरु गरिएको उक्त फेसबुक पेजमा ६ हजार ३ सय फलोअर्स छन् । सोही फेसबुक पेजमा मुख्यमन्त्री कार्कीको तमु ल्होसारसम्बन्धी शुभकामना आइतबार बिहान ९ः१० बजे पोस्ट भएको देखिन्छ । जसमा कोशी प्रदेशको नाम छैन । त्यसको १ घण्टा ३५ मिनेटपछि अर्थात् १०ः४५ बजे पहिलो पोस्ट डिलिट गरी दोस्रो पोस्टमा कोशी प्रदेश नाम भएको शुभकामना सन्देश जारी भएको देखिन्छ ।

यसैगरी मुख्यमन्त्रीको सचिवालयले प्रेषित गरेको पहिलो इमेलमा कोशी प्रदेश नामबिनाको शुभकामना र आधा घण्टापछि सच्चाइएको शुभकामना पठाइएको छ । यसरी हतारमा शुभकामना सन्देश पोस्ट गरेर फुर्सदमा सच्चाउँदा मुख्यमन्त्री कार्की आइतबार दिनभर सामाजिक सञ्जालमा ‘ट्रोल’ बन्न गएका थिए । 

त्यसो त मुख्यमन्त्रीकै सचिवालयले पाँच दिनअघि अर्थात पुस १० गते मंगलबार किरात समुदायको उधौली पर्वमा पनि सोही प्रक्रियाअनुसार शुभकामना प्रेषित गरेको थियो । उधौलीको शुभकामना भने लेटरप्याडको माथिल्लो भागमै ‘कोशी प्रदेश, विराटनगर नेपाल’ उल्लेख थियो ।

यो घटना सामान्य जस्तो लागे पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयमा मुख्यमन्त्रीका लागि दुई प्रकारका लेटरप्याड प्रयोग हुने गरिरहेको आशंका उत्पन्न गराएको छ । मुख्यमन्त्रीले कोशी प्रदेश उल्लेख भएका र नभएका दुई प्रकारका लेटरप्याड किन प्रयोग गर्दैछन् भन्ने कुरा भने रहस्यमय नै देखिन्छ । 

View : 87

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved