विराटनगर । बालेन्द्र शाह नेतृत्वको सरकार बनेयता राजनीतिज्ञहरू मात्रै होइन, मुलुकका कहलिएका ठूला उद्योगी, व्यापारीहरूसमेत धमाधम पक्राउ परिरहेका छन् ।
यद्यपि तिनै उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र यसको केन्द्रीय नेतृत्व भने यसबारे मौन रहेको छ ।
खासगरी नेपालको चर्चित औद्योगिक घराना शंकर ग्रुपका उद्योगीहरू शंकर अग्रवाल, उनका छोरा सुलभ अग्रवाल लगायतका उद्योगीहरू पक्राउ परेका छन् । शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले आइतबार रिहा गरेको छ ।
धरपकड तीव्र भइरहेको बेला महासंघ नेतृत्व भने तैं चुप मै चुपको अवस्थामा छ । महासंघका अध्यक्ष चन्द्र ढकाल आइतबार विराटनगर आएका थिए ।
महासंघ कोशी प्रदेश समितिको आठौं प्रदेशसभा उद्घाटनका लागि आएका उनले आफ्नो मन्तव्यभरी यसबारे ठोस कुरा उठाएनन् ।
उद्योगी व्यवसायीहरू लगातार पक्राउ परिरहेकोबारे महासंघको धारणा के हो भनेर ढकाललाई सञ्चारकर्मीले सोधेका थिए ।
अध्यक्ष ढकालले यसको उत्तर दिन चाहेनन् । बरू ‘जहाज ढिलो हुन्छ’ भन्दै उनले प्रश्न टारेका थिए ।
‘मलाई हतार छ, जहाज काठमाडौंबाट उडिसकेको छ,’ उनले भनेका थिए । ढकालले जहाजको बहाना बनाउँदै यसो भनिरहँदा उनी काठमाडौं फर्कने जहाजको समय भने डेढ घण्टा बाँकी नै थियो ।
कार्यक्रमको उद्घाटनका क्रममा भने उनले सरकारबाट व्यवसायीलाई पक्राउ नगर्ने आश्वासन प्राप्त गरेको बताएका थिए ।
अर्थमन्त्रीले यस्तो आश्वासन दिएको भन्दै उनले उद्योगी व्यापारीलाई पहिला सुन्ने अनि मात्रै थुन्ने नीति सरकारको रहने बताएका थिए ।
‘अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको भेटमा उहाँले प्रधानमन्त्रीज्यूको सन्देश हामीलाई सुनाउँदै अब व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने क्रम बन्द हुने बताउनु भएको छ ।
अब व्यवसायी पक्राउ गर्ने क्रम रोकिन्छ’, अध्यक्ष ढकालले भनेका थिए । उनले यसो भनिरहँदा उद्योगी पक्रन भने सरकारले रोकेको छैन ।
अध्यक्ष ढकालले महासंघकै सुझाव अनुसार वालेन्द्र शाहको नयाँ सरकारले निजी क्षेत्रलाई संरक्षण र प्रवद्र्धन गर्न ‘पीएसपीपी’ कार्यक्रम लागू गरेको दाबीसमेत गरेका छन् ।
ढकालका अनुसार महासंघले नयाँ सरकारलाई निजी क्षेत्रको संरक्षण र प्रवद्र्धन कार्यक्रम (प्राइभेट सेक्टर प्रोटेक्सन एन्ड प्रमोसन प्रोग्राम– पीएसपीपी) लागू गर्न सुझाव दिएको हो ।
जसअनुसार सरकारले आफ्नो १ सय बुँदे कार्यक्रमको ६० नम्बर बुँदामा यसलाई उल्लेख गरेको छ । उनले २०४६ को परिवर्तनपछि हरेक घटनाक्रम हु“दा निजी क्षेत्रलाई तारो बनाइने गरेको चर्चा गरे ।
उनले भने, ‘राजस्वमा योगदान दिने, रोजगारदाता, पूर्वाधार निर्माता र वस्तु तथा सेवाप्रदायक निजी क्षेत्रका बारेका धारणाहरू सकारात्मक हुनु जरूरी छ । जसरी विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेर राजनीतिभन्दा माथि राख्न खोजिएको छ त्यसैगरी निजी क्षेत्रलाई पनि विशेष व्यवस्था गरिनु पर्छ ।’
राजनीतिक दल नेतृत्वले उद्योगी व्यवसायीहरूको धरपकडले राम्रो सन्देश नदिने भन्दै बोलिरहेका बेला महासंघको केन्द्रीय नेतृत्व नै मौन रहँदा आश्चर्य लागेको कार्यक्रममा सहभागी उद्योगीहरूले बताएका छन् ।
‘हत्यारा, अपराधी, बलात्कारीलाई तत्काल समाएर थुन्ने हो तर देशका उद्योगी–व्यवसायीलाई भने पहिला उनीहरूलाई सुन्ने, कैफियत देखिए मात्रै थुन्ने हो,’ कार्यक्रममा सहभागी एक उद्योगीले भने ‘तर, अहिले ठीक उल्टो भइरहेको छ । यसले देशको अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ ।’
उनले यसो भनिरहँदा मुलुकको अर्थतन्त्रको ऐना मानिने सेयर बजार नेप्से परिसूचक भारी अंकले घटेको छ ।
बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेको हो । यो कमीसँगै नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ । गत बिहीबार ५.८२ अंक नेप्से बढेको थियो ।
समग्रमा नयाँ सरकार गठन भएपछि सेयर बजार २८४ अंक घटेको छ । सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको थियो ।
नयाँ सरकार गठन भएपछि व्यवसायीमाथि धरपकड सुरू भएसँगै बजार बढी त्रसित देखिएको व्यवसायीहरू बताउँछन् ।
‘बजारको ठूलो सेयर ठूला व्यवसायीले नै पकडमा राख्ने गर्छन्, जब धरपकड हुन थाल्यो, त्यसले बजारमै एउटा त्रास बढेको देखिन्छ’ ती व्यवसायीले भने ।
View : 156
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved