सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–१० खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
विद्यालयले यस वर्ष एसईई परीक्षामा सहभागी १२१ जना विद्यार्थीलाई शतप्रतिशत उत्तीर्ण गराउँदै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।
तीमध्ये ६ जना विद्यार्थीले उत्कृष्ट जिपिए ४.० प्राप्त गरेका छन् । जिपिए ४ ल्याउने प्रत्येक विद्यार्थीलाई विद्यालयले जनही १ लाख बराबरको चेक तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो ।
विद्यालयका अनुसार अन्य सबै विद्यार्थीले पनि जिपिए ३ भन्दा माथिको नतिजा हासिल गरेका छन् ।
उनीहरूलाई समेत कार्यक्रममा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले विद्यार्थी, अभिभावक र शिक्षकको संयुक्त प्रयासका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताए ।
उनले भने, ‘दुःख गरेर अध्ययन गर्ने विद्यार्थी र उनीहरूलाई निरन्तर साथ दिने अभिभावकको योगदानकै कारण विद्यालयले गौरवपूर्ण उपलब्धि हासिल गरेको हो । असल शिक्षाले व्यक्तिको जीवन परिवर्तन गर्छ, सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दछु ।’
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले विद्यालयको उत्कृष्ट शैक्षिक उपलब्धिको प्रशंसा गर्दै जिपिए ४ ल्याउने विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्तिस्वरूप जनही ५० हजार प्रदान गर्ने घोषणा गरे ।
उनले विद्यालयले नगरको शैक्षिक प्रतिष्ठा उकास्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । सो अवसरमा विद्यालयका शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो ।
View : 276
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved