विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले आफ्नो ५३ औं स्थापना दिवसको अवसरमा बुधबार अर्थात् असार ४ गतेदेखि साताव्यापी विविध कार्यक्रमहरू आयोजना गर्ने भएको छ ।
संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्ना भावी कार्यक्रमहरूबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो ।
वि.सं. २०३० मा स्थापना भएको संघले औषधि व्यवसायको प्रवद्र्धन, व्यावसायिक अनुशासन र सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बताउ“दै यस वर्ष पनि स्थापना दिवसलाई विशेष रूपमा मनाउन लागिएको जानकारी दिएको छ ।
सम्मेलनमा संघका अध्यक्ष देशबन्धु ढकालले संघले आयोजना गरेको सप्ताहब्यापी कार्यक्रममा बारेमा जानकारी गराएका थिए ।
असार ४ गतेदेखि १० गतेसम्म चल्ने सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन बिहीबार कोशी अस्पतालको बाल विभाग तथा कुपोषण शाखामा फलफूल वितरण गरिनेछ ।
त्यस्तै, दोस्रो दिन असार ५ गते शुक्रबार विराटनगर–१६ स्थित मिल्स माध्यमिक विद्यालयमा लागुऔषध र मनोद्वीपक औषधि सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिनेछ भने तेस्रो दिन असार ६ गते शनिबार जिल्ला ट्राफिक कार्यालय मोरङमा लागुपदार्थ परीक्षण किट तथा ट्राफिक सचेतनामूलक बोर्ड हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसैगरी चौथो दिन असार ७ गते आइतबार बेलवारी नगरपालिकामा औषधि र यसको समुचित प्रयोग, भण्डारण एवं बिक्री वितरण सम्बन्धी एकदिने अभिमुखिकरण तालिम सञ्चालन गरिनेछ ।
पाँचौ दिन असार ८ गते सोमबार विराटनगर–५ मा रहेको मानव सेवा आश्रममा भोजनसेवा र स्वास्थ्य सामग्री हस्तान्तरण गरिने कार्यक्रम छ ।
छैटौं दिन असार ९ गते मंगलबार अस्पताल चोकमा रक्तदान कार्यक्रम गरिनेछ । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् असार १० गते बुधबार मूल स्थापना दिवसको दिन बिहान ७ बजे अस्पताल चोकदेखि संघको भवनसम्म प्रभातफेरी झण्डोत्तोलन, औपचारिक समापन समारोह तथा साँझ दीप प्रज्वलन गरिने संघका अध्यक्ष ढकालले जानकारी दिए ।
View : 58
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved