Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ जिल्ला क्रिकेट संघका अध्यक्षले मनोमानी गरेको भन्दै बहुमत सदस्यले दिए राजिनामा

उद्‌घोष सम्वाददाता
२० माघ २०८१, आइतवार

विराटनगर । मोरङ जिल्ला क्रिकेट संघका अध्यक्षका अध्यक्ष मोहम्मद साद कुरैसी (बाबु) माथि उनकै कार्यसमितिका अधिकांश सदस्यले आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् । अध्यक्ष कुरैसीले संघलाई सामुहिक रुपमा संचालन गर्न नसकेको भन्दै संघका सचिव र कोषाध्यक्षसहित बहुमत सदस्यहरूले संयुक्त रुपमा राजिनामा दिएका छन् ।

उनीहरूले अध्यक्ष कुरैसीले विधान विपरितका काम गर्ने गरेको भन्दै कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । 

१५ सदस्यीय कार्यसमिति रहेको संघमा सचिव अशोक रेग्मी, कोषँध्यक्ष रश्मी शर्मा चौलागाँईसहित सदस्यहरू रोशन बुढाथोकी, सुनिलकुमार पौडेल, राजेश पोखरेल, प्रविन भण्डारी, विवेक झा र अन्बिका बुढाथोकीले सामुहिक राजिनामा दिएका हुन् ।

कार्यसमिति सदस्य राजेश पोखरेलले अध्यक्ष कुरैसीले जिल्ला अधिवेशन गर्न आएको रकम खै भन्दै प्रश्न उठाएका छन् । 

उनले कोशी प्रदेश टि–२० क्रिकेट प्रतियोगिता संचालनका लागि सम्बन्धित मन्त्रालयबाट प्राप्त गर्नुपर्ने रकम लिनका लागि पहल नगरेको, चिया पसलमा बसेर हिसानलाई विराटनगर–१९ स्थित क्रिकेट रंगशाला प्रयोग गर्न दिएको, नेपाल प्रिमियर लिगमा विराटनगरको टिम विराटनगर किंग्समा स्थानीय खेलाडी समावेश गर्न पहल नगरेको आरोप लगाए । 

साथै संघको बैंक खातामा कोषाध्यक्षको अनिवार्य हस्ताक्षर हुनुपर्ने व्यवस्था भएपनि त्यसको निर्णय बैंकमा नबुझाएको भन्दै अध्यक्ष कुरैसीले आर्थिक अनियमितता गरेको समेत उल्लेख गरेका छन् । 

उनले सामाजिक सञ्जालमै अध्यक्ष कुरैसीको कार्यशैलीको विरोध गरेका छन् ।

‘हामीले बारबार भनेको हो तर हाम्रो होइन, चिया पसलमा सल्लाह गरेको कुरा मान्दा आज यो दिन आयो, अब चुप लाग्यो भने बाँकी रहेको क्रिकेट पनि सकिन्छ’ सदस्य पोखरेलले भनेका छन्, ‘मोरङ जिल्ला क्रिकेट संघको अध्यक्षले विधी र विधान विपरित कार्यहरू गरी मनोमानी ढंगले एकलौटी रुपमा बैठक नगरी आफ्नो हिसाबले हिंडेको हु“दा हामीले राजिनामा दिएका छौं ।’

यता अध्यक्ष कुरैसीले भने कार्यसमितिभित्र उत्पन्न भएको विवादलाई बैठक बसेर स्पष्ट पारिने जानकारी दिए । उनले आफूसँग चित्त नबुझेको खण्डमा कुरा राख्नका लागि आग्रह गरिसकेको बताए । मोरङ क्रिकेटलाई अघि बढाउनका लागि सवैजना मिलेर अघि बढ्नुपर्ने उनले बताए ।

‘बहुमतले राजिनामा दिनुभएपनि राजिनामा दिनेबितिक्कै केही भएन नि त, बैठकमा बसेर क्लियर गर्नुपर्छ, १५ गते पनि हामी बैठक बसेरै हिंडेको हो, बैठक सकेपछि एक्कासी राजिनामा आयो’ उनले भने ।

View : 343

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved