Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कृषिवस्तुको अन्तर्राष्ट्रिय बजार खोजी

अलैंची, अदुवा र बेसारको मूल्य श्रृंखला विकासमा जोड, आइएफसीले साथ दिने

उद्‌घोष संवाददाता
९ जेठ २०८३, शनिवार

विराटनगर । कोशी प्रदेश सरकारले अलैंची, अदुवा र बेसारजस्ता उच्च मूल्य कृषिवालीको उत्पादन वृद्धि तथा निर्यात प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) को आयोजनामा विराटनगरमा सम्पन्न ‘कोशी प्रदेशमा रहेका उच्च मूल्य कृषिवालीहरुको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवद्र्धन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिंथेपले अलैंची, अदुवा र बेसारको उत्पादन तथा निर्यात विस्तारका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।

उनले आवश्यक पूर्वाधार, नीति तथा सहजीकरणमा सरकार सहयोगी बन्ने उल्लेख गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशलाई स्पष्ट कार्ययोजनासहित अगाडि बढ्न आग्रह गरे ।

आइएफसीका दक्षिण एशिया क्षेत्रका सिनियर अपरेशन अफिसर विजय शेकरले हाल नेपालबाट उत्पादित अलैंची, बेसार र अदुवा मुख्यतः भारततर्फ निर्यात भइरहेको अवस्थामा अब तेस्रो मुलुकमा निर्यात विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाइने बताए । 

उनले गुणस्तर सुधार, अन्तर्राष्ट्रिय मापदण्ड र निर्यात प्रक्रियामा देखिएका समस्यालाई केन्द्रमा राखेर आइएफसी र महासंघले संयुक्त रूपमा काम गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा आइएफसीका परामर्शदाता राजन शर्माले कोशी प्रदेशमा उत्पादित अलैंची, अदुवा र बेसारको हालसम्मको तथ्यांक प्रस्तुत गर्दै आगामी दिनमा निर्यात वृद्धि गर्न आवश्यक नीति तथा व्यावसायिक रणनीतिबारे प्रस्तुतीकरण गरेका थिए । कोशी प्रदेशबाट चिया, अलैंची, अदुवा, अम्लिसो, छुर्पी, चीज, जडीबुटी तथा ताजा तरकारी भारतसहित विभिन्न मुलुकमा निर्यात भइरहेको उल्लेख गरे । 

उनले उच्च मूल्य श्रृंखलाअन्तर्गत पर्ने कृषिवस्तुको उत्पादन वृद्धि र निर्यात प्रवद्र्धनका लागि आइएफसीस“ग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख पशुपति पोखरेल, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मनोज यादव तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पुष्पलाल राईले कोशी प्रदेशमा गुणस्तर परीक्षणका लागि आधुनिक प्रयोगशालाको अभाव रहेको औंल्याए । 

उनीहरुले सुपर जोनमार्फत उत्पादन भइरहेका कृषिवस्तुको बजारीकरण तथा नया“ बजार खोजीमा निजी क्षेत्रले समेत सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे ।

अलैंची व्यवसायी निर्मल भट्टराई, बेसार व्यवसायी राजन आचार्य तथा केशव घिमिरे लगायतले आधुनिक प्रयोगशाला, ड्रायर तथा बजारीकरणको अभाव मुख्य समस्या रहेको बताएका थिए । 

उनीहरुले भारतमा सीमित निर्यातलाई तेस्रो मुलुकसम्म विस्तार गर्न संघीय तथा प्रदेश सरकारले आवश्यक नीति तथा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा उद्यमी प्रतिक राउत, युनेश श्रेष्ठ र अविनायक मल्लले महासंघको सञ्जाल उपयोग गर्दै तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरी कृषिजन्य वस्तुको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा महासंघका पदाधिकारी, कार्यसमिति सदस्य, कोशी प्रदेश सरकारअन्तर्गत कृषि क्षेका विभिन्न निकायका प्रतिनिधि, अलैंची, अदुवा, बेसार, कफी लगायतका व्यवसायी तथा कृषकको सहभागिता रहेको थियो ।

View : 173

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved